कागज मिलाउनेलाई होइन काम गर्नेलाई योजना दिनुस् – मन्त्री अर्याल

भक्तपुर । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले कागज मिलाउन जान्नेलाई नभएर सहि रूपमा जनताको पक्षमा काम गर्नेलाई विकास योजनाका काम दिन स्थानीय जनप्रतिनिधिहरूलाई आग्रह गरेकी छन् । राष्ट्रिय सहकारी महासंघ लि.ले मन्त्रालयको सहयोगमा ’प्रदेश तथा स्थानीय तहको समृद्धिका लागि सहकारी’ विषयमा आयोजना गरेको दुई दिने प्रादेशिक गोष्ठीलाई आज (आइतबार) भक्तपुरमा सम्बोधन गर्दै मन्त्री अर्यालले त्यस्तो बताइन् । 

मन्त्री अर्यालले खासगरी योगना बाँडफाँडका क्रममा हुनेगरेका बेथितिलाई इङ्गित गर्दै कागज मिलाएर व्यक्तिगत स्वार्थमा प्रयोग गर्नेलाई नभएर सहि रूपमा जनताको काममा योजना लगाउनेलाई काम दिन आग्रह गरिन् । ’योजना माग्न आउदाखेरि कागज बनाएर ल्याउनेलाई मात्र योजना नदिनुस । काम गर्नेले पाउदैन । कागज बनाउनेले पाउछ । कागज बनाउनेले पाउछ नीजि स्वार्थमा प्रयोग गर्छ । सबै जनतालाई समेटेर काम गर्नेले योजना पाउदै पाउदैन । किनकी उसको नेतासँग पहुँचै छैन । र उ दिनदिनै आउन पनि भ्याउदैन । अनि भेट्न पनि सक्दैन’, मन्त्री अर्यालले भनिन् ।

त्यसकारण अब योजना बाँडफाँड गर्दा यस्ता कुरालाई पनि ध्यान दिन मन्त्री अर्यालले आग्रह गरिन् । उनले भनिन्, ’कागज मिलाउनेलाई होइन काम गर्नेलाई योजनाका काम दिनुस । अब हामीले कागज मिलाउनेलाई होइन काम गर्नेलाई भन्ने हिसाबले केही न केही हिजो भन्दा फरक हुनेगरी हामी अगाडी बढौं ।’

जनताको अपेक्षा यही पनि यही भएको भन्दै उनले अहिले सरकार ठिक स्प्रिटमा अगाडी बढिरहेको बताइन् । तर अहिलेपनि निराशा बढाउने कोशिस गरिएपनि निराशा हुनपर्ने कारण भने नभएको उनको भनाइ थियो । 

नेपाली जनताले लामो संघर्षपश्चात् प्राप्त गरेको गणतन्त्र सबैले कुशलतापूर्वक काम गरेर जनताको मन जित्न सकियो भने सफल हुने भन्दै मन्त्री अर्यालले राम्रोढंगले काम गर्न नसकेमा, जनताको मन जित्न नसेकामा जनतामा आशंकारअविश्वास खडा हुने र गणतन्त्र पनि जोगाउन कठिन हुने बताइन् ।  

स्थानीय, प्रदेश तथा संघ सबैतिर कम्युनिष्टको बहुमत आउने कुरा कसैले कल्पना गरेको कुरा नरहेको अवस्थामा नेपालले सबैतिर बहुमत ल्याउदा अन्तराष्ट्रिय जगत पनि अचम्मित भएको भन्दै उनले दुनिया कसैले कल्पना नगरेको कुरा नेपालले व्यवहारबाट देखाइदिएको बताइन् ।