काठमाडौं । यही भदौ दोस्रो साता काठमाडौंमा विद्युतीय ठूला बस सार्वजनिक यातायातमा प्रवेश गर्दै छन् । सुन्दर यातायात प्रालिले यस्ता चार वटा बस सञ्चालन गर्न लागेको हो ।
गत वैशाखमै सेवा सुरु गर्ने भनेको भए पनि चार्जिङ स्टेसन स्वीकृत नहुँदा रोकियो । अझै पनि सरकारले चार्जिङ स्टेशनसम्बन्धी नियम बनाएको छैन । चार्जिङ शुल्क तोकेको छैन । सुन्दर यातायातले आफ्नै ग्यारेजम चार्ज गरेर विद्युतीय ठूला बस सञ्चालन गर्ने तयारी गरेको छ ।
सुन्दर यातायातले सुकेधारा र सीतापाइलामा चार्जिङ स्टेसन बनाएको छ । यी स्टेसनमा एक पटकमा दुईवटा ठूला बस जार्ज गर्न सकिन्छ भने सात वटासम्म कार एकैपटक चार्ज हुन्छन् । विद्युतीय सवारीसाधन ऐन र नियम नहुँदा चार्जिङ स्टेसन सञ्चालनको अनुमति पाउन सकेको छैन । सार्वजनिक सेवाका लागि चार्जिङ स्टेसनले अनुमति नपाएपछि तत्कालका लागि चावहिलस्थित ग्यारेजमै ‘होम चार्जिङ’ गरेर बससेवा सञ्चालन गर्ने सुन्दर यातायातको तयारी छ ।
सरकारले विद्युतीय सवारीसाधन प्रवद्र्धन गर्न ठाउँठाउँमा चार्जिङ स्टेसन बनाउने भनेको भए पनि त्यससम्बन्धी ऐन–नियम नल्याएकोले समस्या भएको सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाको भनाइ छ । ऐन–नियम नहुँदा चार्जिङ स्टेसनको विद्युत् महसुल र चार्जिङ शुल्क कति हुने भन्ने टुंगो छैन । हाल चलिरहेका निजी सवारीसाधन र तीनपांग्रे सार्वजनिक साधन होम चार्जिङबाटै चलेका छन् ।
अध्यक्ष थापाका अनुसार सुन्दर यातायातका दुईवटा बस सेवा सञ्चालनका लागि तयारी अवस्थामा छन् । परीक्षण पनि भइसकेको छ । थप दुईवटा बस चाँडै आइपुग्दै छन् ।
सुन्दर यातायातले विद्युतीय बस चीनको सेच्चु अटो मोवाइल कम्पनीबाट ल्याएको हो । उक्त कम्पनी चीनमा ६० वर्ष अगाडि स्थापान भएको हो । नेपाल ल्याइएका बस यात्रुका लागि सुविधासम्पन्न र सुरक्षित रहेको अध्यक्ष थापाले बताए । उनका अनुसार एउटा बसको मूल्य १ करोड ६२ लाख रुपैयाँ छ । एकपटक पूरा चार्ज गर्न २ घण्टा लाग्छ र यसले २६८ किलोमिटर गुड्छ । बसमा ४० वटा सिट छन्, ३० जना उभिन मिल्छ । यसरी बसले एक पटकमा ७० जना यात्रु बोक्छ । बसमा ७ वटा सिसी क्यामेरा र एउटा वातानुकूलित यन्त्र जडान गरिएका छन् ।
ढोका बन्द भएपछि मात्र बस गुड्छ । बसमा भाडाकार्डको व्यवस्था छ । दैनिक यात्रा गर्नेले भाडा कार्ड प्रयोग गर्न सक्छ । भाडाकार्ड नलिनेले यातायात व्यवस्था विभागले तोकेको भाडामा २० प्रतिशत छुट पाउँछ । कार्ड रिचार्ज मिल्छ तर दुई वर्षमा नवीकरण गर्नुपर्छ ।
कम्पनी अध्यक्ष थापाका अनुसार चार्जिङ स्टेसन सञ्चालन गर्ने अनुमति नपाएसम्म चारवटा मात्र बस सञ्चालन हुनेछन् । अनुमति पाएपछि १७ वटा बस चलाउने हालको योजना छ ।
सुन्दर यातायातले तत्काल विद्युतीय बसको लागि चक्रपथ परिक्रमा र चक्रपथबाट बूढानीलकण्ठ, चावहिल हुँदै अत्तरखेलसम्मको रुट अनुमति लिएको छ । बसको संख्या बढ्दै जाँदा रुट थपिने छन् । सुन्दर यातायात प्रालिमा हाल ८१ जना शेयर सदस्य रहेको जनाइएको छ ।



















