काठमाडौं । गएको शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘जाइरा’मा समावेश ‘जिन्दगीको खेल’ सार्वजनिक गरिएको छ । नायिका नम्रता श्रेष्ठको मुख्य भूमिका रहेको यो चलचित्रको अहिले सार्वजनिक गरिएको गीतको भिडियोमा प्रियंका आरएल थापा, मोनिषा कर्माचार्य, मोनिका कर्माचार्य र सेलिषा श्रेष्ठको गेष्ट अपिरियन्स छ । पदमबहादुर श्रेष्ठ ‘बाबु’ ले गीत खिचेका हुन् ।
बदलाको कथामा आधारित भएर बनेको ‘जाइरा’ मा अभिनेत्री नम्रता मार्शल आर्ट खेलाडीको भूमिकामा छिन् । फिल्ममा उनलाई एक्सन अवतारमा देख्न सकिन्छ । आफ्नो चरित्रलाई आत्मसात गर्न आठ महिना लामो तालिम लिएर उनले मार्शल आर्टका सबै फर्म सिकेकी थिइन् । फिल्ममा मार्शल आर्ट खेलाडी बन्नका लागि उनले अफस्क्रिन गरेको मिहिनेत प्रष्ट देखिन्छ ।
यसमा नम्रतासँगै प्रमोद अग्रहरि, अनुप विक्रम शाही, रेमन दास श्रेष्ठ, नव–कलाकारहरू सिर्जना रेग्मी, सुजता श्रेष्ठ र सम्राट् मगर लगायतको अभिनय छ । फिल्मका निर्देशक आशुतोष राज श्रेष्ठ हुन् । प्रशन्न गोपाली कार्यकारी निर्माता रहेको फिल्मलाई बाबु श्रेष्ठले खिचेका हुन् भने लोकेश बज्रचार्यको सम्पादन छ । फिल्मको पटकथा निर्देशक श्रेष्ठ र निरोज महर्जनको हो ।
अभिनेत्री श्रेष्ठको फिल्म प्रोडक्सन कम्पनी नम्रता श्रेष्ठ प्रोडक्सन र ट्रेन्ड सेटर्सको ब्यानरमा निर्माण भएको फिल्ममा सम्राट बस्नेको द्वन्द्व निर्देशन छ । दर्शकबाट मिश्रित प्रतिक्रिया बटुलेको यो फिल्मले बक्सअफिसमा सन्तोषजनक व्यापार गरिरहेको निर्माण टिमबाट जानकारी प्राप्त छ । फिल्म हेर्ने दर्शकले अभिनेत्री नम्रताको अभिनय र मिहिनेतको प्रशंसा गरेका छन् ।




















