काठमाडौं । बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद नेपालको चार दिवसीय औपचारिक सद्भावना भ्रमणका क्रममा काठमाडौं आइपुगेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा उनी नेपालको औपचारिक भ्रमणमा आएका हुन् ।
मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा राष्ट्रपति भण्डारीले हमिदलाई स्वागत गरिन् । उनको स्वागतका लागि मन्त्रीहरू पनि विमानस्थल पुगेका थिए ।
हमिदको सम्मानमा नेपाली सेनाको एक टुकडीले २१ तोपको सलामीसहित सम्मान गारत अर्पण गरेको थियो । हमिदको स्वागतमा विमानस्थलमा सातवटै प्रदेशका जीवन्त कला र संस्कृतिको झाँकी प्रदर्शन गरिएको थियो । नेपाल प्रहरीको संगीत विद्यालयबाट प्रशिक्षण प्राप्त ६७ कलाकारले राष्ट्रपति हमिदको स्वागतमा सातवटै प्रदेशको पहिचान झल्कने सांस्कृतिक नृत्यसहितको झाँकी प्रस्तुत गरेका थिए ।
कलाकारको टोलीले प्रदेश–१ को मारुनी, प्रदेश–२ को झाँगड, प्रदेश–३ को तामाङसेलो, गण्डकी प्रदेशको कौरा, प्रदेश–५ को टप्पा, कर्णाली प्रदेशको थकाली र सुदूरपश्चिम प्रदेशको हुड्केली गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।
भेटवार्ता आज
राष्ट्रपति भण्डारी र उनका बंगलादेशी समकक्षी हमिदबीच बुधबार राष्ट्रपति भवन, शीतल निवासमा भेटवार्ता हुँदैछ । बुधबार नै राष्ट्रपति भण्डारीले हमिद र उनको नेतृत्वमा नेपाल भ्रमणमा आएको प्रतिनिधिमण्डलको सम्मानमा रात्रिभोज आयोजना गर्नेछिन् । बंगलादेशका राष्ट्रपतिसँग बुधबार नै उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम छ । परराष्ट्रमन्त्री ज्ञवालीले हमिदसँग मंगलबार साँझ नै भेट गरेका छन् ।
हमिदसँग नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा अन्य वरिष्ठ नेताले पनि शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।
भक्तपुर दरबार क्षेत्र अवलोकन
बंगलादेशका राष्ट्रपति हमिदले मंगलबार अपराहृन भक्तपुर दरबार क्षेत्रको भ्रमण गरे । उनी हेलिकप्टरबाट भक्तपुर पुगेका थिए । उनलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले स्वागत गरेका थिए ।
उनले चन्द्रागिरि र पोखराको समेत भ्रमण गर्ने कार्यक्रम छ । उनी कात्तिक २९ गते स्वदेश फर्कनेछन् ।




















