कश्मीरबारे भारत र पाकिस्तानी प्रधानमन्त्रीसँग ट्रम्पको फोनवार्ता

वासिंगटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कश्मीर विवादबारे भारत र पाकिस्तानका प्रधानमन्त्रीसँग छुट्टाछुट्टै कुराकानी गरेका छन् । राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्वीटरमार्फत् फोनमा दुवै देशका प्रधानमन्त्रीसँग आफूले कुरा गरेको बताएका छन् । उनले ट्वीटमा भनेका छन्, ‘मैले मेरा दुई असल साथी भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानका प्रधानमन्त्री इमरान खानसँग कुराकानी गरेको छु ।’ 

व्यापार, रणनीतिक साझेदारी, भारत र पाकिस्तानको सहकार्य लगायतका विषयमा पनि कुराकानी भएको ट्रम्पले उल्लेख गरेका छन् । कश्मीर मामिलामा परिस्थिति नराम्रो भए पनि वार्ता निकै राम्रो भएको राष्ट्रपति ट्रम्पले जानकारी दिएका छन् । भारत र पाकिस्तानबीच तनाव बढिरहेका बेला अमेरिकी राष्ट्रपतिले गरेको कुराकानीलाई महत्वपूर्ण मानिएको छ । यही अगस्ट ५ तारिखका दिन भारत सरकारले संविधानको धारा ३७० खारेज गरेर जम्मु कश्मीरलाई दिइएको विशेष अधिकार समाप्त गरेको थियो । भारत सरकारले जम्मु कश्मीरलाई केन्द्र शासित प्रदेश तथा जम्मु कश्मीरबाट लद्दाख क्षेत्रलाई अलग गरी अर्को केन्द्र शासित प्रदेश बनाएको थियो । पाकिस्तानले भारतीय निर्णय एकपक्षीय भएको भन्दै सो कदम अस्वीकार्य भएको बताएको छ । चीनले पनि भारतीय कदम अस्वीकार्य रहेको बताएको छ । 

यही विषयलाई लिएर संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्मा गोप्य बैठकसमेत भइसकेको छ । भारतले कश्मीर मामिला आन्तरिक भएको बताउँदै आएको छ भने पाकिस्तानले यो अन्तर्राष्ट्रिय विवादित भूमि भन्दै भारतले एकपक्षीयरूपमा कुनै निर्णय लिन नसक्ने बताइरहेको छ । यही विषयलाई लिएर पाकिस्तानी अधिकारी तथा भारतीय अधिकारीले आक्रामक बयान दिइरहेका छन् । दक्षिण एसियामा आणविक युद्धको खतरा बढिरहेका बेला अमेरिकाले दुई आणविक सम्पन्न मुलुकलाई शान्तिको प्रयास गर्न भनेको हो । यसअघि गएको फेब्रुअरीमा १४ मा भारत प्रशासित कश्मीरको पुलवामा जिल्लामा ४४ जना भारतीय सुरक्षाकर्मीको ज्यान जानेगरी भएको आक्रमणले पनि भारत र पाकिस्तानबीच तनाव बढाएको थियो । भारतले २६ फेब्रुअरीमा पाकिस्तानको बालाकोटमा हवाई आक्रमण गरेको थियो भने पाकिस्तानले २७ फेब्रुअरीमा भारत प्रशासित कश्मीरमा आक्रमण गरेको थियो । त्यसपछि आणविक हतियार प्रयोग हुनसक्ने खतरा बढेपछि अमेरिकी राष्ट्रपति ट्रम्पले दुवै देशलाई शान्त पारेका थिए । अमेरिकी हस्तक्षेपपछि सो तनाव बिस्तारै कम हुँदै गएको बेला भारतले कश्मीरको विशेषाधिकार खारेज गरेपछि फेरि दुई मुलुकबीच तनाव बढेको छ । यही विषयलाई लिएर पाकिस्तानले भारतसँगको कूटनीतिक सम्बन्धमा कटौती गरेको छ भने व्यापार तथा यातायात सम्बन्ध तोडेको छ ।