काठमाडौं । संसदीय समितिले कुवेतका विभिन्न जेलमा थुनामा रहेका २१ नेपाली कामदारलाई तत्काल नेपाल फिर्ता ल्याउने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । संघीय संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित संरक्षण समितिको आइतबार बसेको बैठकले यस्तो निर्देशन दिएको हो ।
समितिले कुवेतको थुनामा रहेका २१ जना नेपाली कामदारलाई तत्काल स्वदेश फर्काउन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय र गृह मन्त्रालयलाई निर्देशन दिएको छ । उनीहरूको दण्ड, जरिवाना तिरेर भए पनि तत्काल फिर्ता ल्याउन समितिले निर्देशन दिएको हो । थुनामा रहेका कामदार ५४ लाख जरिवाना तिरेर नेपाल फर्काउन सकिने कुवेतस्थित नेपाली दूतावासले जनाएको छ ।
कामको खोजीमा अवैधरूपमा कुवेत पुगेका २१ जना नेपाली कामदारलाई कुवेत सरकारले थुनामा राखेको छ । समितिका सदस्यहरूले नेपाली कामदारलाई अवैधरूपमा वैदेशिक रोजगारमा पठाउने म्यानपावर कम्पनीमाथि कारबाहीको माग गरेका थिए । सरकारले भने थुनामा रहेका २१ जना नेपाली कामदारलाई स्वदेश फिर्ता गराउन कुवेत सरकारसँग छलफल भइरहेको जानकारी दिएको छ । परराष्ट्र सचिव शंकरदास बैरागीले उनीहरूलाई स्वदेश फर्काउन कुवेतस्थित नेपाली दूतावासमार्फत पहल भइरहेको बताए । उनका अनुसार दण्ड, जरिवाना मिनाहा गर्न पनि कुवेत सरकारसँग नेपाली दूतावासले छलफल गरिरहेको छ ।




















