काठमाडौं । हिमालयन कार्गो तथा बनबोरी माता ट्रेडर्सका मुख्य कारोबारी विनोद कुमार गुप्तालगायत एक दर्जभन्दा बढी व्यापारीविरुद्ध राजस्व अनुसन्धान विभागले अदातलमा मुद्दा दायर गरेको छ ।
विभागले भन्सार चोरी पैठारीसमेत गरी राजस्व चुहावट तथा विदेशी विनिमय अपचलन गरेको अभियोगमा ४७ करोड ८९ लाख विगो माग दाबीसहित काठमाडौं जिल्ला अदालतमा मंगलबार मुद्दा दायर गरेको हो ।
हिमालयन कार्गो तथा बनबोरी माता ट्रेडर्सका मुख्य कारोबारी गुप्ता, हिमालयन कार्गोका प्रोपाइटर मधुकुमारी चौधरी, बनबोरीमाता ट्रेडर्सका सञ्चालक रविन्द्र गुप्ता, बनबोरी माता ट्रेडर्सका खाता सञ्चालक एवं कारोबारी राहुलकुमार गुप्ता तथा भीआर इन्टरनेशनलका सञ्चालक वीरेन्द्र गुप्तासमेतले बनबोरी माता ट्रेडर्स र भिआर इन्टरनेशनलको कारोबारको संचालन तथा व्यवस्थापन हिमालयन कार्गोमार्फत नेपालगञ्जबाट भन्सार चोरी पैठारी गरी भन्सार महसुल, मूल्य अभिवृद्धिकर (भ्याट) तथा आयकर राजस्व छली गरेको विभागले जनाएको छ ।
उनीहरूले आपसी मिलेमतोमा सञ्चालक रोहित अग्रवाल रहेको अमरपाली इन्टरनेशनल, रेयाजुल अन्सारी प्रोपाइटर रहेको एनआइसी आई ट्रेडर्स, बृजलाल रावत प्रोपाइटर रहेको पिजी इम्पोर्ट हाउस, शिवराज भट्टराई प्रोपाईटर रहेको मार्को इन्टरनेशनल, रोहित अग्रवाल सञ्चालक रहेको श्याम ट्रेडिङ प्रालि, ईश्वर दयाल हजार दुशाध प्रोपाइटर रहेको महादेव ट्रेड इन्टरप्राइजेज नामक फर्महरू उल्लेखित व्यक्तिका नाममा दर्ता गरी गराई उक्त फर्मको कारोबार हिमालयन कार्गोमार्फत गरी उक्त फर्मका नामबाट मालवस्तु आयात तथा बिक्री गरी भ्याट विवरणमा नदेखाई तथा आय विवरण नबुझाई कारोबार पाइएको विभागले जानकारी दिएको छ ।
उनीहरूले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ को दफा ३ ले निषेधित गरेको कार्य गरी सोही ऐनको दफा ४ बमोजिमको कसुरजन्य कार्य गरी संलग्न विगो गणना तालिकाअनुसारको बनबोरी माता ट्रेडससमेतका उल्लेखित सम्पूर्ण फर्मले भन्सार महसुलतर्फको विगो १४ करोड ९९ लाख ८० हजार ४ सय ६९, भ्याटतर्फकोे बिगो २१ करोड ५७ लाख ३६ हजार ५ सय ६१ र आयकरतर्फको बिगो ९ करोड ६ लाख ८६ हजार ३ सय २७ समेत गरी जम्मा राजस्व चुहावटको विगो ४५ करोड ६४ लाख ३ हजार ३ सय ५७ रुपैयाँ कायम गरी प्रतिबादी विनोदकुमार गुप्ता, मधुकुमारी गुप्ता, रविन्द्र कुमार गुप्ता, वीरेन्द्रकुमार गुप्ता र राहुलकुमार गुप्ताविरुद्ध मुद्धा दायर गरिएको विभागले जनाएको छ ।
उनीहरूसहित ४ जना राष्ट्र सेवक कर्मचारीसमेत १५ जना प्रतिवादीबाट विगो असुलउपर गरी उनीहरूलाई राजस्व चुहावट ऐन, २०५२ कोदफा २३ (१) बमोजिम सजाय माग दाबी गरिएको ।
त्यस्तै प्रतिवादीहरू विनोदकुमार गुप्ता, रविन्द्र गुप्ता, वीरेन्द्र गुप्ता, राहुलकुमार गुप्ता, मधुकुमारी चौधरीले आपसी मिलेमतोमा हिमालयन कार्गोबाट कारोबारको व्यवस्थापन गर्ने गरी बनबोरीमाता ट्रेडर्स नामक कम्पनी सञ्चालक रविन्द्र गुप्ताको नाममा बैंक खाता खोली एभरेष्ट बैंकमा उक्त फर्मको खाता सञ्चालक रविन्द्र गुप्ता र राहुलकुमार गुप्ताको नामबाट सञ्चालन हुने पबवन्ध गरी सो बैंकबाट सामान आयातका लागि भारतका विभिन्न कम्पनीलाई मालवस्तु आयात नगरी विदेशी विनिमय अपचलन गरेको पाइएको छ ।
उनीहरूले बनबोरी माता ट्रेडर्समार्फत मालवस्तु आयात गर्ने प्रयोजनार्थ रकम विदेश पठाई सो बापत सामान आयात नगरी २ करोड २४ लाख ९९ हजार १६ रुपैयाँबराबर विदेशी मुद्रा नेपालबाहिर बाहिर पठाइ विदेशी विनिमय ऐन २०१९ को कसुर गरेको विभागले उल्लेख गरेको छ ।
उनीहरूउपर सोही ऐनको दफा १७(१) बमोजिम उनीहरूले मालवस्तु आयातका लागि विदेश पठाएको तर मालवस्तु आयात नगरी विदेशी विनिमय अपचलन गरेको २ करोड २४ लाख ९९ हजार १६ रुपैयाँलाई नै बिगो कायम गरी बिदेशी विनिमय ऐन २०१९ को कसुरमा बिगो असुलउपर गरी विगो बमोजिम जरिवानादेखि विगोको तीन गुणासम्म थप जरिवाना हुन र कसुरको विगो १ करोड भन्दा बढी भएकाले कैद सजायसमेत माग दाबी गरी मुद्दा दायर गरिएको छ ।



















