सन् १९९८ मा नेल्सन मण्डेलाले संयुक्त राष्ट्र संघको महासभामा आफ्नो सम्बोधन सक्दा त्यहाँ उपस्थित १ सय ६५ राष्ट्रका प्रतिनिधिहरू सबैले आआप्mनो स्थानबाट उठेर ताली बजाएका थिए । यो संयुक्त राष्ट्रसंघीय महासभाकै ऐतिहासिक र दुर्लभ घटनामध्ये एक थियो । त्यसअघि राष्ट्र संघको महासभामा कुनै राष्ट्र प्रमुख तथा सरकार प्रमुखले सम्बोधन गर्दा यसरी उठेर ताली बजाएका थिएनन् ।
दक्षिण अफ्रिकाको इस्टर्न केपमा सन् १९१८ मा जन्मेका मण्डेलाले सानैमा गोराहरूको रंगभेदी शासन र काला जातिमाथिको अत्याचारको विरुद्ध लाग्ने अठोट गरे । फलतः उनले सन् १९४३ मा अफ्रिकी नेसनल कंग्रेसमा आबद्ध भएर अहिंसात्मक आन्दोलनको नेतृत्व गरे । यसक्रममा मण्डेला २७ वर्ष जेलमा बसेका थिए । फलतः उनी विश्वकै मुक्ति आन्दोलनको पर्याय र आस्थाको केन्द्रबिन्दु बन्न सके ।
२७ वर्षे जेलजीवनबाट सन् १९९० मा उनी मुक्त भएपछि सन् १९९३ मा तत्कालीन अपरथेड शासनका कार्यवाहक राष्ट्रपति फ्रेडरिक विलियम डे क्लार्कसँग विस्तृत शान्ति सम्झौता गरी सन् १९९४ मा पहिलो समावेशी लोकतान्त्रिक निर्वाचन सम्पन्न भयो । उनले निर्वाचन परिणाममुखी बनाउन र सबैलाई मान्य हुने संविधान निर्माण गर्न निर्वाचन अगावै ३५ बुँदे सम्झौता गरे । निर्वाचनमा उनको दल एएनसीले दुई तिहाइ बहुमत पाएको भए तापनि उनले सबै पक्षलाई समेटेर सरकार गठन गरे ।
आफूले शासनसत्ता सम्हालेको ठीक २ वर्षभित्र ९ मे, १९९६ मा अल्पसंख्यक गोरा जातिलगायत सम्पूर्ण अल्पसंख्यकमाथि हुने विभेदको पूर्ण निषेधसहितको विश्वकै उत्कृष्टतम संविधान जारी गरेर मुलुकलाई नयाँ युगमा प्रवेश गराए । उनले तत्काल सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गरेर द्वन्द्वकालका सम्पूर्ण विवादित सवालहरू तथा अफ्रिकी समाजमा विद्यमान विद्वेष र बेमेलहरूको हल गरेर अत्यन्तै छोटो समयमा संक्रमणकालको सही व्यवस्थापन गरे । अर्का गोराविरोधी नोवेल शान्ति पुरस्कार विजेता डेस्मण्ड टुटुले भनेझैँ ‘गहिरो रूपमा विभाजित देशलाई ऐक्यबद्ध बनाउन सक्नु’ उनको सर्वाधिक महŒवपूर्ण देन हो ।
संघीयताको विषयमा मण्डेलाले भनेका थिए, ‘संघीयता भनेको इन्द्रेणी जस्तै सबै रंग मिलेको हुनुपर्छ, एकल जातीय संघीयताले जनतामा वैमनस्यता र फाटो ल्याउँछ ।’ उनले दक्षिण अफ्रिकाको कूल जनसंख्याको मुस्किलले ९ प्रतिशत अल्पसंख्यक गोरा जातिलगायत सम्पूर्ण अल्पसंख्यकमाथि कुनै किसिमको भेदभाव गर्न नपाइने कडा मानव अधिकारहरूको प्रत्याभूतिसहित ११ स्थानीय भाषालाई राष्ट्रिय भाषाको रूपमा संविधानमा किटान गरे । तीनवटा प्रमुख सहरहरू प्रिटोरिया, केपटाउन र ब्लुमफाउण्टेनलाई देशका समानान्तर केन्द्रीय राजधानी कायम गरी तिनमा क्रमशः राष्ट्रपति भवन, संसद भवन र सर्वोच्च अदालत खडा गरेर विकेन्द्रीकरणको सिद्धान्तअनुरूप देशको सन्तुलित क्षेत्रीय विकासलाई पनि एकै साथ अगाडि बढाए ।
विडम्बनाको कुरा, हाम्रो देशका ठूला दल का ‘ठूला नेताहरूले भने आदिवासी जनजाति, दलित, मुस्लिम, मधेसीलगायत अल्पसंख्यक जाति र समुदायमाथि सदीयौंदेखि हुँदै आएको विभेदको अन्त्य गरी उनीहरूका ऐतिहासिक पहिचानहरूको सम्मान एवं आइएलओ महासन्धि नं. १६९, युएनड्रिपलगायत अन्तर्राष्ट्रिय महासन्धि र कानुनहरूले व्यवस्था गरेका प्रकृतिसम्मत अधिकारहरूको ग्यारेण्टी हुनेगरी नेपालको राज्य पुनर्संरचना गर्नुपर्ने माग स्वीकार गर्न नसकी विगत २४० वर्षदेखिको शासन सत्ताको निरन्तरताका लागि अनेक षड्यन्त्र गरेर संविधानसभाकै अवसान गराएको थियो । यतिले नपुगेर उनीहरू पहिचानको सम्मान र अधिकारको रक्षार्थ आन्दोलनरत् जनतामाथि ‘धार्मिक, साम्प्रदायिक विद्वेष फैलाएको’ भनी लाञ्छित गर्नेतर्फ अग्रसर थिए ।
मण्डेला ठूला नेताले आफ्नो देशको शासन सत्ता हाक्ने नयाँ पुस्ता तयार गर्नु पर्छ र त्यसको जिम्मेवारी सुम्पनु पर्छ भन्ने भनाइ थियो । उनी सन् १९९० मा रिहा भएपछि सन् १९९१ मा एएनसीको सभापति भए । २७ अप्रिल १९९४ मा सम्पन्न आमनिर्वाचनपछि सोही वर्षको मे १० का दिन उनी प्रथम अश्वेत राष्ट्रपति भए । गज्जबको कुरा, सन् १९९७ मा उनले थाबो उम्बेकीलाई पार्टी सभापतिको पद हस्तान्तरण गरे र सन् १९९९ को दोस्रो आमनिर्वाचनपूर्व आफू पुनः राष्ट्रपति नहुने घोषणा गरे । सन् २००४ मा आएर सार्वजनिक जीवनबाटै सहज रूपमा सन्यास लिए ।
पद, प्रतिष्ठा र कुर्सीको लागि लुछाचुँडी गर्ने, आफ्नो दल नै फुटाउने र मृत्युशैøयामा छटपटाउँदासम्म पनि प्रधानमन्त्री बन्न पाएहुन्थ्यो भन्ने हाम्रा नेता र तिनका अनुयायीहरूले मण्डेलाको यतिमात्र गुणको अनुसरण गरी दिए यो देशका आउँदो पुस्ताले आजको दक्षिण अफ्रिकी पुस्तालाई मण्डेला जेनेरेसन भन्ने गरेझैँ उनीहरूको नाममा आफ्नो पुस्ताको नामांकन गर्ने थिए ।
जब उनी सत्तामा आए, आफ्ना असंख्य काला जातिका समर्थक र सहयोद्धाहरूको आग्रहको बाबजुद उनी र उनका सैयौं सहयोद्धाहरूलाई निर्मम यातना दिने र हत्या गर्ने अल्पसंख्यक गोराहरूलाई समेत उनले कहिल्यै कुनै विभेद गरेनन् । सन् १९९४ को आमनिर्वाचनमा एक स्थान पनि नजितेको इब्राहिम गोराको कम्युनिष्ट पार्टीबाट चारजना सांसद मनोनित गरे । आफ्ना पूर्ववर्ती गोरा कार्यवहाक राष्ट्रपति फ्रेडरिक विलियम डे क्लार्कलाई उपराष्ट्रपति बनाए र हिंसामा संलग्न इन्काथा फ्रिडम पार्टीका अध्यक्ष बुथलेजीलाई गृहमन्त्री बनाए ।
काला जातिको धेरै व्यक्तिको संहार गर्ने र प्रताडना दिने गोरा प्रशासक र कर्मचारीहरू कसैलाई कुनै भेद्भाव नगरी राम्रै ओहदा र सम्मान दिए । परिणामतः दक्षिण अफ्रिकी समाजमा विद्यमान गहिरो वैमनस्य र विद्वेष अन्त्य भई सामाजिक ऐक्यबद्धतासहितको समृद्ध राष्ट्र निर्माण भयो ।
दुःखको कुरा नेपालको शीर्ष राजनीतिक नेतृत्व भने षड्यन्त्रमूलक रूपमा पहिलो संविधानसभाको अवसान गरिएपश्चात बृहत् राष्ट्रिय राजनीतिक सम्मेलनमार्फत आम राजनीतिक सहमति कायम गरी चालु राजनीतिक संक्रमणकालको व्यवस्थापन गर्ने र शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउने राजनीतिक दल, नागरिक समाजलगायतको माग बेवास्ता गर्दै मुलुकका निर्णायक राजनीतिक शक्तिहरू समेतलाई पाखा लगाएर अन्तरिम संविधान मनोमानीपूर्ण संशोधन गर्दै, विधिको शासन र शक्ति पृथकीकरणको सिद्धान्तको धज्जी उडाउँदै नेपालको राजनीति थप जटिलतातर्फ धकेल्न उद्यत देखिन्छ ।
हुन त हाम्रा नेपाली नेताहरूको यस्तो प्रवृत्ति, सोच र व्यवहार नेपाली समाजमा जरा गाडेर बसेको परम्परावादी सोचाइबाट निर्देशित भएकोले उनीहरू निषेधको राजनीति गर्न तयार भएका होलान् । जबसम्म उनीहरूले निषेधको राजनीति त्याग गर्न सक्दैनन्, तबसम्म नेपाली जनताले सुखानुभूति गर्न पाउँदैनन् ।
उनले सन् १९५८ मा बिन्नी माडिकिजेलासँग दोस्रो विवाह गरेका थिए । बिन्नी तिनै महिला हुन् जसले उनलाई जेलमुक्त गर्न र दक्षिण अफ्रिकी मुक्ति आन्दोलनलाई अगाडि बढाउन आफ्नो अर्धाङ्गिनी र पार्टीको इमानदार सिपाही भएर सबैभन्दा लामो समयसम्म उनको साथ दिएकी थिइन् । जब एएनसीका समर्थकहरूबाट बिन्नीले भ्रष्टाचार र आर्थिक अनियमितता गरेको भन्ने आरोप लाग्यो उनले बिन्नीसँग सन् १९९२ को अप्रिल १३ को दिन सम्बन्ध विच्छेद गरेका थिए ।




















