काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे सांसदहरूले चासो राखेका छन् । प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा विपक्षी नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले प्रधानमन्त्रीको स्वास्थ्यबारे सरकारले संसद्लाई जानकारी नगराएको भन्दै आपत्ति जनाए । जनताले आफ्ना प्रधानमन्त्रीको स्वास्थ्यका बारेमा जान्न पाउनुपर्ने उनले बताए । सांसद थापाले ‘कुनै व्यक्तिलाई विदेश उपचार गर्नुपरेमा सोका लागि लाग्ने खर्च नेपाल सरकारबाट उपलब्ध हुने छैन’ भन्ने प्रावधानसहितको कानुन पालना गरेकोमा प्रधानमन्त्रीप्रति आभार प्रकटसमेत गरे । ‘नागरिकको यस विषयको अन्य चासोलाई प्रधानमन्त्रीले उपयुक्त समयमा बताउनु नै हुनेछ भन्ने विश्वास पनि गर्छु,’ उनले भने, ‘प्रधानमन्त्रीको निजी चिकित्सकलाई उद्धृत गरेर छापाहरूमा आएको सीमित सूचनाको आधारमा यो अनुमान लगाउन सकिन्छ, प्रधानमन्त्रीको स्वास्थ्य सुधारोन्मुख छ । हामी चाहन्छौं, सम्पूर्ण सुधार होस् ।’
उनले मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्रीको इच्छाशक्ति, क्रियाशीलता, योगदान संसारका लागि नमूना बनोस् भन्ने कामना पनि गरे । साथै उनले प्रश्न गरे, ‘तर केही चिकित्सकले संकेत गर्नुभएको जस्तो प्रधानमन्त्रीलाई अहिलेको जस्तो उपचार अर्थात् पटकपटक विदेशमा गएर केही समय विश्राम गरेर उपचार गर्नुपर्ने भयो भने चाहिँ के गर्ने ?’
पछिल्ला दिनमा प्रधानमन्त्रीको कार्यबोझ बढाइएको जिकिर गर्दै उनले भने, ‘हाम्रो प्रधानमन्त्रीज्यूले यी सबै गर्ने कुराको इच्छाशक्ति राख्नुहुन्छ भन्ने कुरामा दुई मत छैन । तर इच्छाशक्तिमात्र सबै कुरा होइन । शारीरिक स्वास्थ्यले पनि धेरै कुरा निर्धारण गर्छ ।’ कार्यकारिणी प्रमुख एकैपटक लामो समयसम्म देश बाहिर बस्दा राष्ट्रिय सुरक्षा, कूटनीतिक मर्यादा आदिमा जोखिमको प्रश्न उठ्नेतर्फ पनि उनले ध्यानाकर्षण गराए । ‘प्रत्येक दुई÷तीन महिनामा १०–१२ दिन विदेश गएर टेलिप्रिजेन्समार्फतबाट मन्त्रीहरूको ब्रिफिङ लिएर देश चलाउने कुराबाट शासकीय जिम्मेवारी पूरा हुन सक्दैन,’ उनले भने, ‘प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था भएको भए फेरि निर्वाचनमा जानुपर्ने अवस्था आउँछ भनेर कष्ट दिएर भए पनि प्रधानमन्त्रीको निरन्तरताको अपेक्षा राख्ने कुरा स्वाभाविक हुन्थ्यो । तर यहाँ त्यस्तो अवस्था छैन ।’
संसद्मा नेपाल कम्युनिष्ट पार्टीको बहुमत रहेका कारण सजिलैसँग संसदले नयाँ प्रधानमन्त्री छान्न सक्ने उनले बताए । उनले प्रश्न गरे, ‘एक से एक प्रधानमन्त्री हुनुभएको व्यक्ति यो पार्टी (नेकपा) मा हुनुहुन्छ । प्रधानमन्त्री हुने इच्छा राख्ने व्यक्तिहरू हुनुहुन्छ । तर, यस्तो बेलामा हामी विश्राम दिन किन चाहिरहेका छैनौं ?’
नेकपाका युवा सांसदहरूले प्रधानमन्त्रीलाई ‘बा’ भनेर सम्बोधन गरेको आफूले धेरैपटक सुनेको उल्लेख गर्दै सांसद थापाले भने, ‘प्रधानमन्त्री हाम्रो पनि बासरह हुनुहुन्छ । हामी हाम्रो बा बिरामी हुनुभएको भए के भन्थ्यौं ? बा धपेडी नगर्नुस्, बा आराम गर्नुस् । बा विश्राम लिनुस् । हामी हाम्रो बालाई त्यसो भन्छौं तर हामी प्रधानमन्त्री बालाई यसो भन्न किन सक्दैनौं ?’
आफूहरूले विगतमा यस्तै गल्ती गरेको उनको भनाइ थियो । ‘यो गल्ती हामीले पनि हिजो ग¥यौं । यो अन्याय हिजो हामीले पनि ग¥यौं । सबैभन्दा बढी नजिक बस्ने मान्छेले यो अन्याय ग¥यो,’ सत्तारूढ दलका सांसदहरूलाई संकेत गर्दै उनले भने, ‘यो अन्याय तपाईंहरू नगर्नूस् । यो गल्ती तपाईंहरू नदोहो¥याउनुस् ।’ उनले प्रधानमन्त्रीलाई विश्राम गर्न दिन आग्रहसमेत गरे । उनले भने, ‘किनकि नेपालको आन्दोलनमा यत्रो ठूलो योगदान पु¥याउनुभएको, नेपालको शान्ति प्रक्रियामा यत्रो ठूलो योगदान पु¥याउनुभएको, यत्रो ठूलो राष्ट्रिय जिम्मेवारी निर्वाह गर्नुभएको, यति मात्र होइन, स्वाभिमानको लडाइँमा एउटा अथक योद्धाको रूपमा काम गर्नुभएको प्रधानमन्त्री हामी लामो समयसम्म हाम्रो बीचमा अभिभावकको रूपमा देख्न चाहन्छौं ।’
सिंगापुरबाट फर्केर आएपछि प्रधानमन्त्रीले रोष्टममा उभिएर आफू ‘लगातार कुनै विश्राम नलिईकन काम गर्न सक्ने अवस्थामा रहेको’ बताउने अवस्था आओस् भन्ने कामनासमेत उनले गरे । ‘तर यस्तो अवस्था आउँदैन भने म सबैलाई आग्रह गर्न चाहन्छु, यो कुरा सुन्दै गर्दा कतिलाई रिस पनि उठ्ला, यो कुनै व्यक्तिगत कुरा होइन । यो देशको कुरा पनि हो, देशभन्दा पहिला मानवताको कुरा पनि हो । हामी प्रधानमन्त्री एउटा मान्छे हो भन्ने कुरा नबिर्सौं ।’
सांसद थापाको सुझावप्रति सत्तारूढ दलका सांसद सूर्यप्रसाद पाठकले प्रतिक्रिया जनाए । ‘केही मित्रहरूले प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना गरेजस्तै गरी प्रधानमन्त्रीले राजीनामा दिए हुन्थ्यो भन्ने खालको आसय प्रकट गर्नुभयो,’ उनले भने, ‘धेरै मानिस र धेरै शक्तिलाई के लागेको छ भने प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा यो सरकार पाँच वर्ष चल्यो भने मुलुकले फड्को मार्नेछ, त्यतिबेला आफ्ना दलहरूको अस्तित्व धरापमा पर्ने त होइन भन्ने चिन्ता परेको छ ।’ उनले प्रधानमन्त्रीको स्वास्थ्यभित्र आफ्नो दलको अस्तित्व नखोज्न पनि सुझाव दिए ।
कांग्रेसकै सांसद दिलेन्द्रप्रसाद बडुले प्रतिपक्षबाट प्रधानमन्त्रीको स्वास्थ लाभको कामना गर्दासमेत सत्ता पक्ष झस्किनुपर्ने रोग के लागेछ भनेर आफैंभित्र खोज्न सुझाव दिए । उनले प्रधानमन्त्री सत्ता पक्षको मात्र नभएर प्रतिपक्ष र यो देशकै साझा व्यक्तित्व हुने स्मरण गराए ।



















