काठमाडौं । फ्रेण्डस् क्लब राजधानीमा जारी तेस्रो संस्करणको चन्द्रागिरि मेयर गोल्डकप ‘ए’ डिभिजन फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । फ्रेण्डस्ले आयोजक चन्द्रागिरि नगरपालिकामाथि ५–० को फराकिलो जित निकाल्दै प्रतियोगिताको अन्तिम आठमा पुग्न सफल भएको हो ।
चन्द्रागिरि नगरपालिकास्थित नैकाप फुटबल मैदानमा आइतबार भएको खेलमा फ्रेण्डस्को फराकिलो जितमा सञ्जोक महर्जन, शक्ति राई, रुमेश बर्तौला, प्रिजेन तामाङ र निशान सुब्बाले गोल गरे । पहिलो हाफमा तीन तथा दोस्रो हाफमा दुई गोल सम्भव भएको थियो ।
फ्रेण्डस्ले खेलको तेस्रो मिनेटमा नै सञ्जोक महर्जनको गोलबाट अग्रता लिएको थियो । पाँचौ मिनेटमा शक्ति राईले गोल गर्दै फ्रेण्डस्लाई सुरुमै राम्रो सुरुवात दिलाएका थिए । २३औं मिनेटमा रुमेश बर्ताैलाले फ्रिकिकमा सुन्दर गोल गरेपछि फ्रेण्डस्ले पहिलो हाफमा ३–० को आरामदायी अग्रता बनाएको थियो ।
पहिलो हाफमा आयोजकले केही मौका खेर फालेको थियो । प्रतिस्पर्धात्मक बनको दोस्रो हाफमा आयोजकले फ्रेण्डस्लाई दबाबमा राखे पनि गोल गर्न भने सकेन । बरु दुई गोल खान पुग्यो ।
४३औं मिनेटमा घरेलु टोलीले गोल गर्ने सुन्दर मौका खेर फाल्यो । अविरल रिजालको प्रहार क्रसबारमा लागेर रिवाउण्डमा पाएको बललाई अनिल गुरुले प्रहार गरेपनि सुरज गुरुङले हेडमार्फत बचाएका थिए । ५१औं मिनेटमा प्रिजेन तामाङले बक्स बाहिरबाट उत्कृष्ट गोल गरेपछि फ्रेण्डस् फराकिलो जिततर्फ अग्रसर बनेको थियो ।
७०औं मिनेटमा निशान सुब्बाले गोल गर्दै फ्रेण्डस्लाई ५–० को फराकिलो जित दिलाए । निशानको फितलो प्रहार गोलरक्षक रोशन नेपालले रोक्ने कुनै मौका नै पाएनन् । फ्रेण्डस्का सञ्जोक महर्जन खेलको म्यान अफ दि म्याच घोषित भए । उनले ५ हजार रुपैयाँ हात पारे ।
प्रतियोगितामा सोमबार विभागीय नेपाल पुलिस क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउसो २ः३० बजेपछि सुरु हुनेछ ।
तेस्रो संस्करणको प्रतियोगितामा ‘ए’ डिभिजनका १० टोली र आयोजकको दुई गरी १२ टोलीको सहभागिता रहेको छ । समूह ‘ए’ मा आयोजक दीपशिखा युवा समूह, ब्रिगेड ब्वाइज क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, जावलाखेल युथ क्लब र च्यासल युथ क्लब रहेका छन् ।
समूह ‘बी’ मा चन्द्रागिरि नगरपालिका, फ्रेण्डस् क्लब, रुस्लान थ्री स्टार क्लब, संकटा क्लब, नेपाल एपिएफ क्लब र सरस्वती युथ क्लब रहेका छन् । १० र ११ मंसिरमा सेमिफाइनल तथा १४ मंसिरमा फाइनल खेल हुनेछ । विजेताले ६ लाख ५० हजार रुपैयाँ पाउनेछ ।
दोस्रो हुनेले ३ लाख ५० हजार रुपैयाँ हात पार्नेछ । सर्वाेत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताले सम्मान स्वरूप ३० हजार रूपैयाँ प्रदान गरिनेछ । प्रतियोगिताको अनुमानित लागत झण्डै ५० लाख रुपैयाँ रहेको छ । पहिलो संस्करणमा हिमालय शेर्पा क्लब तथा दोस्रो संस्करणमा भ्याली च्यासल युथ क्लब च्याम्पियन बनेको थियो ।




















