सोकी । रूस र टर्कीले सिरियामा पछिल्ला केही हप्तायता भएका द्वन्द्वलाई रोक्ने सम्बन्धमा बुधबार एक सहमति गरेका छन् । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले टर्कीका समकक्षी रेसेप तायिप एर्दोगानसँग रुसको सोकीमा भएको छलफलपछि उक्त सहमति भएको हो । सिरियाली कुर्द फौजलाई टर्कीसँग जोडिएको सिरियाको सीमावर्ती क्षेत्रबाट टाढा राख्नेगरी टर्की र रुसले नयाँ सहमति गरेका हुन् । सहमतिलाई दुवै मुलुकले ‘ऐतिहासिक’ भनेका छन् ।
क्रेमलिनले आफ्नो वेबसाइटमा एक सूचना जारी गर्दै भनेको छ, ‘सहमति बुधबार (अक्टोबर २३) दिउसो १२ बजेदेखि नै सहमति कार्यान्वयनमा आउनेछ । सहमतिअनुसार मस्को र अंकाराले रूसी तथा सिरियाली सैन्य बललाई टर्कीले कुर्दलाई निशाना गराइ हालै गरिएका आक्रमणस्थल क्षेत्रमा तैनाथ गर्नेछन् भने टर्कीले सिरियाली कुर्दलक्षित कारबाही रोक्नेछ । यस्तै सिरियाली कुर्दलाई सिरिया–टर्कीको सीमाना क्षेत्रबाट ३० किलोमिटर टाढा राखिने छ । उनीहरूलाई यसका लागि १५० घण्टा समय दिइनेछ ।’
टर्कीले कुर्द लडाकुलाई भगाउन तथा सीमावर्ती भेगमा एउटा सुरक्षित क्षेत्र बनाउन भन्दै उत्तरी सिरियामा आक्रमण गरेको थियो । रुसले सिरियाका राष्ट्रपति बशर अल असदलाई सहयोग पु¥याउँदै आएको छ । उसले सिरियामा भएको विदेशी हस्तक्षेपप्रति चासो प्रकट गरेको थियो । झण्डै दुई हप्ताअघि अमेरिकाले आकस्मिक र अनपेक्षित निर्णय गर्दै आफ्नो सेना उत्तरी सिरियाबाट फिर्ता गरेपछि उत्पन्न परिस्थितिमा टर्की र रुसबीच यो सहमति भएको हो । विश्लेषकले यसबाट उक्त क्षेत्रमा टर्की र रुसको प्रभावलाई बलियो बनाउने आकलन गरेका छन् । उक्त सहमति घोषणा भएको केही समयपछि टर्कीले सिरियामा पुनः कारबाही गर्नु नपर्ने बताएको छ । यसअघि टर्कीले कुर्द फौजलाई बाहिर जान दिन भन्दै केही दिनका लागि युद्धविराम गरेको थियो ।
टर्कीले सिरियाका दुई सहरबीच १२० किलोमिटर लामो भाग आफ्नो नियन्त्रणमा लिएको छ । त्यसलाई ‘सुरक्षित क्षेत्र’ बनाएर हाल टर्कीमा रहेका झण्डै २० लाख शरणार्थीलाई बसाउने उसको योजना छ यद्यपि नयाँ सहमतिबारे कुर्द पक्षले कुनै प्रतिक्रिया जनाइसकेको छैन तर सिरियाका राष्ट्रपति असदले रुसी राष्ट्रपति पुटिनलाई धन्यवाद दिएको क्रेमिलनले जनाएको छ । रूसका अनुसार असदले भने रुसले गरेको सहमतिप्रति पूर्णसहयोग गर्ने प्रतिक्रिया दिइसकेका छन् ।



















