हङ्कङ । शनिबार प्रजातन्त्रवादी प्रदर्शनकारी र प्रहरीबीच भएको मुठभेडमा घाइते भएकामध्ये पाँचजनाको अवस्था गम्भीर रहेको हङ्कङको अस्पतालका अधिकारीले जनाएको बताइएको छ । भर्ना गरिएका ३१ जनामध्ये १८ जना अस्पतालबाट घर फर्काइएका छन् भने थप आठजनाको अवस्था स्थिर रहेको बताइएको छ ।
भाग्दै गरेका प्रदर्शनकारी र दंगा प्रहरीबीच युद्धमैदान जस्तो बनेपछि हङ्कङका केही मेट्रो स्टेशनहरू आइतवार बन्द रहने बताइएको छ । प्रहरीले एउटा मेट्रो स्टेशनमा प्रवेश गरेर धरपकड गरेको र पिरो वस्तु छरिदिएको बताइएको छ । एक ठाउँबाट ४० जना गिरफ्तार गरिएको थियो । अदालतले एक आदेश जारी गर्दै प्रतिबन्ध लगाएको भए पनि प्रदर्शनकारीले अन्तर्राष्ट्रिय विमानस्थल वरपरका सडक बन्द गरिदिने योजना बनाएको बताएका छन् ।
हङ्कङका अधिकारीहरूले कानुनी शासन कायम गराउने बताएका छन् र मानिसहरूलाई हिंसा अस्वीकार गर्न आग्रह गरेका छन् । चिनियाँ राज्य सञ्चालित सञ्चार माध्यमले उक्त भूभाग नियन्त्रण बाहिर जाने खतरा बढेको भन्दै कानुन स्थापित गरिनुपर्ने समय आएको बताएका छन् । हङ्कङमा प्रतिबन्ध बेवास्ता गर्दै आइतवार पनि विरोध प्रदर्शनमा उत्रिएका दशौं हजार मानिसलाई हङ्कङको दंगा प्रहरीले अश्रुग्यास, रबरको गोली र पानीको फोहोरा प्रयोग गरेको थियो ।
अधिकारीले सडक खाली गराउनका लागि चेतावनी स्वरूप पाँच हवाई फायरसमेत गरेका थिए । प्रदर्शनकारीले आगो बालेका थिए, पेट्रोल बम प्रहार गरेका थिए र संसद् भवनमा आक्रमण गरेका थिए । हङ्कङमा पूर्ण प्रजातान्त्रिक चुनावमाथि चीनले प्रतिबन्ध लगाएको पाँच वर्ष पुगेको सन्दर्भमा शनिबार प्रदर्शन गरिएको थियो ।
शुक्रबार कैयौं प्रजातन्त्रवादी अभियानकर्मी र चीनको विशेष प्रशासित क्षेत्रका सांसदहरू गिरफ्तार गरिएका थिए । अपराधमा सन्दिग्धलाई मुद्दा चलाउन मुख्यभूमि चीन लग्न मिल्ने किसिमको सुपुर्दगी विधेयक आएपछि सुरु भएको आन्दोलन विधेयक स्थगित भएपछि पनि निरन्तर चलिरहेको छ । विधेयक स्थगित गरिएपनि विरोध प्रदर्शन वृहत् प्रजातन्त्रवादी आन्दोलनको स्वरूपमा चलिरहेको छ र मुठभेड झन् झन् हिंसात्मक बन्दै गएको छ । प्रदर्शनकारीले इँट्टाका टुक्राहरू अगाडि अगाडि सारिरहेका थिए ।
प्रहरी अगाडि नबढुन् भनेर रोक्नका लागि तिनको प्रहार गरिएको थियो । प्रहरीले अश्रुग्यास प्रहार ग¥यो त्यसपछि रबरका गोलीहरू । तर प्रहरीको प्रहारको जवाफ पेट्रोल बमहरू प्रहार गरेर दिइयो । तीन महिनादेखि प्रदर्शन गर्दै आएका कैयौं युवा प्रदर्शनकारी संघर्षप्रति झन कट्टर बन्दै गएका छन् । उनीहरूसँग रणनीति छ, हिंसा भए स्वीकार्न तयार बन्दै गएका उनीहरू संगठित पनि छन् ।



















