काठमाडौं । गुठी संस्थानको स्वामित्व रहेको जग्गामा किर्ते मोही कायम गरी मुआब्जा वितरण गरेको अभियोगमा गुठी संस्थान शाखा कार्यालय, जनकपुरका तत्कालीन कार्यालय प्रमुखसहित ८ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
गुठी संस्थानका कर्मचारीसहित ६ जना तथा एकजना प्रहरी निरीक्षक र एकजना पूर्व–गाविस सचिवविरुद्ध १ करोड ९१ लाख ९४ हजार बिगो माग दाबीसहित आइतबार विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।
गुठी संस्थान शाखा कार्यालय जनकपुरका तत्कालीन प्रमुख राजबाबु पाण्डेसमेत ६ जनाले धनुषा भरतपुर गाविसमा नेपाली सेनाको लागि अधिग्रहण भएको गुठीको जग्गामा किर्ते मोही कायम गरी मुआब्जा वितरण गरेको अख्तियारले जनाएको छ ।
मोहीहरूलाई मुआब्जा रकम भुक्तानी गरेबापत बिचौलियामार्फत १९ लाख ३० हजार घुस लगेको तथ्य प्रमाणसहित पुष्टि भएको अख्तियारले जनाएको छ । सोही कार्यमा सहायक प्रशासक मनोजकुमार शर्माले बिचौलियामार्फत ६ लाख ५० हजार लिएको अख्तियारले जनाएको छ ।
यस्तै, संस्थानका तत्कालीन वरिष्ठ लेखा सहायक हरिचन्द्र भुसालले मोहीलाई मुआब्जा रकम भुक्तानी गरेबापत कार्यालय प्रमुख समेतले लिनेखाने गरी चार लाख ३० हजार घुस लिएको पुष्टि भएको अख्तियारले जनाएको छ ।
मोहीलाई रकम भुक्तानी गर्न बिचौलियाको भूमिका निर्वाह गर्ने सुमनकान्त ठाकुरले मोहीलाई दबाबमा पारी, राष्ट्रसेवक कर्मचारीहरूलाई प्रलोभनमा राखी मोहीबाट पटक–पटक गरी ६३ लाख ३६ हजार ६६७ रुपैयाँ घुस लिएको तथ्य फेलापरेको अख्तियारले जनाएको छ ।
यस्तै, मोही भनिएकी गायत्री देवी जयसवालका छोरा शत्रुधन जयसवालले गुठी संस्थानबाट मुआब्जाबापत लिएको १२ लाख ८१ हजार ६६७ रुपैयाँमध्ये १२ लाख ५० हजार आफूले लिई सुमनकान्त ठाकुरलाई ७ लाख ३५ हजार घुस दिएको पुष्टि भएको भन्दै अख्तियारले शत्रुधन मुद्दा दायर गरेको छ ।
गायत्रीले मुआब्जाबापत लिएको ७७ लाख १ हजार ६६७ रुपैयाँमध्येबाट सुमनकान्त ठाकुरलाई ५६ लाख एक हजार ६६७ रुपैयाँ बिचौलियाको भूमिका निर्वाह गरेको अख्तियारले जनाएको छ । उक्त रकम असुल गरी जफतको मागदाबी गर्दै मुद्दा दायर गरिएको छ ।
यस्तै, अख्तियारले महानगरीय अपराध महाशाखा, काठमाडौंका प्रहरी निरीक्षक जय नेपाल थापाविरुद्ध ४० हजार बिगो मागदाबी गर्दै मुद्दा दायर गरेको छ ।
थापाले सेवाग्राहीको महाशाखामा दर्ता भई जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी भएका प्रतिवादीलाई पक्राउ गर्नुपर्नेमा ठगी भएको रकम असुलउपर गराउने वातावरण मिलाइदिएबापत सेवाग्राहीसँग घुस लिँदै गर्दा अख्तियारले रंगेहात पक्राउ गरेको थियो ।
अख्तियारले पर्साको साबिक जयमंगलापुर गाविसका तत्कालीन सचिव राजेन्द्र महतो नुनियाविरुद्ध ५५ हजार ९ सय रुपैयाँ बिगो मागदाबी गर्दै मुद्दा दायर गरेको छ । सचिव नुनियाले नेपाल सरकारबाट सामाजिक सुरक्षा भत्ता शीर्षक (आंशिक अपांग, पूर्ण–अपांग, औषधि खर्च, असहाय विधवा, बालबालिका तथा दलित) मा विनियोजित रकममा मृत्यु भइसकेको व्यक्तिलाई पनि रकम वितरण गरेको किर्ते भरपाई तयार रकम अनियमितता गरेको अख्तियारले जनाएको छ ।




















