मुम्बई । भारतीय अभिनेता सलमान खान बेलाबेलामा उनको व्यक्तिगत जीवनका कुरा र फिल्मीकुराबाट चर्चामा आइरहन्छन् । उनको नयाँ चलचित्र ‘इन्शाअल्लाह’को विषयले चर्चा पाएको छ । यो चलचित्र थिएटर राइट्स पेन इन्टरटेन्मेन्टले १ सय ९० करोडमा किनेको छ त्यसैले बलिउडमा थप चर्चा चलेको हो ।
अहिले एक गीतको छायांकन भइरहेको यो चलचित्रको निर्माणको काम नसकिँदै उक्र महँगो मूल्यमा बिक्री हुँदा चलचित्रले ठूलो फाइदा लिनसक्ने देखिएको छ । निर्माण टिमबाट भने कारोबारको आधिकारिक बयान आएको छैन ।
निर्देशक सञ्जय लीला भन्सालीले निर्देशन गरेको यो चलचित्रमा नायिका आलिया भट्टले २० वर्षीय युवतीको भूमिका निभाउने छिन् भने, अभिनेता सलमान ४० वर्षको अर्धवैशे पुरुषको भूमिकामा देखिनेछन् । आलिया र सलमानको बीच उमेरको ठूलो अन्तर भएका कारण फिल्मको कास्टिङलाई लिएर विभिन्न सवाल उठेको छ ।
यद्यपि, यो फिल्मको दर्शकमा व्यग्र प्रतीक्षा छ । पहिलो पटक सलमान र आलियाले स्क्रिन साझेदारी गर्न लागेका हुन् । चलचित्र ‘हम दिल दे चुके सनम’ रिलिजको करिब २० वर्षपछि निर्देशक सञ्जय लीला भन्साली र अभिनेता सलमान खानले यो फिल्ममा काम गर्न लागेका हुन् । सञ्जयले अभिनेत्री आलियासँग पनि पहिलो पटक काम गर्न लागेका हुन् । अर्को वर्षको इदमा फिल्म रिलिज हुनेछ ।




















