सरकारले पश्चिम एसिया तथा खाडी क्षेत्रका केही मुलुकमा पुनः श्रम स्वीकृति खुला गर्दै।

काठमाडौं := सरकारले पश्चिम एसिया तथा खाडी क्षेत्रका केही मुलुकमा पुनः श्रम स्वीकृति खुला गर्ने निर्णय गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको मन्त्रीस्तरीय बैठकले इजरायल, कुवेत, बहराइन र लेबनानमा पुनः श्रम स्वीकृति सुचारु गर्ने निर्णय गरेको हो । फेब्रुअरी २८ देखि सुरु भएको इजरायल-अमेरिका तथा इरानबीचको युद्धका कारण ती देशमा श्रम स्वीकृति सेवा अस्थायी रूपमा स्थगित गरिएको थियो ।

पछिल्लो समय सुरक्षा अवस्था क्रमशः सामान्य बन्दै गएको निष्कर्षसहित पुनः श्रम स्वीकृति खुला गरिएको मन्त्रालयले जनाएको छ । यसअघि २०८२ चैत ३ गते साउदी अरब, संयुक्त अरब इमिरेट्स, कतार, ओमान, यमन, जोर्डन र टर्कीमा पनि पुनः श्रम स्वीकृति खुला गरिएको थियो। खाडी क्षेत्रको सुरक्षा अवस्था बिग्रिएपछि सरकारले २०८२ फागुन १७ गतेदेखि पश्चिम एसिया तथा खाडीका विभिन्न मुलुकमा श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति दुवै सेवा स्थगित गरेको थियो ।

विशेषगरी इरानले खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य अड्डालाई लक्षित गर्दै ड्रोन तथा क्षेप्यास्त्र आक्रमण सुरु गरेपछि त्यहाँ रहेका नेपाली नागरिकको सुरक्षामा जोखिम बढेको ठहर गर्दै यस्तो निर्णय गरिएको थियो । परराष्ट्र मन्त्रालय अन्तर्गतको ‘इमर्जेन्सी रेस्पोन्स टिम’ (इआरटी) को सिफारिसका आधारमा श्रम मन्त्रालयले अवस्था मूल्यांकन गरी चरणबद्ध रूपमा पुनः श्रम स्वीकृति खुला गर्दै आएको जनाएको छ ।

यता, नयाँ श्रम स्वीकृतिको हकमा भने तत्काल निर्णय गरिएको छैन । मन्त्रालयका अनुसार सम्बन्धित देशहरूको अवस्था पूर्णरूपमा सामान्य भएपछि मात्रै नयाँ श्रम स्वीकृति खुला गर्ने विषयमा निर्णय लिइनेछ । इराकको हकमा भने नेपाल सरकारले वैदेशिक रोजगारीमा जान प्रतिबन्ध लगाएको देशको सूचीमा राखेकाले सरकारले तोकेको मापदण्ड र कागजात पूरा गर्ने श्रमिकहरूले मात्र पुनः श्रम स्वीकृति पाउने व्यवस्था कायम रहेको छ ।

खाडी क्षेत्रका देशहरूमा पुनः श्रम स्वीकृति खुला भए पनि नयाँ कामदार पठाउने विषय अझै अनिश्चित नै रहेको देखिन्छ। यसअघि ती देशस्थित नेपाली दूतावासहरूले तत्काल नयाँ श्रम स्वीकृति खुला गर्नु उपयुक्त नहुने सुझाव दिएका थिए ।