केकीलाई बल्ल राहत

काठमाडौं । नायिका केकी अधिकारीले अभिनय गरेको चलचित्रले नेपाली बक्स अफिसमा राम्रो व्यापार गर्न सकेका थिएनन् । एक दशक लामो चलचित्रको यात्रामा बल्ला राहत मिलेको महसुस गरेकी छन् । उनले काम गरेको चलचित्रहरू एकपछि अर्को गर्दै लगातार फ्लप हुँदा केकी निराश थिइन् । अहिले उनी अभिनित चलचित्र ‘छ माया छपक्कै’ले बक्स अफिसमा कमाल गरिरहेको छ । त्यसैले उनलाई ठूलो राहत मिलेको छ ।

केकीले ‘छ माया छपक्कै’सँग हालसम्म २५ वटा चलचित्रमा काम गरिसकेकी छन् । उनका २४ चलचित्रले सोचेअनुरूप व्यापार गर्न सकेनन् त्यसैले पनि उनका लागि चलचित्रक्षेत्र नफापे जस्तै भइसकेको थियो । ‘छ माया छपक्कै’मा अभिनेता दीपकराज गिरीको विपरीतमा काम गरेकी केकी चलचित्रको मुख्य नायिका हुन् । 

अभिनयमात्र गर्दा चलचित्र क्षेत्रमा लामो रेसको घोडा हुन सकिँदैन भनेर नायिकाहरू निर्मात्री पनि बन्ने गरेका छन् । त्यसै अनुरूप पछिल्लो समय नायिका केकी निर्मात्री पनि भइसकेकी छन् । उनले चलचित्र ‘कोहलपुर एक्स्प्रेस’मा लगानी गरिन्, तर चलचित्रले राम्रो व्यापार गर्न सकेन, चलचित्रको कथामा पनि चोरिको आरोप लाग्यो । केकी सफल निर्मात्री बन्न सकिनन् ।

लगातार २४ चलचित्र असफल हुँदा पनि केकी चलचित्र क्षेत्रमा टिकेकी छन् । त्यसैले पनि उनले आफूलाई लक्की मान्छिन् । पछिल्ले समय दीपकराज र दीपाश्री निरौलाको टिमको चलचित्र एकपछि अर्को सफल भएको देख्दा उनीहरूको टिममा काम गर्न जुनसुकै कलाकार लालाहित हुन्छन् । यसअघि उक्त टिमसँग काम गरेका नायिकाहरू पनि सफल मानिएका छन् । 

यसैक्रममा केकीलाई पनि अब चलचित्रमा काम गर्न थप अफर आउने सम्भावना बढेको छ । केकीले आफ्नो आगामी चलचित्र बारे भने बोलेकी छैनिन् ।