डा. केसीले तोडे अनशन

काठमाडौं । चिकित्सा शिक्षा क्षेत्रमा सुधारको माग राख्दै आएका डा. गोविन्द केसीले १७औं अनशन स्थगित गरेका छन् । भारतले नेपाली भूमि मिचेको विषयले आफूलाई स्तब्ध बनाएको भन्दै केसीले मंगलबार अनशन तोडेका हुन् । कात्तिक १७ गतेबाट डडेल्धुरमा अनशनरत केसीले मंगलबार विज्ञप्ति जारी गर्दै राष्ट्रियताको संवेदनशील विषयमा देशभरिबाट आवाज उठेको हुँदा सत्याग्रह तत्कालका लागि स्थगित गरिएको बताएका छन् । ‘चिकित्सा शिक्षा क्षेत्रमा भएको १० अर्ब ठगीका अभियुक्त लगायतलाई न्यायको कठघरामा ल्याउने जिम्मेवारीबाट सरकार कसै गरे पनि तर्कन सक्दैन,’ केसीले भनेका छन्, ‘राष्ट्रियताको संवेदनशील विषयमा देशभरमा जनस्तरबाट आवाज उठिरहँदा उहाँहरूको समवेदनालाई हृदयंगम गर्दै हाल जारी सत्याग्रह तत्कालका लागि स्थगन गर्ने निर्णय गरेका छौं । तर, स्वास्थ्य र चिकित्सा शिक्षा सुधार तथा सुशासनका लागि हाम्रो लडाइँ जारी रहने तथा सरकारले हाम्रा माग पूरा नगरेको खण्डमा पुनः सत्याग्रहसहितका आन्दोलनका कार्यक्रम ल्याउने जानकारी पनि गराउँदछौं ।×’

सीमाको रक्षा राष्ट्रियताको पहिलो शर्त भएको बताउँदै केसीले सबल र आत्मसम्मानपूर्ण राज्यका लागि सीमा रक्षामात्रै काफी नहुने प्रष्ट पारेका छन् । ‘आम नागरिकको जीविका सहज हुने, गुणस्तरीय शिक्षा र स्वास्थ्य उपलब्ध हुने तथा विना भेदभाव र विना भय सबै नागरिक बाँच्न पाउने अवस्थामा मात्र राष्ट्रियता बलियो हुन सक्छ । आम नागरिकमा राष्ट्रियताको भावना बलियो हुनु राम्रो हो,’ केसीले विज्ञप्तिमा भनेका छन् । 

सत्तामा रहेका व्यक्तिहरूले राष्ट्रियताको बहाना गरिरहेको आरोपसमेत उनले लगाएका छन् । फरक मत राख्नेहरूमाथि दमन गर्न अभिव्यक्ति स्वतन्त्रता खुम्च्याउने काम गरेमा स्वीकार्य नहुने उनको चेतावनी छ ।

डा. केसीले नेपाली भूमि मिचिएको विषयमा राजनीतिक दलहरूबीच देखिएको एकता अभूतपूर्व भएको जनाउँदै यो एकताले परिणाम निकाल्नुपर्ने बताए । उनले विज्ञप्तिमार्फत भनेका छन्, ‘अहिले नेपालको पश्चिमी सीमा मिचिएको विषयमा राजनीतिक शक्तिहरूबीच जुन अभूतपूर्व तदारुकता देखिएको छ, त्यो देखावटी मात्र नभई कूटनीतिक माध्यमबाट मिचिएको भूमि फिर्ता गर्नमा केन्द्रित होस् र त्यो प्रयासले परिणाम निकालोस् भन्ने चाहन्छौं । त्यसको अर्थ राज्यले गर्नैपर्ने बाँकी काम र जिम्मेवारीबाट उन्मुक्ति पाउने भन्ने किमार्थ हुँदैन ।’

देउवाले दिए धन्यवाद

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डा. केसीले अनशन स्थगित गरेकोमा धन्यवाद दिएका छन् । केसीले अनशन स्थगित गरेको घोषणापछि देउवाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अनशन स्थगित गर्नुभएकोमा डा. गोविन्द केसीजीलाई हार्दिक धन्यवाद दिन चाहन्छु । तपाईंले मेडिकल शिक्षा सुधारका लागि उठाउनु भएका मागहरू जायज छन् । यो तपाईंको माग नभएर सम्पूर्ण जनताको माग भएको छ । जनताको मागलाई यो सरकारले वास्ता नगर्नु दुःखद र दुर्भाग्यपूर्ण छ ।’

मोदीलाई पत्र

केसीले डडेल्धुराबाटै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई खुला पत्र लेख्दै नेपाली भूमिमाथिको अतिक्रमण रोक्न आग्रह गरेका छन् । नेपाल र भारतले साझा लडाइँ लड्नुपर्ने धेरै क्षेत्र रहेको भन्दै उनले नेपाली भूमि अतिक्रमण रोक्न मोदीलाई आग्रह गरेका हुन् । आफूले भारतको विभिन्न स्थानमा समेत मानवीय सेवा गरेको स्मरण गराउँदै उनले मानिस फरक देशको भए पनि पीडा उस्तै हुने जिकिर गरेका छन् । ‘सन् २००१ को भूकम्पपछि मैले यहाँको गृहराज्य गुजरातको भुजमा घाइतेहरूको सेवा गर्ने मौका पाएको थिएँ, त्यस्तै उत्तराखण्डमा भीषण बाढी आउँदा केदारनाथमा फसेका तीर्थयात्रीको सेवा गर्ने मौका पनि मैले पाएको थिएँ,’ मोदीलाई सम्बोधन गर्दै डा. केसीले लेखेको पत्रमा भनिएको छ, ‘त्यस क्रममा मेरो आफ्नै ज्यान मुस्किलले बचेको थियो, जुनसुकै देश र राष्ट्रियताका मानिस भए पनि उनीहरूको पीडा एकै किसिमको हुन्छ र मानवीय सेवा गर्दा मिल्ने सन्तुष्टि पनि एउटै हुन्छ भन्ने मैले महसुस गरेको छु ।’ उनले आफू कूटनीति र भूराजनीतिका जटिल सिद्धान्त र अभ्यासबारे जानकार नभएको जनाउँदै पत्रमा लेखेका छन्, ‘तर सामान्य नागरिकको हैसियतले मैले जानेको यत्ति हो, जुनसुकै देशका नागरिकको पनि मर्यादा र आत्मसम्मान हुन्छ ।’