मलेसिया रोजगारीमा ‘सिण्डिकेट’ पुनः लागू हुने हल्ला निराधार र झुठो : श्रम मन्त्रालय।

काठमाडौं:= युवा, श्रम तथा रोजगार मन्त्रालयले मलेसिया रोजगारीमा सीमित वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीलाई मात्रै फाइदा पुग्ने गरी पुनः ‘सिण्डिकेट’ प्रणाली लागू गर्न लागिएको भन्ने समाचार र चर्चाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

आइतबार जारी गरिएको आधिकारिक प्रेस विज्ञप्तिमार्फत मन्त्रालयले वैदेशिक रोजगार क्षेत्रलाई स्वच्छ, पारदर्शी, प्रतिस्पर्धी र श्रमिकमैत्री बनाउने सरकारको नीति यथावत् रहेको स्पष्ट पारेको छ। मन्त्रालयका अनुसार कुनै पनि व्यक्ति वा समूहलाई विशेष सुविधा दिने, प्रतिस्पर्धा सीमित गर्ने वा एकाधिकार कायम गर्ने कुनै पनि व्यवस्था सरकारको नीति विपरीत हुनेछ।

मन्त्रालयले वैदेशिक रोजगार प्रशासनलाई थप प्रभावकारी बनाउन सूचना प्रविधिको अधिकतम प्रयोग गरी सेवा प्रवाहलाई डिजिटल, छिटो र पारदर्शी बनाउने कार्यलाई प्राथमिकताका साथ अघि बढाइएको जनाएको छ।

प्रेस विज्ञप्तिमा मलेसिया रोजगारीमा नयाँ सिण्डिकेट लागू हुने वा सीमित म्यानपावर कम्पनीलाई मात्रै नेपाली कामदार पठाउने अधिकार दिइने सम्बन्धमा मलेसिया सरकार वा सम्बन्धित निकायबाट कुनै आधिकारिक जानकारी प्राप्त नभएको स्पष्ट गरिएको छ।

साथै, सामाजिक सञ्जाल वा अन्य माध्यमबाट फैलाइएका आधारहीन हल्ला तथा अपुष्ट समाचारमा विश्वास नगर्न मन्त्रालयले सबै सरोकारवाला, वैदेशिक रोजगार व्यवसायी र श्रमिकलाई आग्रह गरेको छ।

मन्त्रालयले नेपाल र गन्तव्य मुलुकबीच निरन्तर कूटनीतिक संवाद तथा सहकार्यमार्फत वैदेशिक रोजगार प्रणालीलाई अझ पारदर्शी, नैतिक, व्यवस्थित र प्रतिस्पर्धी बनाउने प्रयास जारी रहेको उल्लेख गर्दै सुधार अभियानमा सबै पक्षको सहयोग आवश्यक रहेको जनाएको छ।