हाम्रा सपना पूरा हुन्छन्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चाँडै मुलुकले काँचुली फेर्ने बताएका छन् । आफूहरूले देखाएको सपना पनि पूरा हुने उनले बताए ।

संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा शुक्रबार सैनिक मञ्च, टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनतालाई धैर्य गर्न आग्रहसमेत गरे । ‘धैर्य गरौं, अढाई शताब्दीदेखि खजमजिएको थिति, अढाई वर्ष नपुग्दै दुरुस्त किन भएन भन्नेजस्ता प्रश्नहरूमाथि एकचोटि पुनर्विचार गरौं,’ उनले भने, ‘मुलुक बन्ने ठोस आधारहरू छन् । हामीसँग हालसम्म दोहन नगरिएका प्राकृतिक स्रोत छन् । अनुकूल जलवायु छ । राजनीतिक स्थिरता छ । तपाईंहरूको मतबाट बनेको बलियो सरकार छ ।’

उनले संविधान कार्यान्वयनका क्रममा अग्रगतिका लागि तगारो बन्न आउने विषयहरूलाई संशोधन गर्दै जान सकिने बताए । अहिले नै संविधान संशोधनको मुद्दामा प्रवेश गर्नुभन्दा पनि अभ्यासका क्रममा देखिने अवरोधलाई हटाउँदै जान सकिने उनको भनाइ थियो । ‘संविधानको कुन भाग, धारा वा दफामा के कति अधिकार रहृयो वा रहेन जस्ता विषयमा अल्झिने भन्दा जुन बेला जे मिल्दैन, जुन अग्रगतिका अघि तगारो बन्छ, त्यसलाई त्यही बेला विधिसम्मत ढंगले मिलाउँदै, पन्छाउँदै अघि बढिन्छ,’ उनले भने ।

अघिल्लो आर्थिक वर्षलाई ‘समृद्धिको आधार वर्ष’ भनेको स्मरण गराउँदै उनले उक्त अवधिमा कानुनहरू निर्माण भएको, जनशक्ति विन्यास तथा स्रोतको न्यायोचित वितरण भएको चर्चा गरे । ‘तीनवटै तहमा सरकार सञ्चालनका लागि आवश्यक न्यूनतम भौतिक संरचना निर्माण भए,’ उनले भने, ‘विकासका लागि आधार बनेको छ– कतै जग हालिएको छ, कतै पहिलो वा दोस्रो तल्ला थपिएको छ । विकासका लागि आवश्यक अरू तल्लाहरू थपिनेछन्, थप्दैथप्दै अघि बढिने छ ।’

आमजनतामा व्याप्त निराशा हटाउन आफूहरूले ‘चुनावपछि केही हुन्छ’ भनेर आशा सञ्चार गरेको स्मरण गराउँदै प्रधानमन्त्री ओलीले भने, ‘मेरो काम मुर्छित सपनाहरूलाई जगाउनु र तिनीहरूप्रति विश्वास बढाउनु थियो । र, ती विश्वास साकार पार्न हरेकले प्रयास गरुन्, जसबाट देश विकास सम्भव बनाउन सकिन्छ, समाज विकास सम्भव बनाउन सकिन्छ भन्ने थियो । मैले त्यही नै कोसिस गरेको थिएँ ।’ कुनै देश जब भविष्यप्रति आशावादी हुन्छ, सुन्दर भविष्यको सपना देख्छ, राम्रा दिन, सुदिनहरू आउँछन् भन्ने विश्वास गर्छ, तब नै त्यो देश बाँच्न सक्ने उनको भनाइ थियो ।

आफूले रेल, पानीजहाज, सुरुङमार्ग लगायतका विकासका संरचनाबारे सपना देखाएको प्रसंग उल्लेख गर्दै उनले ती सपना पूरा नभएकोतर्फ प्रश्न उठ्न थालेको जिकिरसमेत गरे । ‘म विनम्रताका साथ स्वीकार्छु– हो, मैले मुर्छित सपनामाथि पानी छम्केकै हुँ । मैले भनेको हुँ– निदाएको बेलामा देख्ने सपना हैन, ब्युँझिएको बेलाको सपना देखौं ।’

आफूहरू फगत सपनाका सौदागार नभएको उनले बताए । आफूले मृत्युलाई नजिकैबाट देखेकाले देश र जनताकै लागि समर्पित हुनबाहेक अर्को स्वार्थ नरहेको उनको भनाइ थियो । ‘जनबोलीमा भन्नुपर्दा पटक–पटक मरेर बाँचेको छु । म जस्तै मेरो टिममा रहेका धेरै साथीहरू यस्तै नाफाको जिन्दगी बाँचिरहनुभएको छ,’ उनले भने, ‘मैले आफैंसँग पटक–पटक प्रश्न गर्ने गरेको छु– आधा शताब्दी अघि कलिलै वयमा आफ्ना दौंतरीहरूसँगै घरबार छोडेर हिँडेको केका लागि ? र, जवाफ पाउने गरेको छु– मुलुक बनाउनका लागि । तपाईं हाम्रा साझा सपना पूरा गर्नका लागि ।’ आफूले आजसम्म गरेका संघर्षहरू पदका लागि नभएको पनि उनले प्रष्ट पारे ।

मुलुकमा ३४ वर्षमुनिका युवा ६५.५ प्रतिशत रहेको र १४ वर्षमुनिका ३४.८ प्रतिशत किशोर÷किशोरीहरूको संख्यालाई कटाउने हो भने पनि १५ देखि ३४ वर्ष उमेर समूहका सक्रिय युवा संख्या ३०.५ प्रतिशत रहेको तथ्यांक पेश गर्दै प्रधानमन्त्री ओलीले यो युवा पंक्ति छिप्पिनुअघि विकासको तीव्र गतिको दौड पूरा गर्नुपर्ने बताए । ‘तब मात्रै गणतन्त्रपछिको नेपाली पुस्तालाई भाग्यमानी पुस्ता बनाउन सकिन्छ,’ उनले भने । विभिन्न ‘इनोभेटिभ’ प्रयासहरू थाले युवाप्रति गर्व गर्दै उनले केही फुर्सदिलो युवा पंक्तिको ऊर्जा रचनात्मक सिर्जनामा भन्दा बढी सामाजिक सञ्जालमा विना मुद्दाका विषयवस्तुमा हुने परिणामहीन बहसमा व्यथित भइरहेकोमा चिन्ता प्रकट गरे । ‘मलाई चिन्ता एउटा हुर्किएको पुस्ताको पनि छ, जो समाजसँग संस्कार र सकारात्मक अनुभव साटासाट गर्न चुकिरहेको छ,’ उनले भने, ‘क्रिटिकल अप्रोचको नाममा सार्वजनिक प्लेटफर्मबाटै प्रवाहित उनीहरूका अभिव्यक्ति घृणा, द्वेष, अशिष्टता र परपीडनको भाषा बोल्न सिंगो समाजलाई प्रेरित गरिरहेको होकी जस्तो भान हुन्छ ।’

आजको आवश्यकता उच्छृंखलता र अराजकता हैन, सामाजिक सद्भाव, आपसी एकता र सहिष्णुता रहेको उनले बताए । ‘आजको लडाइँ लोकतन्त्र प्राप्तिका लागि हैन, संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न र सुदृढ गर्नका लागि हो,’ उनले भने, ‘पाइला नै नचलाई कसरी दौडने ? यथास्थितिमा रहेर परिवर्तनको अनुभूति कसरी दिने ? रुपान्तरण हैन प्रतिक्रिया, परिणामसँग साइनो नै नहुने प्रक्रियामा किन र कति अल्झिरहने ? विना–मुद्दाका विषयमा मूलमुद्दा जस्तो बहस÷विवादको माहोल किन बनाउने ? अझै पनि ‘हुँदैन÷सकियो’ जस्ता असन्तुष्टिको खेतीलाई उकेरा किन लगाउने ?’ अब तरिका फेर्नैपर्ने उनको भनाइ थियो ।