लोकतन्त्रविरुद्ध कुनै सम्झौता हुँदैन : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रेस स्वतन्त्रताको रक्षा र संरक्षणका लागि कुनै सम्झौता नगरिने बताएका छन् । सरकारले प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गर्न खोजेको आरोप लगाउँदै उनले लोकतन्त्रको मेरुदण्ड नै प्रेस स्वतन्त्रता भएकाले यसको लोकतन्त्रविरुद्ध कांग्रेसले कुनै सम्झौता नगर्ने बताए । 

नेपाल राष्ट्रिय मगर संघ प्रदेश ३ समितिले सोमबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले रेडियो नेपालको दिपायल प्रशारण केन्द्रबाट निकालिएका तीनजना पत्रकारलाई तत्काल पुनर्वहाली गर्नसमेत माग गरे । फरक प्रसंगमा सभापति देउवाले नेपालका आदिवासी÷जनजातिमध्ये मगर समुदायको जनसंख्या सबैभन्दा बढी भएकाले सोहीअनुसार कांग्रेसले प्राथमिकतामा राखेको बताए ।

कार्यक्रममा उपसभापति विमलेन्द्र निधिले सत्तारूढ नेपाल कम्यनिष्ट पार्टी (नेकपा) को निर्देशनमा आफ्नो पार्टीमाथि एकपछि अर्को आक्रमण भइरहेको आरोप लगाए । उनले बाँके र तनहुँमा भएका घटनामा संलग्नलाई कारबाही नगरे कांग्रेस चुप लागेर नबस्ने चेतावनी दिए । संविधानले अंगीकार गरेका बहुलवाद, बहुदलीय लोकतन्त्र लगायतका मूलभूत व्यवस्थामाथि सरकारबाटै खतरा देखिएको उपसभापति निधिको आरोप थियो । 

महामन्त्री डा. शशांक कोइरालाले ठूलो संघर्ष गरेर ल्याएको संविधानलाई कम्युनिष्ट सरकारले प्रभावकारी कार्यान्वयन गर्न नसकेको आरोप लगाए । उनले संविधानअनुसार प्रदेश र स्थानीय तहलाई सरकारले बजेट उपलब्ध नगराएको भन्दै आलोचना गरे । कांग्रेस नेतत्वको सरकारले विगतमा शिक्षा, स्वास्थ्य, सञ्चार, पूर्वाधार विकास, यातायात, पर्यटनलगायत क्षेत्रमा महŒवपूर्ण काम गरेको दाबी गर्दै कोइरालाले आगामी दिनमा कृषिको व्यावसायीकरणमा लाग्नुपर्ने धारणा व्यक्त गरे ।