काठमाडौं । पशुअधिकारकर्मीहरूले नेपालगञ्जबाट लगिएका गाईगोरु सुर्खेतमा भीरबाट लडाइएको र खोटाङमा स्थानीय तहकै निर्देशनमा कुकुर मारेको भन्दै राजधानीमा विरोध प्रदर्शन गरेका छन् । बुधबार अधिकारकर्मीहरूले पशु अधिकार हनन भएको विरोधमा प्रदर्शन गरेका हुन् ।
सुर्खेतमा भीरबाट खसालिएको र खोटाङमा कुकुरलाई कुटेर मारिएको भन्दै उनीहरूले पशुप्रति क्रूरतापूर्ण व्यवहार भएको आरोप लगाए । ‘जनावरलाई माया गरौं’ भन्दै उनीहरूले जनावरलाई यातना दिनेलाई कारबाहीको मागसमेत गरे ।
प्रदर्शनकारीले कुकुर, कुकुरको चित्र र जनावरको मुखुण्डोसहित विभिन्न नारा लेखिएका प्लाकार्ड बोकेर प्रदर्शन गरेका थिए । उनीहरूले गाई मरेको र कुकुर मारिएका दुवै घटनामा संलग्नमाथि कारबाही गर्न पनि माग गरे ।
पशु अवोध प्राणी भएकाले उनीहरूप्रति संवेदनशील हुनुपर्ने भन्दै प्रदर्शनकारीले ब्यानरमा जनचेतनामूलक नारासमेत लेखेका थिए ।
केही दिनअघि नेपालगञ्जबाट दैलेख लैजाँदै गरेको गाई सुर्खेतमा मृत भेटिएका थिए भने खोटाङको दिक्तेल नगरपालिकामा कुकुरलाई कुटेर मारेर फालिएको भिडियो सार्वजनिक भएको थियो ।




















