दण्डहीनताको डढेलोले देश खरानी हुँदैछ । पद्धति लोकतान्त्रिक छ, शासन र प्रशासनमा अपराधमात्रै देखिन्छ । जनप्रतिनिधि छन्, ९० प्रतिशत अपराधको ग्रहण परेका छन् । संविधान छ, दण्डित गर्न सक्दैन । सामाजिक मूल्य, मान्यता र मानवीय संवेदनशीलता मारेर बहादुर हुन सकिने अपराधी संस्कृति संस्थागत हुन थालेको छ । उत्तम व्यवस्थामा खत्तम संस्कार, यस्तो व्यवस्थालाई लोकतन्त्र भन्नु र मान्नु लज्जास्पद छ तर कसैले लज्जाबोध गर्दैनन् । मानौँ सत्ता र शक्तिशाली इम्परर न्यू क्लोथ कथाका बादशाह हुन् र बुद्धिजीवी तथा नागरिक समाजका अगुवा बादशाहका जयजयकार ध्वनिका साथ आरती उतार्ने चाकरीदार झुण्ड हुन् । बादशाह नांगै छन् भनेर सत्य बोलिदिने बालबालिका बलात्कार र हत्याका शिकार बनिरहेका छन् । नेपाल अन्धनगरी बनेको छ । चाणक्यकालका धनानन्दको अत्याचार आधुनिक नयाँ नेपालमा देखिन थालेको छन् । अत्याचारी शासनको अन्त्य गर्ने चाणक्य र चन्द्रगुप्त मौर्य जन्मने छेकछन्द छैन ।
तत्कालीन गृहमन्त्री भीम रावलकै जिल्लामा प्रहरी जमातले प्रहरी सुन्तली धामीको इज्जत लुटेका थिए । ख्याति श्रेष्ठजस्ता बालिकालाई टुक्राटुक्रा पारेर मारियो र बोरामा हालेर चितवन, ललितपुर र काठमाडौंमा फालियो । कतिपय बालकहरू पनि अपहरणपछि मारिए । जमिम शाह, फैजान अहमद, अरूण सिंहानीयाहरू पनि दिउँसै मारिए । कसले मा¥यो पत्तै लागेन । मदन भण्डारीको हत्यारा थाहा छ भन्ने व्यक्तिहरू सत्तामा छन्, मदन भण्डारीकै श्रीमती राष्ट्रपति छन्, त्यो रहस्य खोतल्दैनन् । पार्टीको दराजमा दुर्घटना हो भन्ने रिपोर्ट थन्क्याएर बसेका छन् ।
दरबार हत्याकाण्डका एकमात्र जिउँदा व्यक्ति गोरख शमशेरसँग बुझ्न सरकार तातेको चर्चा छ । यो तातो आफ्नो असफलता लुकाउने तरिकामात्र हो भन्छन् विश्लेषकहरू । यी सब देखेका एक वृद्ध नागरिकले सार्वजनिक कार्यक्रममै भनेका थिए– थुइक्क नेता हो, कति खान्छौ मान्छेको बलि ? शान्तिसँग बाँच्न पनि पाइएन । यो नागरिक आक्रोश आततायी सिंगो जनयुद्धको जमात शान्तिमार्ग हुँदै सत्तामा पुगेपछिको घटना थियो । यो आतंकमा अरू घिउ थपिन थालेका छन् ।
विहारमा नीतीशकुमारको उदय हुनुपूर्व यस्तै थियो । धम्क्याउने, अपहरण गर्ने अनि मार्ने । नेपालदेखि विहारसम्म यस्तै थियो । नीतीशकुमारले इन्काउण्टरको यस्तो चक्कर चलाए, मानवाधिकारवादीको आँखामा भोगेटेको चस्मा लगाइदिएर गुण्डाराजको अन्त गरिदिए । विदेशीलाई यति धेरै सुविधा दिए कि चीनका कतिपय मल्टिनेसनल कम्पनीसमेत विहारमा उद्योग खोल्न पुगेका छन् । लालुकालको कालो विहार परिवर्तन भएर नितिसकालको उज्यालो विहार बनिसक्यो । अपराधको मात्रा स्वात्तै घटेको छ ।
केही वर्षअघि एक निजी विद्यालयक प्रिन्सिपलकी छोरी दुई करोड फिरौती तिरेर छुटाइयो । एक व्यापारीले अपहरणमुक्त हुन दुई करोड बुझाए । एउटा अस्पतालका डाक्टरले अपहरणमा परेका छोरा चार करोड तिरेर छुटाएको समाचार अहिले पनि नेपाल प्रहरीको रेकर्डमा पढ्न सकिन्छ । अपहरणको डरलाग्दो काण्ड एक प्रशिद्ध डाक्टरीकी छोरीमाथि पनि भएको थियो । पछिल्लोपटक एक मारवाडी चार करोड तिरेर छुटेका छन् । वीरगञ्जमा औषधि व्यापारी आठ लाख बुझाएर पनि मारिए ।
जमिम शाह, फैजान अहमद र अरूणको बीचबजारमा हत्या भएपछि विहारको आतंकवादी रोग नेपालमा फैलिएकोमा शंका भएन । यो अपराधको महामारी देशैभरि फैलिएको छ । कि नातामा पर्नुप¥यो कि ५ देखि १० करोड बुझाउन सक्नुप¥यो, कि सांसददेखि संवैधानिक पदमा नियुक्ति पाइन्छ कि अत्याचार सहनुको बिकल्प रहेन ।
राजनीतिक परिवर्तन त भयो, राजनीतिमा शुद्धीकरण र प्रशासनमा निर्मलीकरण हुन सकेन । राजनीति र प्रशासन अपराधीको अड्डा बनेपछि संसद, सरकार र नीतिनिर्माण सबै अपवित्र हुनु स्वाभाविक हो । मूल फोहर भएपछि बहाव फोहर नै हुन्छ । नेपालमा बढेको यो राजनीतिको अपराधीकरण र अपराधीको प्रशासनीकरण सुनपानी छर्केर वा गौदान गरेर चोखिने अवस्था छैन ।
जब कानुन व्यवस्थाका टाउकोदेखि पुच्छरसम्म भ्रष्टाचारीकरण, नैतिकहीनताकरण, जवाफहीनताकरण हुन्छ तब अपराधीहरूले राजनीतिका माध्यमबाट सिंगो कानुनी व्यवस्था नष्ट पारिदिन्छन् । वर्तमान नेपालको अवस्था त्यही छ र असहाय नागरिक अपराधीकरणको धुन्धुकारी परिणाम भोगिरहेका छन् । धर्मनिरपेक्षता, संघीयता र पद्धति परिवर्तन दुर्गन्धमय बनेको छ ।
हाम्रा राजनीतिक नेता र पार्टी डन पाल्ने संस्कार विकास गरिरहेका छन् । जनतालाई कम र डनलाई बढी विश्वास गरेकै कारण यो पद्धतिमा गुण्डाराज चम्केको हो । पद, तक्मा, मानपदवीसमेत गुण्डा र भ्रष्टहरूले पाउन थालेपछि यो तोक र ठोकतन्त्र हो भन्न करै लाग्छ । डनको इतिवृत्तान्तका सम्बन्धमा अध्ययन गर्दा विश्वयुद्धपछि इटलीको सिसिलीबाट एउटा शरणार्थी परिवार अमेरिका पस्यो । अभिभावक थिए कन्र्योल । उपन्यासकार मारियो कुनोले डन कन्र्योलका बारेमा ‘गड फादर’ भन्ने उपन्यासमा लेखेका छन्– कन्र्योल विश्वकै पहिलो डन हुन् ।
कन्र्यौल शरणार्थी थिए र उनलाई सबैले हेपेपछि उनी बाहुबली बनेका रहेछन् । हेप्ने धनाढ्यहरूलाई ढुटो पार्छु भनेर कन्र्यौलले अभियान नै चलायो, प्रहरीको बन्दुकसमेत खोस्यो, लुटपाट मच्चायो । ग्याङ खडा ग¥यो, माफिया अपराधको साम्राज्य नै चलायो । डन बनेपछि कन्र्यौलले न्युयोर्क सहर नै कब्जा ग¥यो । यो देखेर अन्य डन समूहहरू पनि जन्मिन पुगे । ग्याङ फाइट पनि हुनथाल्यो । पहिले डन कन्र्यौलको जेठो छोरो मारियो, एकदिन डन कन्र्यौल इन्काउण्टरमा प¥यो र ऊ पनि मारियो । मारिँदा डन कन्र्यौलको मुहार ढलमा जोतिएको थियो ।
नेपालमा चरी, कुमार घैंटेजस्ता डनहरू इन्काउण्टरमा मारिए । पछिल्लो पटक नेकपाका कुमार पौडेललाई सर्लाहीको जंगलमा इन्काउन्टर गरिएपछि प्रहरी बदनाम हुनपुगेको छ । मानवाधिकार आयोगले इन्काउण्टर होइन भन्ने कुरो बाहिर ल्याएको छ । प्रहरी स्रोतका अनुसार नेपालमा २१ डन समूह कार्यरत छन् र तिनीहरू हरेक ठेक्कापट्टामा समेत लुट मच्चाइरहेका छन् । छोटे डन त कति छन् छन् । सरकार नै डन बनेर बिरोध गर्नेलाई अरिंगाल बनेर चिल्न थालेपछि अरू डनको के चर्चा गर्नुपर्ला र ?
डनको परिभाषा हेर्दा सिंगो नेकपाको सरकार नै डन हो कि भन्ने आशंका हुन्छ । कारण, सुन पक्राउ हुन्छ, पछि पित्तल भन्छन् । साढे ३३ किलो सुन काण्ड भयो, सनम शाक्यसहितको हत्याकाण्डसमेत भयो, न अपराधी पक्राउ परे न सुन नै पक्राउ प¥यो । गृहमन्त्री ३८ टन सुन एयरपोर्टबाट छिरेको बयान दिन्छन् । यसमा को को जिम्मेवार छन्, सरकार बोल्दैन । डनको अत्याचार त ७६१ सरकारमै व्याप्त छ । धनगडीमा डोजर चलाएर महिला, वृद्धमाथि डोजरले पेलेका दृश्यहरू यतिबेला टिभीमा देखाइएको छ । यो सरकारी डन आतंक होइन ?
नेकपाका दुई जना मन्त्री हरि पराजुली र शेरबहादुर तामाङ महिलामाथि दुव्र्यवहार गरेको विवादमा मुछिए र पदबाट हटाइए । पछिल्लो डरलाग्दो घटना हो– सभामुख कृष्णबहादुर महरालाई लागेको बलात्कार काण्ड । अदालतले हत्यारा भनेको व्यक्ति बालकृष्ण ढुंगेल जेल परे, सरकारले नै माफी दियो । सांसद रेशम चौधरी ज्यानमारा मुद्दामा जेलमा छन् । रौतहटका सांसद मोहम्मद अफताव आलम मान्छेलाई जिउँँदै इटाभट्टामा पोलेको आरोपमा पक्राउ परेका छन् ।
अर्का सांसद पार्वत गुरूङलाई पुर्जी काटिएको छ । भ्रष्टाचार र अपहरणमा मुछिएकाहरू अदालतबाट छुट्दा बाजागाजा, फूलमाला, जयजयकार गरेर स्वागत गर्ने यो मुलुकमा जनयुद्धका फौजदारी अभियोग लागेकाहरूको सत्य निरूपण र मेलमिलाप हुन नसक्नुले पीडितको ६३ हजार उजुरी अलपत्र परे पनि जिम्मेवार कसैलाई टाउको दुःखेको देखिँदैन ।
यति नै बेला अदालतका न्यायाधीशहरू गलत फैसला र आदेश दिएकोमा हटाइएका छन् वा राजीनामा दिने क्रम सुरू भएको छ । राजनीतिमा अपराधीकरण र अपराधीको राजनीतीकरण, यही महामारीले उत्तम व्यवस्था मानिएको लोकतान्त्रिक पद्धतिलाई क्यान्सर बनाइरहेको छ । क्यान्सर क्रोनिक भयो भने अन्त्यमात्र बाँकी रहन्छ । यसकारण मलाई रोमन मार्क एन्टोनीको सम्झना आइरहेको छ ।
इतिहासमा मार्क एन्टोनी भन्ने एउटा जण्डो व्यक्तिको कुरा छ । मार्क एन्टोनी दुश्मनसँग लड्दै गर्दा दुश्मनसँग एउटा सिपाही डरायो वा दया लागेर मार्न चाहेन । यो देखेका मार्क एन्टोनीले लाटोकोसेरो सिपाहीको काम छैन देशका लागि भनेर म्यानबाट तरवार झिक्यो र आफ्नो सिपाहीको टाउको आफैँले छपक्कै पारिदियो ।
यो घटना देखेका रोमन सिपाहीहरू यसरी जागे कि एन्टोनीले युद्ध घोषणा गरे कि उनकै जीत हुनथाल्यो । मानव हत्यारा बन्नु अघि चुनाव जितेर शासक बनेका हिटलर भन्थे– मलाई भीड चाहिँदैन, भीडलाई नियन्त्रण गर्ने सुरो सिपाही चाहिन्छ ।
नेपालमा निरंकूशतासँग लडेर नयाँ नेपाल बनाउनेहरू २०६३ सालमा जनआन्दोलन जिते र समानता र न्यायपूर्ण समाजका दुश्मनहरूसँग लड्न सिंहदरबार पुगेका हुन् । यी लोकतन्त्रका लडाकाहरूले लोकतन्त्रमा यतिधेरै मानवीय दुश्मन उत्पन्न गराइदिए कि त्यो फोहरको डंगुरमा यी लडाकाहरू आफैँ लुटपुटिएका छन्, आफैँ फोहर बनेका छन् । यसकारण, वर्तमान नेपालमा राजनीति र प्रशासन आसुरी बनेको छ, पद्धतिमा भयानक मत्स्यन्याय पन्पिएको छ ।
यो पशु राजको अन्त र मानवीय शासनको सुरुआत गर्न एउटा एन्टोनी चाहियो चाहियो । देशघातकहरूको पञ्जाबाट स्वतन्त्र देशलाई सही अर्थमा स्वाधीन बनाउन एउटा ज्यानमारा बन्नुअघिको लोकप्रिय हिटलर चाहिएको छ । एन्टोनीजस्ता देशभक्त शूरवीर चाहिएको छ । अर्थात जनताको कुरा सुन्ने, जनताको अपेक्षा पूरा गर्ने बेनिभोलेन्ट शासक नेपालको आवश्यकता हो । लोकतन्त्रको नाममा लोकमारा, ज्यानमारा, हिंस्रक शासकहरूबाट देश सकसमा छ । सकसबाट मुक्तिको आस, जनता खोजिरहेका छन् । नामले होइन, बुद्धि र जनविश्वासले सुन्दर देशको मेयर चाहिएको छ ।
जनआन्दोलनको १९ दिन जनताले जागृत भएर साथ दिएका हुन्, ती नेताहरूले आफैँलाई ढाँटेर शक्तिशाली बने, सत्ता र सम्पत्ति कमाए, जनविश्वास गुमाए । जनतालाई साथ लिएर हिँड्नसक्ने जागृतिको ज्वालामुखी, ज्वारभाटा उत्पन्न गराउन सक्ने एकजना एन्टोनी नजन्मने हो भने नेपाल यस्तै हरिहल्लैबाट सकिने दिन टाढा छैन ।
जनता भनेका शोषण गर्नै पर्ने, शोषित हुनैपर्ने जात होइन । जनताको रगत पसिना राजनीतिको सोमरस हुनसक्दैन । नेतृत्व जनताको मालिक होइन । यसकारण लोकतन्त्र दाउद शैलीको राजनीतिक अपराधीकरणको व्यापार गर्ने सुपर मार्केट बनेको छ, यो राष्ट्रिय रोग हो । यो ब्याधि निको पार्न एउटा जनभक्त, राष्ट्रभक्त एन्टोनी जन्मनै पर्छ । अपराधीकरणको अतिले राष्ट्रियता र राष्ट्रिय जीवनलाई ऐँजेरुबाट बचाउनै पर्छ ।
जनता मुर्ख छैनन्, चेत छ, जानकार पनि छन् तर संगठित छैनन्, सहनशीलताले तिनको आत्मालाई थिचिरहेको छ । सहनुको अर्को नाम नेपाली चरित्र हो । आफूले चिनेको, बनाएको शासकलाई यो के गरेको ? यही हो लोकतन्त्र भनेर सोध्नुपर्ने हो । तर, जनता नबोल्दा नेतृत्वले लोकतन्त्रलाई झिल्के मिल्के साइनबोर्डमा सिमित गराइदिएका छन् ।
सनयात सेनले चीनमा पाओ पत्रिकाका माध्यमबाट राष्ट्रवादको चेतना फैलाएको इतिहास छ । आज पार्टीका मुखपत्र बाहेकका अधिकांश पत्रपत्रिकाहरू अपराधीकरण, माफियाकरण, भ्रष्टीकरणको भण्डाफोर गर्दै राष्ट्रवाद, शान्तिसुरक्षा, विदेशी हस्तक्षेप र सीमा अतिक्रमणका सम्बन्धमा आवाज बुलन्द गरिरहेका छन् तर जननेताको पगरी गुथेको नेतृŒवपंक्ति परिवार र पैसावादले आँखामा पट्टी बाँधेर, कानमा कपास कोचेर, नाक–मुखमा मास्क लगाएर स्वार्थ लुटिरहेको छ । जनता र देशप्रति जिम्मेवार बन्नुपर्ने राजनीति अपराधीकरणको पीपपोखरी बनिसक्यो ।
सबैले बुझ्नै पर्ने सत्य के हो भने पार्थिव भावनाको मलामी गएर चिहानमा मात्र पुगिन्छ । यसैगरी जनतालाई सधैँ मूर्ख बनाउन सकिन्छ भन्ने दरिद्र मानसिकताको टुकुचा नेतृŒवपंक्तिले पार नगर्ने हो भने यस्तो डन प्रवृत्तिको नेतृŒवले ढिलोचाँडो डन कन्र्यौलकै नियति भोग्नुपर्ने छ । जनताको आक्रोश बिस्तारै बढ्न थालेको छ । असंगठित जनतालाई संगठित गर्न कुनै सनयात सेन अथवा मार्क एन्टोनी निस्क्यो भने त्यो दिन महाभूकम्पभन्दा कम हुनेछैन । प्रतीक्षा जनता उठ्ने दिनको छ । प्रतीक्षा जनतालाई उठाउने नेतृŒवको छ । जनता उठ्छ, जरुर उठ्छ । छिटै उठ्छ ।



















