कुवेतमा नेपाली युवतीलाई धेरै दु:ख: ठगीमा पर्नेदेखि जेलसम्मको यात्रा।

हेटौंडा:= सानू (नाम परिवर्तन), २६ वर्षीया नेपाली युवती, राम्रो भविष्यको आशामा माघ १५ गते कुवेत पुग्नुभयो । यसअघि ६ वर्ष साउदी अरबमा काम गरेर फर्किनुभएको सानू फेरि वैदेशिक रोजगारीका लागि जानुभएको थियो । आफन्तको घरमा बस्दै आउनु भएकी सानूले होटलमा समेत काम गरिरहनुभएको थियो ।

उहाँलाई एक महिलामार्फत फ्री भिसा र फ्री टिकटको प्रलोभन देखाएर घरायसी कामका लागि कुवेत पुर्‍याइएको थियो।कुवेत पुगेको दुई हप्तामै उनको जीवनले भयावह मोड लियो। घरमा काम गरिरहेकी सानूलाई साहुनीले मेडिकल परीक्षण गराउन पठाउनुभयो । परीक्षणका क्रममा उहाँको छातीमा दाग देखिएपछि उनलाई अस्पतालमा भर्ना गरियो। उपचारको क्रममा एक महिना बित्यो ।

अस्पतालमै रहेका बेला उहाँलाई गैरकानुनी रूपमा कुवेत आएको आरोपमा प्रहरीले पक्राउ गर्‍यो र सीधै जेल पठाइयो। जेल जानुअघि उहाँले आमालाई फोन गरेर आफ्नो अवस्था सुनाउँदै म जेल जाँदै छु भनेर खबर गर्नुभएको थियो । छोरीको पीडाले आत्तिएकी आमाले माइती नेपालसँग सहयोगको याचना गर्नुभयो ।

माइती नेपालको पहलमा मार्च १३ गते उद्धारका लागि निवेदन दर्ता गरियो। त्यसको करिब एक महिनापछि, अप्रिल १ मा सानूलाई जेलबाट उद्धार गरी नेपाल फर्काइएको थियो।जेलको अनुभव झनै भयावह थियो। सानूका अनुसार त्यहाँ ३१६ जना कैदी थिए, जसमा उनले बस्दासम्म ९ जनाको मृत्यु भएको थियो। मृत्यु हुनेमध्ये ४ जना महिला र ५ जना पुरुष थिए। ‘अस्पतालमा बसुन्जेल नै ९ जनाको ज्यान गयो,’ उहाँले सुनाउनुभयो, ‘त्यो दृश्य कहिल्यै बिर्सन सक्दिन।’

सानूको कथा वैदेशिक रोजगारीका नाममा हुने ठगी, जोखिम र मानव अधिकार उल्लंघनको ज्वलन्त उदाहरण बनेको छ। आकर्षक अवसरको नाममा हुने प्रलोभनले कति ठूलो पीडा निम्त्याउन सक्छ भन्ने यस घटनाले प्रस्ट पार्छ। नेपाल फर्किएकी सानू अहिले सुरक्षित हुनुहुन्छ । तर उहाँले भोगेको पीडा र देखेको मृत्युको श्रृंखला भने अझै उहाँको मानसपटलमा ताजा छ।