मुगु । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका कार्यकर्ताले मुगु जिल्लामा एक अधिकृतलाई कुटपिट गरी मोसो दलेका छन् । सोरु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पर्शुराम उपाध्यायलाई भ्रष्टाचारको आरोपमा सोमबार सिपगाउँमा कुटपिट गरेर मोसो दलको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ । प्रहरीका अनुसार उपाध्याय काम विशेषले सिपगाउँ गएको अवस्थामा एक्कासि विप्लव समूहका कार्यकर्ता आएर आक्रमण गरेका थिए ।
उपाध्यायलाई स्थानीय स्वास्थ्यचौकीमा सामान्य उपचारपछि जिल्ला अस्पताल गमगढी लगिएको छ । उनको टाउकोमा चोट लागेकोले थप उपचारमा लागि नेपालगञ्ज पठाइने भएको छ । प्रहरीका अनुसार सो घटनामा संलग्नहरू तत्कालै फरार भएका छन् । उनीहरूको खोजी भइरहेको जनाइएको छ ।




















