काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बुधबार बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा अपराहृन ४ बजेका लागि बैठक बोलाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओली उपचारबाट फर्केपछि बैठक बस्न लागेको हो । बैठकमा पार्टी एकताका बाँकी कामहरू टुंगो लगाउने विषयमा छलफल हुने जनाइएको छ । पार्टी वरीयताका विषयमा नेता माधवकुमार नेपालले दार्ता गराएको असहमति पत्रबारे छलफल हुने नहुने भने टुंगो नलागेको जनाइएको छ ।
नेपालले पार्टी नेतृत्वबाट एकलौटीरूपमा काम भएको, नीति र विधानविपरीत निर्णय गरिएको भन्दै एक व्यक्ति एक प्रमुख जिम्मेवारीअनुसार काम बाँडफाँड नभएको भन्दै असहमति प्रस्ताव दर्ता गराएका थिए ।
गत भदौ ५ गते प्रधानमन्त्री उपचारका लागि सिंगापुर गएपछि नेकपाको सचिवालय बैठक पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा एकपटक बसेको थियो ।
पहिलो पटक प्रचण्डले अध्यक्षता गरेको बैठकले पार्टीका नेता तथा कार्यकर्ताहरूबारे व्यक्तिगत विषयमा कुनै कुरा उठाउनुपरेमा पार्टीभित्रै छलफलको विषय बनाउनुपर्ने अन्यथा व्यक्तिगत बिषयहरु सार्वजनिक रूपमा राखेमा स्पष्टीकरणको प्रक्रिया अगाडि बढाउँदै आवश्यक कारबाही गर्ने निर्णय गरेको थियो । बैठकले पार्टी एकीकरण प्रक्रिया सामेल भएका चार जनालाई केन्द्रीय समितिमा मनोनीतसमेत गरेको थियो । एक जिल्लामा इञ्चार्ज र केही जिल्लामा सहइञ्चार्ज थप गरेको थियो । विभागहरूमा पनि जिम्मेवारी बाँडफाँड गरेको थियो । नेकपामा अनुशासन आयोग, लेखा आयोग, प्रवास कमिटी, ज्येष्ठ नागरिक मञ्चलगायत केन्द्रीय विभाग र संगठनको एकता प्रक्रिया टुंग्याउन अझै बाँकी छ ।




















