एजेन्सी := साविक विश्व विजेता अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले फिफा विश्वकप–२०२६ को पहिलो खेलमै ऐतिहासिक प्रदर्शन गर्नुभएको छ । अमेरिकाको कान्सास सिटी रंगशालामा जारी समूह चरणको खेलमा अल्जेरियाविरुद्ध मेस्सीले ह्याट्रिक पूरा गर्दै अर्जेन्टिनालाई बलियो अवस्थामा पुर्याउनुभएको हो ।
छैटौँ पटक विश्वकप खेलिरहनुभएका मेस्सीले आफ्नो विश्वकप करियरमै पहिलोपटक ह्याट्रिक पूरा गर्नुभएको छ। उहाँले खेलको १७औँ, ६०औँ र ७६औँ मिनेटमा गोल गर्दै अर्जेन्टिनी समर्थकलाई उत्साहित बनाउनुभयो ।
खेलको सुरुवातमै कप्तान मेस्सीले पेनाल्टी क्षेत्र बाहिरबाट उत्कृष्ट प्रहार गर्दै अर्जेन्टिनालाई अग्रता दिलाउनुभएको थियो। त्यसपछि दोस्रो हाफमा उहाँले थप दुई गोल गर्दै आफ्नो शानदार प्रदर्शनलाई पूर्णता दिनुभयो ।
मेस्सीको यो ह्याट्रिकसँगै विश्वकप इतिहासमा नयाँ कीर्तिमानसमेत बनेको छ। उहाँले विश्वकपमा आफ्नो गोल संख्या १६ पुर्याउँदै जर्मनीका महान् खेलाडी मिरोस्लाभ क्लोसको नाममा रहेको १६ गोलको कीर्तिमान बराबरी गर्नुभएको छ ।




















