डा. केसी फेरि अनशनमा

काठमाडौं । चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवा सुधारका अभियन्ता डा. गोविन्द केसीले फेरि आमरण अनशन सुरु गरेका छन् । उनी सुदूरपश्चिमको डडेल्धुरा पुगेर सोमबार अनशन बसेका हुन् । यो उनको १७ औँ अनशन हो । 

डा. केसीले ७ वटा माग राखेका छन् । अनशन सुरु गर्नुअघि भएको पत्रकार सम्मेलनमा उनले आफूले राखेका माग पूरा नभएसम्म अनशन जारी रहने र आमरण हुने बताए । उनी डडेल्धुरा जिल्ला अस्पतालनजिकै निर्मल क्लिनिक सञ्चालनमा रहेको घरको तेस्रो तलाको एउटा कोठामा बसेका छन् । 

सरकारले सुनुवाइ नगरेपछि उनले यसअघिको १६औँ अनशन २९औँ दिनमा आफैं त्यागेका थिए । 

केसीले २०७५ साउन १० गते भएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गर्नुपर्ने, विश्वविद्यालयहरूमा पादाधिकारी नियुक्तिको प्रक्रिया रोकेर पराशर कोइराला नेतृत्वको मापदण्ड निर्धारण समितिले दिएको सुझावअनुसार पदाधिकारी नियुक्त गर्ने कानुनी व्यवस्था गर्नुपर्ने माग राखेका छन् । 

यसैगरी, आन्दोलनरत मेडिकल विद्यार्थीहरूका माग पूरा गर्दै सबै निजी मेडिकल कलेजले अवैध रूपमा असुल गरेको सम्पूर्ण रकम फिर्ता गर्नुपर्ने उनको माग छ । उनले मेडिकल कलेजका सञ्चालकहरूलाई अरबौंको ठगी र आर्थिक अपराधका दोषी रहेको भन्दै फौजदारी कानुनबमोजिम कडा कारबाही गर्न माग गरेका छन् । 

डा. केसीले नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठान र काठमाडौं विश्वविद्यालयको आंगिक कलेज तथा विस्तारित कार्यक्रममा तत्काल ७५ प्रतिशत छात्रवृत्तिको व्यवस्था गर्नुपर्ने, शुल्क र सिट संख्यामा वृद्वि गर्नेसम्बन्धी लगायतको निर्णय तत्काल खारेज गर्नुपर्ने, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति पु¥याएर एमबिबिएस कार्यक्रम सञ्चालन गर्नुपर्ने माग पनि केसीले अघि सारेका छन् । 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमडिजिपी कार्यक्रम सञ्चालन गर्ने अनुमति अनुचित ढंगले प्रधानमन्त्री कार्यालयले अड्काएर राखेको केसीको आरोप छ । 

क्यान्सर लगायतका रोगका औषधिहरू भारतमा भन्दा ४–५ गुणा महँगो भएकाले सुपथ मूल्यमा उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने, कर्मचारी समायोजनका कारण सेवा अवरुद्ध भएका डडेल्धुरा लगायतका अस्पताल र स्वास्थ्य संस्थाहरूमा तत्काल दरबन्दीअनुसार चिकित्सक र स्वास्थ्यकर्मीको व्यवस्था गर्नुपर्ने डा. केसीको माग छ । संक्रमणकालीन न्यायसम्बन्धी आयोगहरूमा पीडितहरूको मागअनुसार कानुन संशोधन गरी पीडितको विश्वास जित्ने विज्ञहरूलाई नियुक्त गर्नुपर्ने माग पनि केसीको छ । 

डा.केसी गत असोज २७ गते त्रिवि शिक्षण अस्पतालबाट सेवानिवृत्त भएका थिए ।  

डा केसीका मुख्य माग

१. २०७५ साउन १० गते भएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन । 

२. विश्वविद्यालयहरु मापदण्ड निर्धारण समितिको सुझावअनुरूप पदाधिकारी नियुक्तिको कानुनी व्यवस्था । 

३. आन्दोलनरत मेडिकल विद्यार्थीहरूको माग पूरा, अवैध रकम फिर्ता, दोषी मेडिकल कलेजका सञ्चालकहरूलाई फौजदारी कानुनअनुसार कारबाही,  तत्काल ७५ प्रतिशत छात्रवृत्तिको व्यवस्था ।  

४. शुल्क र सिट संख्यामा वृद्विको निर्णय खारेज ।  

५. कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस कार्यक्रम सञ्चालन गरियोस् । 

६. क्यान्सरलगायत रोगमा महँगा औषधिहरूमा सुपथमूल्य, अस्पताल र स्वास्थ्य संस्थाहरूमा दरबन्दीअनुसार चिकित्सक र स्वास्थ्यकर्मी । 

७. संक्रमणकालीन न्यायसम्बन्धी आयोगहरूमा दलीय भागबण्डा नगरी नियुक्ति ।