फुटबलमा बंगलादेशलाई १–० ले पराजित गर्दै नेपाल फाईनलमा पुगे ।

काठमाडौं := नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपाल पुरुष फुटबलको फाइनलमा प्रवेश गरेको छ।

आइतबार बंगलादेशलाई १–० ले पराजित गरेपछि नेपालले भुटानसँगको फाइनल भेट पक्का गरेको हो। दशरथ रंगशालामा भएको सो खेलमा नेपाललाई जिताउन सुनील बलले निर्णायक गोल गरेका थिए।
जितसँगै नेपाल १० अंक जोडेर समूह विजेता बन्यो। दोस्रो बनेको भुटानको ९ अंक छ। नेपाल साग फुटबलमा लगातार दोस्रो पटक र समग्रमा छैटौं पटक फाइनलमा पुगेको हो।

यसअघि नेपालले सन् २०१६, १९९३ र १९८४ मा साग फुटबलको उपाधि जितेको थियो।
सन् १९८७ र १९९९ मा भने नेपाल फाइनल पुगेर पनि चुकेको थियो। नेपालले मंगलबार साँझ पाँच बजे दशरथ रंगशालामा हुने फाइनल जिते साग इतिहासमा सबैभन्दा सफल टिमको इतिहास बनाउनेछ। सागमा पाकिस्तानले सबैभन्दा बढी ४ पटक स्वर्ण जितेको छ। नेपाल र भारतले ३–३ पटक उपाधि जितेका छन्।