मुम्बई । बलिउडकी लोकप्रिय अभिनेत्री दीपिका पादुकोणले आफ्नो ३३औं जन्मदिन मनाएकी छन् । ५ जनवरीबाट ३२ वर्ष पार गरेकी दीपिकाले आफ्नो जन्मदिन यसपटक विशेष बनाउने तयारीमा थिइन् । सोहि अनुरुप उनी अभिनित चलचित्र ‘छपाक’ युनिटसँग उनले केक काटिन् । उनले छपाकमा एसिड अट्याक पीडित लक्ष्मी अग्रवालको भूमिका निभाउँदै छिन् । अग्रवालको रियल लाइफलाई रिलमा उतारेकी दीपिकाले जन्मदिन उनीसँगै मनाउने निधो गरेकी थिइन् । त्यसैले आइतबार उनी अग्रवाललगायत अन्य एसिड अट्याक पीडितद्वारा लखनउमा सञ्चालित क्याफेतर्फ यात्रा गर्दै थिइन् । ती पीडित चलचित्रका पात्रसमेत हुन् ।
पीडित लखनउका लागि उड्नुअघि मुम्बई एयरपोर्टमा पति रणवीर सिंहसँगै देखिएकी थिइन् । एयरपोर्टमा दीपिकाका फ्यान केक लिएर पुगेका थिए । दीपिकाले केक काटिन् र रणवीरलगायत उपस्थित फ्यानलाई खुवाइन् । मेघना गुल्जार निर्देशित छपाक १० जनवरीबाट प्रदर्शनमा आउनेछ ।




















