एजेन्सी := अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई हर्मुज जलडमरु पुनः पूर्ण रूपमा खोल्न ४८ घण्टाको नयाँ समयसीमा दिएका छन् । विश्वव्यापी तेल आपूर्तिका लागि महत्त्वपूर्ण मानिने उक्त जलमार्ग इरानले बन्द गरेपछि ट्रम्पको यस्तो कडा टिप्पणी आएको हो।
विश्वव्यापी तेल आपूर्तिका लागि लाइफलाइन मानिने होर्मुज जलमार्गमा इरानले सिर्जना गरेको अवरोधप्रति कडा रूपमा प्रस्तुत हुँदै ट्रम्पले लेखेका छन्, “यदि इरानले अबको ४८ घण्टाभित्र होर्मुज जलमार्गलाई पूर्ण रूपमा र बिना कुनै अवरोध खुला गरेन भने, संयुक्त राज्य अमेरिकाले इरानका विभिन्न पावर प्लान्टहरूमा प्रहार गर्नेछ र तिनलाई नामेट पारिदिनेछ।”
उनले २१ मार्च राति २३:४४ मा सन्देश पोस्ट गरेका थिए, जसअनुसार इरानले २३ मार्चको राति २३:४४ सम्म, अर्थात् तेहरान समयअनुसार २४ मार्चको बिहान ०३:१४ भित्र जलमार्ग खोल्नुपर्नेछ । यो चेतावनीसँगै अमेरिका–इरान तनाव अझ तीव्र बन्ने संकेत देखिएको छ ।
इरानमा नयाँ वर्षको उत्सव चलिरहँदा इजरायल र अमेरिकाले तेहरानमा आक्रमण जारी राखेका छन्। नयाँ वर्षको माहोलबारे बीबीसीसँग कुरा गर्दै एक इरानी महिलाले भनिन्, “यो वर्ष नयाँ वर्ष जस्तो लागेको छैन, सर्वत्र निराशा र सन्नाटा छ।”
यस्तो छ ट्रम्पको चेतावनी पोस्ट
यदि इरानले यसै क्षणदेखि ४८ घण्टाभित्र, कुनै पनि धम्की बिना, होर्मुज जलडमरू मार्गलाई पूर्ण रूपमा नखोलेमा, संयुक्त राज्य अमेरिका इरानका विभिन्न विद्युत् उत्पादन केन्द्रहरूमा आक्रमण गरी तिनीहरूलाई ध्वस्त पार्नेछ, सबैभन्दा ठूलो केन्द्रबाट सुरु गर्दै ।


















