तीन कलाकारमाथि मुद्दा

मुम्बई । बलिउड अभिनेत्री रवीना टण्डन, निर्माता फराहा खान र कमेडियन भारती सिंहलाई मुद्दा परेको छ । पञ्जावको फिरोजपुर जिल्ला प्रहरीले यी तीनजनाले धार्मिक असहिष्णुता फैलाएको आरोपमा उनीहरूविरूद्ध मुद्दा दायर गरेको हो ।

रवीना, फराहा र भारतीले एक कार्यक्रममा ‘हालेलुया’ शब्दको मजाक उडाएको आरोप छ । लगत्तै गत शनिबार प्रहरीले उनीहरूविरुद्ध मुद्दा दायर गरेको थियो । यो सातासम्म आइपुग्दा तीन सेलेब्रेटीविरुद्ध तीनवटै उजुरी परिसकेको छ ।

उजुरीपछि रवीना र फराहाले माफी माग्दै कसैको भावनामा ठेस पु¥याउने आफूहरूको उद्देश्य नरहेको बताएका छन् । उनीहरूले कार्यक्रमको पूरा भिडिओ हेर्न भन्दै कुनै धर्म वा कसैलाई होच्याउने गरी केही नबोलेको बताएका छन् । उनीहरूले भनेका छन्, ‘हामीले कहिल्यै कसैलाई होच्याउने उद्देश्य राखेका छैनौं । यदि अनजानमा भयो भने पनि हामी माफी माग्छौं ।’ रवीना र फराहाले तीनै जनाको तर्फबाट माफी मागे पनि भारती सिंह भने धेरै चपेटमा परेकी छन् ।

‘द कपिल शर्मा शो’मा देखिँदै आएकी भारतीलाई शोबाट निकाल्नुपर्ने माग उठ्न थालेको छ । सामाजिक सञ्जालमा भारतीलाई तुरून्तै शोबाट हटाउन दबाब दिन थालिएको छ । 

गत वर्ष पनि फ्यानहरूकै दबाबका कारण कपिल शोबाट नवजोत सिंह सिद्धु हटाइएका थिए । कश्मिरको पुलवामा भएको आतंकी हमलाबारे सिद्धुले दिएको टिप्पणीलाई सामाजिक सञ्जालमा व्यापक विरोध भएपछि शोबाट उनलाई निकालिएको थियो ।

यो विषयमा सिद्धुको टिप्पणी पाकिस्तानीप्रति नरम भएको भन्दै फ्यानहरूले उनलाई कपिल शोबाट निकाल्न माग गरेका थिए । सिद्धुलाई शोमा राखिरहे शो नै नहेर्ने ट्रेण्ड नै चलेपछि सोनी च्यानलले यो निर्णय गरेको सञ्चारमाध्यमले जनाएका छन् । सिद्धू हटेपछि अर्चना पुरन सिंह उनको ठाउँमा आएकी थिइन् र हाल शोमा उनै छिन् । अहिले आएर फेरि भारतीलाई कपिल शोबाट निकाल्नुपर्ने माग उठिरहेको छ ।