एन्फाले छानेको प्रशिक्षकको विरोध

काठमाडौं । अखिल नेपाल फुटबल संघअन्तर्गतको फुटसल समितिले एएफसी फुटसल च्याम्पियनसिपका लागि नियुक्त गरेका प्रशिक्षकप्रति अन्य प्रशिक्षकले असन्तुष्टि व्यक्त गरेका छन् । फुटसल समितिले यसै साता विष्णु गुरुङलाई राष्ट्रिय फुटसल टोलीको मुख्य प्रशिक्षकका रूपमा छनौट गरेको थियो ।

उक्त नियुक्तिको विभिन्न ९ जना प्रशिक्षकहरूले विज्ञप्ति नै जारी गर्दै विरोध जनाएका हुन् । मंगलबार विज्ञप्ति जारी गर्नेहरूमा राष्ट्रिय फुटसल टोलीका पूर्वप्रशिक्षक राकेश श्रेष्ठ, राजेश शाही, सरोज थापा, नरेश श्रेष्ठ, दीपक भुषाल, चेतन घिमिरे, विक्रम महर्जन, पुरुषोत्तम थापा र चक्र तामाङ छन् ।

उनीहरूले विज्ञप्तिमा कम अनुभव बोकेको र हाल पनि फुटबल खेलिरहेका व्यक्तिलाई प्रशिक्षणमा नियुक्त गरिएको बारेमा असन्तुष्टि जनाएका छन् । विज्ञप्तिमा भनिएको छ, ‘प्रशिक्षक छान्ने काम प्राविधिक समितिले गर्नुपर्नेमा फुटसल कमिटीले गरेकोमा हाम्रो आपत्ति छ । राजनीतिक शक्ति प्रयोग गरी प्रशिक्षक नियुक्ति गरिएको यसअघि उनीहरूले नै फन्दै आएका थिए । 

नेपालमा फुटसल लेभल वान प्रशिक्षण गरेका १८ जना दक्ष प्रशिषक भएता पनि त्यसमध्येबाट प्रशिक्षकका बीच फुट ल्याउने उदेश्यका साथ सबभन्दा कम अनुभवी र हाल फुटबल खेलिरहेका वर्तमान खेलाडीलाई नियुक्ति गर्नुको कारण एन्फाले सार्वजनिक गर्नुपर्छ ।’ नेपाली फुटसल टोली हाल अर्काे वर्ष इरानमा हुने एएफसी फुटसल च्याम्पियनसिपको छनोट खेलका लागि तयारीम व्यस्त रहेका बेला प्रशिक्षक विवाद आएको हो । छनोट खेल ताजिकिस्तानमा अक्टोवरमा हुनेछ । सेन्ट्रल र साउथ जोनअन्तर्गत छनोटमा नेपाल ताजिकिस्तान, उज्वेकिस्तान र अफगानिस्तान रहेको समूह ‘ए’मा रहेको छ ।

नेपालले पहिलो खेलमा ताजिकिस्तानसँग अक्टोवर २३ मा खेल्नेछ । २४ अक्टोवरमा उज्बेकिस्तान र २५ अक्टोबरमा समूहको अन्तिम खेलमा अफगानिस्तानसँग खेल्नेछ । राउण्ड रोविनपछि ६ वटा समूहका विजेता टोलीले अन्तिम चरणमा प्रवेश पाउनेछन् । प्रारम्भिक छनोटमा परेका नेपाली खेलाडीहरूमा सुमित आले, नेत्रबहादुर श्रेष्ठ, अनिष श्रेष्ठ, रविचन्द्र थापा, नवीन लामा, आदिल हामिद, विजय श्रेष्ठ, विनोद गुरुङ, आशिष लामा, अमित लामा, दिपेश घले, निर्मल गुरुङ, अभय राना, विजय गुरुङ, आशिष कपाली, सन्दीप कार्की, विश्वजित राई, एलिक तामाङ, जेनिस प्रजापति, मनि लामा, सरोज तामाङ, प्रवेश जोशी, दिपेश श्रेष्ठ, रूपेश क्षेत्री, क्रिजल खड्का, उर्जेन शेर्पा, राफी महर्जन, मनिष सेढाइँ, मिसन लामा, सञ्जय राजवहाक, विजय बोहरा र हिमसेल जिसी छन् ।