घोंगी र अन्डिको भातदेखि गेंङ्टाको मःम सम्म ।

उज्ज्वल काफ्ले/नयाँ पत्रीका ।

सहरमा रेस्टुराँ,,

बर्सोनि १ माघमा काठमाडौं टुँडिखेलमा थारू समुदायको ‘माघी महोत्सव’ हुने गर्छ । महोत्सवमा बर्दिया राजपुर घर भएका सीताराम चौधरीले थारू समुदायका परिकार पस्किने गर्छन् । दुई वर्षअघिसम्म सोही दिन मात्र थारू परिकार चाख्न पाउँथे, उपत्यकावासीले । उपत्यकाका बासिन्दालाई दैनिक आफ्नो समुदायका परिकारको स्वाद चखाउने योजना बनाए, सीतारामले । र, दुई वर्षअघि कीर्तिपुर पाँगामा ‘बरघर थारू रेस्टुराँ’ खोले ।

उनका दाजुभाइ र परिवारका सदस्य मिलेर रेस्टुराँ चलाउने गरेका छन् । ‘हरेक समुदायको आफ्नो संस्कृति र परम्परा हुन्छ,’ उनी भन्छन्, ‘थारू परम्परा र संस्कृति चिनाउन रेस्टुराँ सञ्चालनमा ल्याएको हुँ ।’ यो रेस्टुराँमा छत्री, ढिकी, पौवा, डड्या, बेररी, सुप्पा, बेरुवा, ढरिया, हर, जुवालगायत थारू समुदायले प्रयोग गर्ने सामग्री सजाइएको छ ।

घोंगी, गेंटा, ढिक्री, बैरिक चट्नी, बरिया, सुखाइल मछ्छी, झिंगा मछ्छी, डेरुवा मछ्छी, सुतही, थारू आलु, बंगुरको सेकुवा, सुरिक मःम, छबुवा, घरैया दारु, कच्च झिंगा मछ्छी, अन्डिक भात, अन्डिक झवार, लोकल मुर्गा, गेंटा मःम, बटै र अक्टोपस गरी २१ वटा परिकार बन्छन्, यस रेस्टुराँमा । तीमध्ये विशेष परिकार हुन्, थारू खाजा सेट, घोंगी र अन्डिक भात ।

थारू खाजा सेटमा घोंगी, ढिक्री, बयरको चट्नी, अन्डिक भात, बंगुरको सेकुवा, कुखुराको सेकुवा, भटमास, बरियालगायत परिकार राखिन्छ । घोंगी बनाउन सबैभन्दा बढी मिहिनेत लाग्ने सीताराम बताउँछन् । घोंगी तराईका खेतमा पाइने जलचर हो । घोंगी ल्याएको पहिलो दिन नै यसलाई पकाउन मिल्दैन । एक रात पानीमा पिठोसहित राखिन्छ । त्यो पिठो घोंगीले खान्छ । त्यसपछि घोंगीले शरीरभित्र भएको माटो बाहिर निकाल्छ । त्यसपछि अर्को दिन भाँडाबाट निकालेर पखाली पानीमा उसिनिन्छ । 

त्यसपछि घोंगीको पछाडिको भाग फुटाइन्छ । राम्रोसँग पखालेपछि घोंगीका परिकारहरू बनाउन सकिन्छ । अन्डिक भात तराईमा पाइने चामलबाट पकाइन्छ । यो रेस्टुराँका ग्राहकले रुचाएको परिकार हो । अन्डिक चामल बर्दियाबाटै ल्याइने गरेको उनी बताउँछन् । रेस्टुराँको नयाँ परिकार हो, गेंटा मःम, जुन तराईमा पाइने गंगटोबाट बनाइन्छ ।

रेस्टुराँका लागि आवश्यक सामग्री तराईका गाउँ र काठमाडौंमा कालीमाटीबाट ल्याउने गरेका छन् । सीतारामका अनुसार अझैसम्म गाउँघरमा थारू समुदायका मानिस खोलामा पाइने माछा, घोंगी, गंगटा खाएर आवश्यक पौष्टिक तत्व प्राप्त गरिरहेका छन् । रेस्टुराँमा विभिन्न कार्यक्रम पनि हुन्छन् । तीमध्ये ‘थारू भाषा साहित्य कार्यक्रम’का लागि रेस्टुराँले निःशुल्क ठाउँ दिने गरेको छ ।