काठमाडौं । फिफा विश्वकप २०२२ र एएफसी एसिया कप २०२३ अन्तर्गतको पहिलो छनोटमा नेपालले बिहीबार कुवेतविरुद्ध रक्षात्मक खेलने भएको छ । नेपाल र कुवेतबीचको खेल बिहीबार कुवेत सिटीस्थित जाबेर अल अहमद रंगशालामा राति पौने ११ बजे हुँदैछ ।
खेलअघि बुधबार भएको पत्रकार सम्मेलनमा नेपाली प्रशिक्षक योहान कालिनले नेपालको रक्षात्मक रणनिति स्पष्ट पारे । उनले भने, ‘कुवेत बलियो टिम हो भन्ने हामीलाई थाहा छ । हामीले कडा चुनौती दिनुपर्छ । हामीले मार्चमा कुवेतसँग राम्रा खेल खेलेका छौं । त्यसबेला हामीले अट्याक नगरी डिफेन्समा मात्रै खेल्यौं । यसपटक त्यसमा अझै सुधार ल्याएको विश्वास लिएको छु ।’
नेपालले गत मार्चमा कुवेतसँग दुईवटा मैत्रीपूर्ण खेल खेलेको थियो । त्यसबेला पनि कालिनले नेपाली टोलीलाई रक्षात्मक रूपमा मैदान उतारेका थिए । पहिलो खेलमा कुवेतलाई गोलरहित बराबरीमा रोकेको नेपालले दोस्रो खेल १–० ले गुमाएको थियो ।
फिफा वरियतामा कुवेत नेपालभन्दा १० स्थानमाथि छ । कुवेत १५६औं स्थानमा हुँदा नेपाल १६६औं स्थानमा छ । कुवेतले यसअघि विश्वकप खेलिसक्नुका साथै एसिया कपको पनि उपाधि उचालिसकेको छ । नियमित कप्तान विराज महर्जन अनफिट देखिएपछि यसपटक नेपाली टोलीको नेतृत्व गोलरक्षक किरण चेञ्जोङले गर्दैछन् ।
नेपालले कुवेतलाई सिनियर लेभलमा कहिलै पनि हराउन सकेको छैन् । नेपाल र कुवेत अहिलेसम्म ६ पटक आमने सामने भएका छन् । जसमा ५ पटक कुवेतले जितेको छ भने १ खेल बराबरीमा सकिएको छ ।
१९८२ को एसियन गेम्समा नेपाल र कुवेत पहिलोपटक भिडेका थिए । नयाँदिल्लीमा भएको उक्त खेलमा नेपाल ३–१ ले पराजित भएको थियो । त्यसबेला वाइबी घलेले नेपालका तर्फबाट गरेको उक्त गोल नै कुवेती पोस्टमा नेपालले गर्न सकेको एकमात्रै गोल हो । त्यसबाहेक ६ खेलमा नेपालले २२ गोल खाएको छ ।
कुवेतसँग नेपालक १९९४ मा भएको एसियन गेम्समा सबैभन्दा ठूलो ८–० को हार व्यहोरेको थियो । गत मार्चमा मैत्रीपूर्ण खेलमा गोलरहित बराबीमा रोक्नु नै उसविरुद्ध नेपालको सबैभन्दा ठूलो सफलता हो । पछिल्ला ५ महिनामा कुवेतले ५ वटा अन्तर्राष्ट्रिय खेल खेलेको छ । जसमा उसले २ मा जित, २ मा बराबरी र एकमा हारको नतिजा व्यहोरेको छ ।
नेपाली खेलाडी ले भने पछिल्लो पछिल्लो एक वर्षमा मात्रै ५ खेल खेल्न पाएका छन् । ती पाँचवटै खेलमा नेपालले जित हात पार्न सकेको छैन् । तीन खेल हारेको नेपालले दुई खेल बराबरी गरेको छ ।
नेपाल सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको कृत्रिम मैदानमा झण्डै ३ महिनाको प्रशिक्षणपश्चात गत भदौ ९ गते मलेसियन सुपर लिग च्याम्पियन क्लब जाहोर दारुल तामिज एफसीसँग अनौपचारिक एक खेल खेलेको थियो । त्यसमा नेपाल १–० ले पराजित भयो । त्यसैको भरमा नेपाल कुवेतसँग खेल्न गइरहेको हो ।
आफूहरूको कमजोर तयारीका बाबजुद पनि राम्रो खेल्नुको विकल्प नभएको प्रशिक्षक कालिनले बताए । ‘हामी सक्दो राम्रो खेल्ने प्रयास गर्नेछौं । हामीसँग तयारीका लागि राम्रो श्रोत साधान त थिएन । तर, खेलाडीहरूले भने कडा मिहिनेत गरेका छन् । हामी नतिजाका लागि हैनौं राम्रो प्रदर्शन दिन खेल्दैछौं,’ उनले भने ।
फिफा वरियतामा एसियाको ३४ भित्र परेपछि नेपालले सोझै एसिया छनोटको दोस्रो चरण खेल्न लागेको हो । दोस्रो चरणमा विभिन्न ८ समूहमा बाडिएका ४० राष्ट्रले प्रतिस्पर्धा गर्देछन् । समूहका शीर्ष टोली र उत्कृष्ट चार उपविजेता टोली अन्तिम चरणमा पुग्नेछन् ।
नेपाल समूह बीमा छ । नेपालको समूहमा कुवेत, अष्ट्रेलिया र जोर्डन छन् । सबै टोलीले होम एण्ड अवेको आधारमा प्रतिस्पर्धा गर्नेछ । नेपालले भदौ १९ गते कुवेतविरुद्ध उसैको मैदानमा खेल्दै प्रतियोगिताको सुरुवात गर्दैछ । यस्तै नेपालले भदौ २४ गते चाइनिज चाइपेइविरुद्ध उसैको मैदानमा खेल्नेछ ।




















