सङ्घीयता ‘ब्याक’ हुँदैन : मुख्यमन्त्री पौडेल

काभ्रेपलाञ्चोक । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले मुलुकको सङ्घीयता कुनै पनि हालतमा ‘ब्याक’ नहुने बताएका छन् । उनले जिल्ला समन्वय समितिद्वारा स्थानीय तहको क्षमता अभिवृद्धिका सन्दर्भमा धुलिखेलमा शनिबारदेखि आयोजित दुईदिने जिल्लास्तरीय कार्यशाला गोष्ठीलाई आज सम्बोधन गर्दै भने, “यो सङ्घीयता कुनै पनि हालतमा ब्याक हुँदैन, कसैले फेल गराउछु भनेर नसोचे हुन्छ, हामी सङ्घीयतालाई बलियो बनाउँदै संस्थागत बनाउन दृढताकासाथ लागेका छौँ ।” 

उनले सङ्घीयतालाई बलियो बनाइ संस्थागत बनाउने जिम्मेवारी निर्वा्चित जनप्रतिधिको रहेको बताए । मुख्यमन्त्री पौडेलले लामो संघर्षपछि प्राप्त उपलब्धिलाई रक्षा गर्नुपर्ने आजको आवश्यकता रहेकामा जोड दिए । “जसरी स्थानीय तह, प्रदेश सरकार र केन्द्रीय सरकारले केही गरेन भनेर गलत प्रचारप्रसार, ‘ब्याकबाइटिङ’ भएको छ, त्यसबाट जोगिन तपाई–हामी सतर्क रहनुपर्छ” उनले भने । जनप्रतिनिधिले गल्ती नगरेको अवस्थामा कोही कसैसँग नडराउनुपर्ने उनको धारणा थियो ।

उनले सरकारको विरोध गर्नेलाई सरकारले के ग¥यो नभई के गरेन भनेर प्रश्न गर्न आग्रह गरे । “हामी तीनै तहका सरकारसँग समन्वय गरी काम गर्दैछौँ, अबका वर्षमा विकास निर्माणका काम मात्रै देख्नुहुनेछ, सरकारले के ग¥यो हैन, के गरेन भने सोध्नुस्”, उनको तर्क थियो ।