एक महिनाजति अघि चिनेजानेका एक जना अर्थशास्त्रीको नाम मध्यम आकारको एउटा पुस्तकको गातामा देखाप¥यो । पुस्तक हेर्छु त अर्थशास्त्रका विषयको होइन । पुस्तकको नाम ‘हिन्दुपरम्परामा थर–गोत्र प्रणाली’≤ लेखक डा. दण्डपाणि पौडेल, पिएचडी अर्थशास्त्र ।
पुस्तक र लेखकको संगति के हो ¤ यो जिज्ञासाले पुस्तकमा मेरो ध्यानाकर्षण भयो । सर्सर्ति हेरेँ, अलिक गहिरिन मन लाग्यो । हुँदा हुँदा पुस्तक पढ्दाको अनुभूति प्रकट गर्न मन लाग्यो । पाठकहरूलाई भनिहालूँ, यो लेखोट पुस्तक समीक्षा होइन, आलोचना–समालोचना केही पनि होइन, फगत एउटा पाठकको अनुभूति ।
अर्थशास्त्रका विद्यार्थी डा. पौडेलले ‘हिन्दुपरम्परामा थर–गोत्र प्रणाली’ पहिल्याउन श्रीमद्भागवत, हरिवंशपुराण, श्रीनरसिंहपुराण, महाभारत, अध्यात्मरामायण, श्रीविष्णुपुराण, श्रीमत्स्यपुराण, श्रीवाल्मीकिरामायण, श्रीरामचरितमानस, श्रीमार्कण्डेयपुराण, श्रीस्कन्दपुराण, श्रीवायुपुराण, धर्मसिन्धु, निर्णयसिन्धु, मनुस्मृतिका अनेक श्लोकहरूको सहायता लिएका रहेछन् ।
शरीरको अर्को संज्ञा हो ‘काय’ । ‘क’ भनेको ब्रहृमा । उनैबाट विभक्त भई दुई काय बनेर स्त्री–पुरुषका एक जोडी प्रकट भएछन्, पुरुष सार्वभौम सम्राट स्वायम्भुव मनु र स्त्री उनकी साम्राज्ञी शतरूपा । यहीबाट मैथुन धर्मद्वारा सृष्टिक्रम सुरु भएछ । यसपछि ब्रहृमाका मानसपुत्रहरू सप्तऋषि हुँदै गोत्रपरम्परा अघि बढेको रहेछ ।
लौ, यसरी मानवसृष्टिक्रम सुरु भयो । पिता स्वायम्भुव मनु र माता शतरूपाको योगदान त बराबरी छ अनि गोत्र परम्पराचाहिँ किन पितृसत्तात्मक भएको होला ¤ अर्थात् गोत्र किन पिताबाट पुत्रमा सर्ने भएको होला ¤ छोरी किन हेला ¤
कुरा के रहेछ भने पिता र माताबाट सन्तानमा वंशाणुगत गुण प्रसार गर्ने गणसूत्र (क्रोमोजोम) मध्ये लिङ्ग निर्धारण गर्ने गणसूत्र पिताबाटमात्र प्राप्त हुन्छ । मानवशरीरमा हुने ४६ वटा अर्थात् २३ जोडा गणसूत्रमध्ये एक जोडाले लिङ्ग निर्धारण गर्छ भने अन्य २२ जोडाले वंशका गुणहरू प्रसार गर्छन् । पुरुषमा एक्स–वाइ गणसूत्र हुन्छन् भने महिला एक्स–एक्स । माता–पितामा हुने लिङ्ग निर्धारक एक–एक जोडा गणसूत्रले सन्तानको लिङ्ग अर्थात छोरा कि छोरी भन्ने निर्धारण गर्छन् । माताको एक्स र पिताको एक्सको मिलनले स्त्री लिङ्ग निर्धारण हुन्छ, छोरी जन्मिन्छ । माताको एक्स र पिताको वाइ गणसूत्रको मिलनले पुरुष लिङ्ग निर्धारण हुन्छ, छोरा जन्मिन्छ ।
यति कुरा डा. पौडेलेको पुस्तक पढेरमात्रै जानेको होइन । त्यसो भए के त ¤ के भने कुरा पितृसत्ताको हो । पुरुषले आफूबाट छोरा जन्मिन लिङ्ग निर्धाणमा आफ्नो आधिपत्य रहेको कुरा उतिबेलै थाहा पाएको रहेछ । आमालाई यति जानकारी नहुने कुरै भएन । डा. पौडेलको निष्कर्ष छ– गोत्रपरम्परामा पितृ सत्ताको जग सन्तानको लिङ्ग निर्धारणको आधिपत्य नै हो ।
कुनै समय आजको पितृसत्ताझैँ मातृसत्ता थियो भनिएको छ । शायद जुन समय सन्तानको लिङ्ग निर्धारणमा पुरुषको आधिपत्यको रहस्य खुल्यो त्यही समयले मातृसत्ता परम्परामा धावा बोलेको हुनुपर्छ ।
देव र दैत्यको द्वन्द्व हाम्रा पुराण, श्रुति, स्मृति आदिका मुख्य कथा हुन् । सृष्टिमा द्वन्द्वका प्रतीकात्मक घटनाहरू छन् । देव अर्थात् भगवानभन्दा कम शक्तिशाली थिएनन् दानव अर्थात दैत्यहरू । पृथ्वी प्रलय गराउन सक्ने दैत्य हिरण्याक्ष कसरी नष्ट भयो, भगवान वराहले पृथ्वीको रक्षा कसरी गरे, भगवानले कसरी दैत्यहरूबाट यो पृथ्वी र मानव सृष्टिको रक्षा गरे भन्ने हाम्रा पौराणिक कथाहरूका आधार कति सटिक ¤ बोधगम्य, सहज । गोत्रपरम्परा केलाउँदै जाँदा भेटेका प्रमाणहरू पर्गेल्न डा. पौडेलले निकै सकस बेहोरेको हुनुपर्छ । संस्कृत कहाँ उनको विषय–भाषा थियो र ¤ उनी हुन् त एक अर्थशास्त्री जो हुन् ।
नारी र पुरुषबीचको विभेद पर्गेल्ने अहिलेको युगमा अवश्यै अनौठो मानिने छ प्रतिब्रताको शक्ति । त्यही अनौठो शक्तिको एउटा प्रसङ्गमा म निकै बेर अडिएँ । कौशिक नामका एक ब्राहृमणकी पतिब्रता ब्राहृमणीले आफ्ना रोगी पतिलाई माण्डव्य ऋषिको श्रापबाट भोलिपल्ट बिहानै मर्नबाट जोगाउन सूर्योदय नै रोकिदिइन् । सूर्योदय नभई कोलाहल मच्चिएपछि महर्षि अत्रिकी पतिब्रता पत्नी तपस्वीनी अनुसूयाले कौशिक ब्राहृमणीसँग प्रार्थना गरेर सूर्योदय गराउन सकिन् । दुवै नारी पतिब्रता ।
यसो विचार गर्छु, त्यति वेलाका पुरुषहरूले केवल नारीको मिथ्या प्रशंसाका लागि, फुक्र्याएर आफूप्रति एकाग्र गराउन र नारीमाथि आफ्नो आधिपत्य जमाउनकै लागि पतिब्रतशक्तिको बयान गरेका होलान् ¤ आजको युगमा यस्तो नारीशक्ति विलीन भयो कि कतै सुषुप्त छ ¤ कुनै दिन जागृत होला ¤
त्यो ऋषियुग, त्यो सृष्टिकालमा शिक्षाको स्रोत के थियो ¤ निष्कर्ष एउटै छ– आफ्नै वरिपरिको वातावरण । पृथ्वी, वायु, आकाश, जल, अग्नि, चन्द्रमा, सूर्य, परेवा÷मलेवा, अजिङ्गर, समुद्र, पुतली भमरा, मौरी, हात्ती, मृग, माछा, वेश्या, चखेवा, बालक, कन्या, शरकृत (बाण बनाउने मान्छे), सर्प, माकुरा, भृङ्गी– यिनै रहेछन् शिक्षाका स्रोत । आज पनि हामीले सिक्ने हाम्रै वातावरणबाट हो ।
यति र अरू थुप्रै पृष्ठभूमि पहिल्याउँदै अर्थशास्त्रका पिएचडी डा. पौडेलले ‘हिन्दुपरम्परामा थर–गोत्र प्रणाली’ को जरोमा पुग्ने प्रयास गरेछन् । यी अर्थशास्त्रीका लागि संस्कृतका कठिन श्लोक बोध गरेर गोत्र प्रणाली पहिल्याउने प्रेरणास्रोत चाहिँ आत्रेयगोत्री पौडेलहरूको वंशपरम्परा रहेछ । अर्थशास्त्रमा पिएचडी गरँे, अर्थशास्त्री बनेँ तर पौडेल वंशपरम्परामा के योगदान गरेँ त भन्ने आत्मचिन्तनको उपज रहेछ ‘हिन्दुपरम्परामा थर–गोत्र प्रणाली’ ।
गोत्र प्रणालीको संक्षिप्त जानकारीका लागि मैले डा. पौडेलकृत ‘हिन्दुपरम्परामा थर–गोत्र प्रणाली’ पठनीय ठानेँ । साधुवाद डा. दण्डपाणि पौडेल ।



















