युद्धको तनाव: इरानले फिफा विश्वकप फुटबल प्रतियोगिता-२०२६ मा नखेल्ने।

एजेन्सी (तेहरान):= इरानले फिफा विश्वकप फुटबल प्रतियोगिता २०२६ मा सहभागिता नजनाउने घोषणा गरेको छ। खेलकुदमन्त्री अहमद यामलीलेमध्यपूर्वी एसियाका सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिँदै आगामी विश्वकपमा आफ्नो राष्ट्रले भाग नलिने जानकारी गराउनुभएको हो । अमेरिका-इजरायल र इरानबीच युद्धको प्रभावले विश्वकपमा आफ्ना खेलाडी असुरक्षित भएको जनाउँदै सहभागी नहुने निर्णय लिइएको उहाँले बताउनुभयो ।

अमेरिका र इजरायलको थप आक्रमणमा गतसाता इरानले आफ्नो सर्वोच्च नेता आयातोल्लाह अली खामेनीलाई गुमाएको थियो । खामेनीको मृत्युपछि विश्वकपमा सहभागिताबारे इरानमा बहस सुरु भएको थियो । ‘भ्रष्ट शासकहरूले हाम्रा नेताको हत्या गरेको पक्षलाई ध्यानमा राख्दै हामी कुनै पनि परस्थितिमा विश्वकपमा भाग लिन सक्दैनौं’, यामलीले इरानी सरकारी मिडियालाई भन्नुभयो ।

इरानको पछिल्लो निर्णयका सम्बन्धमा फिफाले प्रतिक्रिया दिएको छैन । आन्तरिक रूपमा इरानको स्थानमा अर्को टोली समावेश गर्ने प्रक्रिया अगाडि बढाइएको छ । अमेरिका, मेक्सिको र क्यानडाले संयुक्तरूपमा आयोजना गर्ने विश्वकपमा पहिलोपटक सर्वाधिक ४८ टोलीले भाग लिँदैछन् ।नियमानुसार फिफासँग अर्को टोलीलाई प्रतिस्थापनका रूपमा सहभागी गराउने अधिकार हुन्छ  ।

तर, छनोट कसरी गर्ने भन्ने स्पष्ट प्रक्रिया छैन । अन्तिम समयमा विश्वकपमा भाग नलिँदा आर्थिक कारबाही गर्ने नियम छ । इरानले विश्वकप नखेल्ने भएपछि फिफाले जरीवाना लगाउनेछ । फिफाको आर्थिक नियमानुसार प्रतियोगिता सुरु हुनु एक महिनाअघि नखेल्ने घोषणा गर्दा कम्तीमा तीन लाख २० हजार अमेरिकी डलर जरीवाना हुन्छ ।

इरानको समूहमा बेल्जियम, इजिप्ट तथा न्यूजिल्याण्ड छन् । इरानले आफ्ना सबै खेल अमेरिकामै खेल्ने तालिका सार्वजनिकसमेत भइसकेको छ । आगामी विश्वकप १ जुनदेखि सुरु हुँदैछ । खेल तालिका अनुसार इरानले १५ जुनमा न्यूजिल्याण्ड, २१ जुनमा बेल्जियम र २६ जुनमा इजिप्टसँग खेल्नेछ ।

खेल्न त आऊ, तर सुरक्षाको जिम्मा छैन : ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी जुन महिनामा हुने सन् २०२६ को विश्वकप फुटबलमा इरानी टोलीलाई स्वागत छ भन्दै उनीहरूको सुरक्षा र जीवनको जोखिमका कारण आउनु उपयुक्त नहुने बताउनुभएको छ । ट्रम्पले टुथ सोसलमार्फत इरानी टोलीका लागि सुरक्षा खतरा हुनसक्ने संकेत गर्दै यस्तो टिप्पणी गर्नुभएको हो । यो टिप्पणी इरानका खेलकुद मन्त्री अहमद दुनियामालीले अमेरिकामा हुनलागेको विश्वकपमा आफ्नो देश सहभागी नहुने घोषणा गरेपछि आएको हो । एजेन्सी