थुनामा पठाइए महरा, कति बर्ष होला त जेल ?

काठमाडौं । संसद् सचिवालयकी कर्मचारीमाथि बलात्कार प्रयास गरेको आरोपमा पक्राउ गरी मुद्दा चलाइएका तत्कालीन सभामुख कृष्णबहादुर महरा पुर्पक्षका जेल चलान भएका छन् । 

थुनछेक बहस सकिएपछि जिल्ला अदालत काठमाडौंका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले महरालाई थुनामा पठाउन आदेश दिएको छ । तत्काल प्राप्त प्रमाणका आधारमा थुनामा राखेरै मुद्दा छिन्नुपर्ने देखिएको ठहर गरी  थुनामा पठाउन आदेश भएको जिल्ला अदालत काठमाडौंका श्रेष्तेदार आनन्दप्रसाद श्रेष्ठले जानकारी दिए । 

अदालतको आदेशसँगै महरा डिल्लीबजार कारागार चलान भएका छन् । 

सोमबार दुवै पक्षका वकिलहरूको थुनछेक बहस सकिएपछि जिल्ला अदालतले महरालाई मुद्दाको अन्तिम टुंगो नलाग्दासम्म थुनामा राख्न आदेश दिएको हो । 

थुनछेक बहस आइतबार सुरु भएको थियो । पीडितका तर्फबाट चन्द्रकान्त खनाल, उमाकान्त पौडेल, हरि रेग्मी र सृजना ढकालले बहस गरेका थिए । महराको तर्फबाट लव मैनाली, रमण श्रेष्ठ, भोजराज आचार्य, शेरबहादुर केसी, सविता भण्डारी र कृष्णप्रसाद सापकोटाले बहस गरेका थिए  ।

बिहीबार दर्ता भएको मुद्दामा महराले शुक्रबार न्यायाधीशसमक्ष इन्कारी बयान दिएका थिए । जिल्ला सरकारी वकिल कार्यालयले जबरजस्ती करणी उद्योग र पदीय ओहदाको दुरुपयोग गरी कसुर गरेको अभियोगमा साढे ७ वर्ष कैद सजाय मागदाबी गरेको छ ।

फौजदारी मुद्दाको पुर्पक्षका लागि थुनामा चलान भएसँगै महराको सांसद पद गुमेको छ । मुद्दाको फैसला नभएसम्म महरा कारागारमा रहनेछन् । उनले अदालतको थुनछेक आदेशविरुद्ध पुनरावेदन गर्न भने पाउनेछन् । 

गत असोज १२ गते संसद् सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि यौन दुव्र्यवहार गरेको आरोप लागेका महराले असोज १४ गते सभामुख पदबाट राजीनामा दिएका थिए । प्रहरीले महरालाई गत असोज १९ गते सभामुखको सरकारी निवास बालुवाटारबाट पक्राउ गरेको थियो । पक्राउ परेपछि महरा अस्वस्थ भएको भन्दै असोज २३ गतेबाट नर्भिक अस्पतालमा थिए ।  

महरा पक्राउ परेको २५ दिनपछि महराविरुद्ध सरकारी वकिलको कार्यालयले जिल्ला अदालत काठमाडौंमा जबरजस्ती करणी उद्योगअन्तर्गत मुद्दा दर्ता गरेको थियो । पक्राउ परेको २९ दिनमा उनी पुर्पक्षका लागि कारागार चलान भएका हुन् ।