सोमबार एकाबिहानै राजधानी काठमाडौंको सुकेधारामा बसको ठक्करले एक जना कलेजछात्रा सृष्टि पन्तको मृत्यु भयो । मित्रपार्कपस्थित पशुपति क्यापसमा बिबिएस चौथो वर्षकी विद्यार्थी उनी सडक किनारामा बस कुर्दै थिइन् । उछिनपाछिन गर्दै आएको बसले किनारा मिचेर उनलाई ठक्कर दियो । नजिकैको अस्पताल पु¥याइए पनि उनले संसार छाडिन् ।
सार्वजनिक यातायातका साधनले पैदलयात्रुको ज्यान लिने घटना नयाँ होइन । मंसिर अन्तिमसाता बूढानीलकण्ठमा सडकपेटीमा हिँडिरहेकी एक यात्रुको निजी कारको ठक्करले ज्यान गयो । मंसिरकै दोस्रो साता नयाँ बानेश्वरमा बसको ठक्करले एक जना चिकित्सकको ज्यान गयो । यी पछिल्ला केही दृष्टान्तमात्र हुन् । काठमाडौं उपत्यकामा हुने सडक दुर्घटनामा मृत्यु हुनेमध्ये करिब आधा संख्या पैदलयात्रुको हुने गरेको तथ्यांक छ । पछिल्लो साढे सात वर्षमा काठमाडौं उपत्यकामा सवारीसाधनको ठक्करबाट एक हजार ४२ जनाको ज्यान गएकोमा पैदलयात्रुको संख्या ५०५ छ ।
सडक किनारमा हिँड्दै गरेको यात्रु सुरक्षित छैन । जेब्रा क्रसमै पैदलयात्रु मारिएका घटना छन् । यस्ता घटना चालकको लापरबाहीकै कारण बढी हुने गरेका छन् । फुटपाथमा र किनारामा हिँडिरहेको तथा किनारामा उभिएर सवारी साधन कुरिरहेको यात्रु किचिने गरेको छ । गाडीभित्रको होस् कि पैदलको यात्रुको ज्यान सधैँ उच्च जोखिममा हुने गरेको छ ।
शहरी यातायातमा सार्वजनिक सवारी साधनको उछिनपाछिन चर्को समस्याका रूपमा रहेको छ । यात्रु टिप्न अगाडिको गाडीलाई उछिन्ने प्रतिस्पर्धा चल्ने गरेको छ । उछिनपाछिनको प्रतिस्पर्धामा गति बढ्छ, सन्तुलन खलबलिन्छ, गाडीले लेन र किनारा मिच्छ । यसो गर्नु चालकको चरम लापरबाही हो । पेशागत अनुशासन उल्लंघन हो । यस्तै कारणले हुन्छ दुर्घटना र पैदलयात्रुको ज्यान जान्छ । सोमबार सुकेधारामा एकाबिहानै भएको घटना पनि यस्तै लापरबाहीको परिणाम हो ।
सडक अनुशासन र ट्रापिक नियमनमा हाम्रा कानुनहरू कमजोर छन् । भएका कानुनको कार्यान्वयन पनि प्रभावकारी छैन । लापरबाही गरेर दुर्घटना गराउने चालकलाई सजाय गर्ने, जरिवाना गराउने र क्षतिपूर्ति भराउने कानुन नाममात्रको छ । सडक सार्वजनिक यातायातका चालकको कब्जामा छ । अधिकांश चालक कच्चा देखिन्छन् । यस्ता चालक ट्राफिक नियम र सडक अनुशासनमा संवेदनाहीन छन् । यस्तो अवस्थामा हुने भनेकै दुर्घटना हो । कानुन र नियममा कडाइ गर्नु नै लापरबाही नियन्त्रणको मुख्य उपाय हो ।
हाम्रा फुटपाथहरूको अवस्था दयालाग्दो छ । कति ठाउँमा त फूटपाथ नै छैन । भएको पनि कति साँघुरो छ भने दाहोरो हिँड्नै मिल्दैन । पैदलयात्रु सडकमा हिँड्न बाध्य हुन्छ । बाक्लो सवारी चाप हुने मुख्य ठाउँहरूमै जेब्रा क्रस छैनन् । भएका पनि सम्भार गरिएका छैनन् । सार्वजनिक यातायातका साधनहरू जेब्रा क्रसलाई कुनै वास्ता गर्दैनन् । सकेसम्म पेलेरै अघि जाने प्रवृत्ति छ । यसमा सुधार नभएसम्म पैदलयात्रु शिकार भइरहनेछन् ।
पैदलयात्री पनि सचेत हुन आवश्यक छ । सडक किनारामा सकेसम्म सुरक्षित हुनेगरी उभिने, सकेसम्म जेब्रा क्रसबाटै र सुरक्षित रूपमा पार गर्छु भन्ने पक्का भएरमात्रै बाटो काट्ने बानी गर्नु आवश्यक छ ।



















