काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वप्रशिक्षक क्यानेडियन प्रशिक्षक पुबुदु दासानायके आगामी फागुनमा हुने एभरेष्ट प्रिमियर लिग क्रिकेट प्रतियोगिताको टोली भैरहवा ग्लाडियटर्शको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् ।
शरद भेषावकरको कप्तानीमा रहेको भैहरवाले मंगलबार एक विज्ञप्ति जारी गर्दै पुबुदुलाई प्रशिक्षकमा नियुक्त गरेको जानकारी दिएको हो । भैरहवा लिगको अघिल्ला दुई सिजनको उपविजेता हो । उसले लिगको उपाधि उचाल्ने लक्ष्यसहित यसपटक पुबुदुलाई नियुक्त गरेको हो । प्रशिक्षकमा नियुक्त भएपछि पुबुदुले नेपाल सधैं आफ्नो हृदयको नजिक रहेको बताएका छन् । ‘म भैरहवा ग्लाडियर्टससँग जोडिन पाउँदा उत्साहित छु,’ पुबुदुले भने, ‘नेपाल जहिले पनि मेरो हृदयको नजिक रहृयो । पुनः नेपाल फर्कने अवसर दिएकोमा धन्यवाद दिन चाहान्छु। र, जहाँ जसरी भएपनि नेपाली क्रिकेटलाई सहयोग गरिरहनेछु ।’
भैरहवाको अगामी सिजनका लागि मुख्य प्रशिक्षकमा नियुक्त भएका दासानायकेले प्रशिक्षकत्व सम्हालेलगत्तै नेपालले सन् २०१३ को आइसिसी विश्व क्रिकेट लिग डिभिज तीनको उपाधि जितेको थियो । लगत्तै नेपालले उनकै प्रशिक्षकत्वमा इतिहासमै पहिलो पटक २०१४ मा आइसिसी टी–२० विश्वकप खेलेको थियो ।
टोलीका कप्तान शरद भेषावकरले पुबुद नेपाली टोलीको मुख्य प्रशिक्षकमा नियुक्त हुदा उनले आफ्नो कार्यकाललाई नेपाली क्रिकेटको टर्निङ प्वाइन्टका रूपमा प्रमाणित गरिसकेको बताउँदै खुशी व्यक्त गरेका छन् ।
‘पुबुदु दासले आफ्नो कार्यकालमा नेपाली क्रिकेटको टर्निङ प्वाइन्ट बनाउँदै प्रमाणित गरिसकेका छन् ,’ शरदले भने, ‘नेपाली क्रिकेटमा धेरै योगदान पु¥याएका लिजेन्ड व्यक्तित्वलाई भैरहवाको प्रशिक्षकको रूपमा पाउँदा म औधी खुशी छु । हामीसँग दुई सिजनको उपविजेताको ट्रफी छ । यसवर्ष हामीलाई सायद पुबुदु सरले च्याम्पियन बनाउँनेछन् ।’




















