गरिबी चिन्ने दम्पती जसले नोबेल जिते

वाशिङ्टन  । बितेका दुई दशकमा विश्वका सबैभन्दा प्रतिष्ठित अर्थशास्त्री दम्पतीले गरिबहरूको जीवन बुझ्ने प्रयास गरे । उनीहरूको ‘जटिलता र सहजता’ भित्र छिरेर ती दम्पतीले गरिबी केलाए । गरिबीको अपर्याप्त बुझाइले कसरी त्यसविरुद्धको लडाइँलाई असर पा¥यो भनेर उनीहरूले बुझे । गत सोमबार ५८ वर्षीय अभिजित बनर्जी र ४६ वर्षीया एस्टेर डुफ्लोले अर्थशास्त्रतर्फ नोबेल पुरस्कार पाए ।

अर्थशास्त्री मिखाइल क्रेमरसँगै ‘विश्वव्यापी गरिबी निवारणसम्बन्धी प्रयोगात्मक शैली’ का लागि उनीहरूले उक्त पुरस्कार पाएका हुन् । विश्व बैंकका अनुसार ७० करोड मानिसहरू चरम गरिबीमा बाँचिरहेका छन् । बनर्जी र डुफ्लो दुवैजना म्यासचूसिट्स इन्ष्टिच्यूट अफ टेक्नोलजी (एमआईटी) का प्राध्यापक हुन् । श्रीमती डुफ्लो अझ अर्थशास्त्रमा नोबेल पुरस्कार पाउने दोस्रो महिला हुन् । भारतमा जन्मिएका बनर्जी फ्रान्समा जन्मिएकी डुफ्लो पूरै भिन्न संसारमा हुर्किए । मदर टेरेसासम्बन्धी चित्रकथा पढ्दा एस्टेर डुफ्लो ६ वर्षकी थिइन् । त्यो पुस्तकमा कोलकातालाई एउटा निकै भिडभाडयुक्त सहरको रूपमा चित्रित गरिएको थियो । त्यहाँ प्रत्येक मानिस १० वर्ग फिटको क्षेत्रमा बस्ने त्यसमा लेखिएको थियो । २४ वर्षको उमेरमा एमआईटीको विद्यार्थीका रूपमा कोलकाता पुग्दा उनले त्यहाँ रूख र खाली सडकहरू देखिन् । उनले उक्त कमिकमा देखाइएजस्तो उराठलाग्दो दृश्य निकै कममात्र देखिन् ।

६ वर्षको उमेरमा अभिजित बनर्जीले गरिब मानिसहरू ठ्याक्कै कहाँ बस्छन् भन्ने थाहा पाए, कोलकातामा रहेको उनको घर पछाडिको झुपडीमा । उनलाई त्यहाँका बालबालिकासँग खेल्न निकै समय भएझैँ लाग्थ्यो । उनलाई ती बालबालिकाले आफूलाई सबैजसो खेलमा हराउन सक्छन् भन्ने सोचेरै ईष्र्या पनि लाग्थ्यो । ‘गरिबहरू घटाउने आवश्यकताको कुरा हामीकहाँ त्यति बेलादेखि छ जहिलेदेखि गरिबी हामीसँग थियो । सामाजिक सिद्धान्त र त्यसबारे लेखिएका अध्ययन र लेखहरूमा गरिबहरू अल्छी वा उद्यमी, सिर्जनशील वा चोर, रिसाहा वा निष्क्रिय, केही गर्न असक्षम वा आत्मनिर्भरको रूपमा देखिन्छन्,’ बनर्जी र डुफ्लोले गरिब अर्थशास्त्रबारे आफ्नो महŒवपूर्ण अध्ययनमा लेखेका छन् । त्यसमा गरिबीको वास्तविक प्रकृति र गरिबहरूले आफूले पाउने सहायतालाई कसरी हेर्छन् भनेर खोजिएको छ । ‘यो कुनै अचम्मको कुरा होइन कि गरिबहरूको यो धारणाको प्रतिनिधित्व सामान्य सूत्रमा खोजिएको हुन्छ, ‘गरिबहरूका लागि खुला बजार, मानव अधिकारलाई प्राथमिकता दिनु, सुरुमा द्वन्द्वसँग संघर्ष गर्नु, निकै गरिबहरूलाई अझ धेरै पैसा दिनु, विदेशी सहायताले विकासलाई मार्छ जस्ता कुराहरू छन् ।’

यी दम्पतीको भनाइमा समस्या भनेको गरिबहरू प्रशंसित हुनु वा उनीहरूले सान्त्वना पाउनु हो । उनीहरू ज्ञानवान् छन् भन्ने सोच्दा पनि सोचिदैन र उनीहरूको आर्थिक अस्तित्वबारे केही रोचक कुरा छैन भन्ने ठानिन्छ । ‘दुर्भाग्यवश, यिनै गलत बुझाइले मुख्य रूपमा विश्वव्यापी गरिबीविरुद्धको लडाइँलाई कमजोर पारेको छ ।’ सामान्य समस्यासँग सामान्य समाधान हुन्छ । गरिबीविरुद्धको नीति बनाउने क्षेत्र तत्काल कायापलट हुने जसरी उपायका चाङले भरिएको छ तर ती उपायहरू कायापलट गर्न निकै अपर्याप्त छन् भन्ने प्रमाणित भइसकेको छ । आवश्यकता के थियो भने उनीहरूलाई हेर्नुपथ्र्याे, गरिबहरूलाई कार्टुनका पात्रमा लैजानुभन्दा उनीहरूको जीवनलाई उनीहरूकै जटिलता र सहजताका दृष्टिले वास्तविक रूपमा बुझ्नुपथ्र्याे ।’

त्यही गरिबी अध्ययनका लागि उनीहरूले एमआईटीमा सन् २००३ मा ‘अब्दुल लतिफ जमिल पोभर्टी एक्सन ल्याब’ स्थापना गरे । सन् २०१५ मा विवाह गर्नुभन्दा अघि धेरै वर्ष उनीहरूले सँगै काम गरे । उनीहरूले भारत र अफ्रिकामा विभिन्न तरिकाले गरिबीलाई जाँच्ने प्रयास गरे । उनीहरूले गरिबहरूले सफलता पाउन नसकेको कुरा के हो र उनीहरूलाई के कारण कहाँ सहायता चाहिएको छ भन्ने ठम्याउने प्रयास गरे । उनीहरू जुनसुकै देशमा ‘७० देखि ८० वटा विभिन्न प्रयोगहरू’मा संलग्न भए ।

उनीहरूले गरिबहरूले के किन्छन्, आफ्ना छोराछोरीको स्वास्थ्यबारे उनीहरू के गर्छन्, उनीहरू कति सन्तान चाहन्छन्, उनीहरूका सन्तान के कारण विद्यालय जान्छन् र पनि खासै धेरै सिक्दैनन्, लघुवित्त के कारण उपयोगी छ जस्ता विभिन्न पक्ष हेरे । गरिबहरूले के राम्ररी वा पर्याप्त खाइरहेका छन् भन्ने पनि उनीहरूको अध्ययनको पाटो थियो । गरिबहरूको खाने बानीसम्बन्धी उनीहरूका केही काम साँच्चै रोचक थिए । गरिबहरूले सक्ने जति खान्छन् भन्ने अनुमानलाई उनीहरूले प्रश्न गरे । पोषणको कुरा विकासोन्मुख देशहरूमा अझै रहस्यमय छ । यी दम्पती के ठान्छन् भने जीवनलाई कम दिक्कलाग्दो बनाउने सामानहरू सधैँ गरिबहरूको प्राथमिकतामा पर्छन् । उदाहरणका लागि टेलिभिजन वा केही मिठो र विशेष खानेकुरा । त्यसैले आफ्ना अध्ययनहरूका आधारमा उनीहरू सरकारी र अन्तर्राष्ट्रिय निकायहरूले आफ्ना खाद्यनीतिबारे पुनर्विचार गर्नुपर्ने ठान्छन् । खाद्य सुरक्षासम्बन्धी निकायहरूले जसरी खाद्य सामग्री वितरण गर्छन् त्यसले गरिबहरूलाई राम्ररी खान सघाइरहेको हुँदैन । उनीहरूको समस्या क्यालरी नभई अन्य पोषणयुक्त खानेकुरा हो । उनीहरूले भारतमा गरेको अध्ययनले पैसा धेरै दिँदा वा उनीहरूको आम्दानी बढाउँदामात्र खानेबानीमा सुधार आउँदैन । खानासँगै उनीहरूमाथि अन्य आवश्यकताको दबाव हुन्छ । यी दम्पती के कुरामा विश्वास गर्छन् भने गरिबी उन्मूलन गर्ने कुनै जादुको छडी हुँदैन तर कुनै सानो सूचनाले पनि ठूलो प्रभाव पार्न सक्छ, हामीसँग भएकै ज्ञानका भरमा सही कुरा गर्न सक्नुको अर्थ उत्तिकै छ र जीवन सहयोगी गराउने नयाँनयाँ उपायको उत्तिकै अर्थ छ । गरिब देशहरू असफल हुनु तिनको दुर्भाग्यपूर्ण इतिहासका कारण होइन भन्ने उनीहरूको मान्यता छ । त्यसो भए केसँग संघर्ष गर्नुपर्छ त ? उनीहरू को उत्तर स्पष्ट छ । ‘अज्ञानता, विचार र निष्क्रियतासँग ।’