बडादशैँको अवसरमा नेपाली राजदूतावासको कार्यालय तीन दिनसम्म बन्द रहने।

क्वालालम्पुर (मलेसिया):= बडादशैँको बिदाको अवसरमा मलेसियाको क्वालालम्पुरस्थित नेपाली राजदूतावास तीन दिन बन्द रहने भएको छ। राजदूतावासले आज शुक्रबार एक  सार्वजनिक सूचना जारी गर्दै अक्टोबर २० देखि २२ तारिख २०२६ सम्म नियमित कन्सुलर तथा प्रशासनिक सेवा बन्द रहने जानकारी दिएको हो।

राजदूतावासका अनुसार दशैँ बिदा समाप्त भएपछि अक्टोबर २३ शुक्रबारदेखि नियमित सेवा पुनः सञ्चालन हुनेछ। बिदाका कारण राहदानी, कागजात प्रमाणीकरणलगायत राजदूतावासबाट उपलब्ध हुने नियमित सेवा प्रभावित हुने भएकाले सम्बन्धित सेवाग्राहीलाई आफ्नो कामको व्यवस्थापन सोहीअनुसार गर्न आग्रह गरिएको छ।

राजदूतावासले बडादसैँको पावन अवसरमा मलेसियासहित इन्डोनेसिया, फिलिपिन्स, ब्रुनाई दारुसलाम र इस्ट टिमोरमा बसोबास गर्ने सम्पूर्ण नेपाली नागरिकलाई सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेको छ।

बिदाको अवधिमा कुनै आकस्मिक समस्या वा सहयोग आवश्यक परेमा राजदूतावासको हटलाइन नम्बर ०१६-२४७२७७७ मा सम्पर्क गर्न सकिने सूचनामा उल्लेख छ। राजदूतावासले नियमित सेवा बन्द रहने अवधिलाई ध्यानमा राख्दै दूतावासबाट चाहिएको आवश्यक काम समयमै सम्पन्न गर्नसमेत नेपाली नागरिकलाई आग्रह गरेको छ।