मधेसीहरू राष्ट्रनिर्माता हुन् : सिके राउत

काठमाडौं । नेपाल जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले राष्ट्र निर्माणमा, हरेक राजनीतिक परिवर्तनमा मधेसीहरूको ठूलो बलिदान रहे पनि उनीहरू सदैव पिछडिनुपरेको गुनासो गरेका छन् । उनले रंगभेदी दृष्टिकोणका कारण मधेसीहरू अपमानित हुन परिरहेको बताए । उनले अहिलेसम्म भएका राष्ट्रघातमा घटनाक्रममा मधेसीको कुनै भूमिका नरहेको दाबीसमेत गरे ।

राजधानीमा शनिबार ‘रंगभेदविरुद्ध एकतासभा तथा सांस्कृतिक विविधता झाँकी प्रदर्शन’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले उनले खोक्रा राष्ट्रवादीहरूले देशको सम्पत्ति बेचेको आरोप लगाए । उनले देशका हरेक परियोजनाहरू खोक्रो राष्ट्रवादीहरूले विदेशीलाई बेचेको बताए । कोशी र लिम्पियाधुरा मधेसीले नभई खोक्रो राष्ट्रवादीहरूले बेचेको उनको भनाइ थियो ।

उनले भने, ‘कोशी बेच्ने मधेशी थिएनन् । लिम्पियाधुरा बेच्ने मधेसी थिएन । यो खोक्रो राष्ट्रवादीले बेचेका हुन् । खोक्रो राष्ट्रवादीहरूले वृत्तान्त धेरै लामो छ । राष्ट्रवादी त मधेसी हुन् ।’ मधेसीहरूले रगत बगाएर भए पनि सीमाको रक्षा गरेको उनको भनाइ थियो ।

मधेसी समुदायलाई सेना, प्रहरीमा प्राथमिकता नदिए पनि उनीहरूले सीमाको रक्षा गरिरहेको राउतको भनाइ थियो । उनले भने, ‘सेनामा बन्देज लगाए पनि प्रहरीमा बन्देज लगाए पनि बिना बर्दी सीमा रक्षामा उभिएका छन् । देवनारायणजस्ता शहीदहरूले रगत बगाएर सीमा रक्षा गरेका छन् ।’

राउतले मधेसीहरू राष्ट्रवादीमात्रै नभएर राष्ट्र निर्माता पनि भएको बताए । काठमाडौंको कान्तिदेखि ललितपुरको लालित्यसम्म मधेसीहरूले निर्माण गरेको उनले दाबी गरे । ‘भुक्तमानदेखि लिएर गोपालवंशी, महिषपालवंशी सबै मधेसी । सबै सभ्यता मधेसीले निर्माण गरेको हो’, उनले भने ।

सन् १९४७ मा ‘गोर्खा भर्ती केन्द्र’ सम्झौता गरेर नेपाली युवालाई ‘बेच्ने’ भूमिका, २००७ सालमा नेपाललाई पराधीन बनाउने सम्झौता गर्ने भूमिकामा कुनै मधेसी नरहेको उनले बताए । ‘२००८ सालमा क्याबिनेटको बैठकमा विदेशी राजदूतलाई अनिवार्य रूपमा उपस्थित गराउने कुनै मधेसी थिएनन्,’ उनले भने, ‘ललितपुरको जाउलाखेलमा विदेशी सेनाको ब्यारेक राख्न सम्झौता गर्ने कुनै मधेसी थिएनन् । २०१० सालमा विदेशी सेना बोलाएर दार्चुलाका आफ्नै नागरिक किसानलाई हत्या गर्न लाउने कुनै मधेसी थिएनन् ।’

‘कांग्रेसलाई बासमती चामलको धान खुवाउने मधेसी हुन्’

राउतले देशको हरेक राजनीतिक परिवर्तनमा मधेसीहरूको भूमिका रहेको बताए । २००७ सालदेखिको क्रान्तिदेखि माओवादी सशस्त्रयुद्ध मधेसबाट सुरु भएको स्मरण गर्दै राउतले मधेसको साथविना कुनै पनि परिवर्तन सफल नभएको दाबी गरे ।

आन्दोलनका समयमा कांग्रेसका नेताहरूलाई बसमती चामलको भात खुवाउने मधेसी नै भएको जिकिर गर्दै उनले भने, ‘२००७ सालको क्रान्ति सप्तरीको हनुमाननगर जेलबाट सुरु भएको हो ।’

‘व्यवस्था बदलिए पनि रंगभेद उस्तै’

देशमा पटकपटक व्यवस्था बदलिए पनि विभेद र शोषण कायमै रहेको उनले बताए । हरेक पाइलामा रंगभेद रहेको बताउँदै राउतले भने, ‘रंगभेद कहाँ छ भन्नेहरूले आफ्नो पूर्वाग्रहको चश्मा खोलेर हेर्नुस् ।’ 

‘यो त्यही भूमि हो, जहाँ रितिक रोशनले केही बोल्यो भन्दैमा मधेसीहरूलाई सडकमा ल्याएर पिटिएको थियो । यो त्यही भूमि हो, इराकमा केही मानिस मारिँदा यहाँको मस्जिदमा आगो लगाइयो’, राउतले भने, ‘त्यही पनि सोधिन्छ, रंगभेद कहाँ छ ?’ उनले रंगभेद कुनै खेतमा नउम्रिएको, आकाशबाट झरेको नभई हाम्रो संकीर्ण मानसिकताले यस्तो भएको बताए ।