जहाँ दशकौंदेखि दुस्मनी सेना आमनेसामने

नयाँदिल्ली  । ‘सुरुमा हामी एकअर्काविरुद्ध लाइट मेसिन गनबाट गोली हानाहान गर्छौँ । त्यसपछि मिडियामा मेसिन गनको प्रयोग हुन्छ । अनि मोर्टार आक्रमण हुनेगर्छ । केही वर्षयता हामीले दुवै पक्षबाट आर्टिलरी प्रयोग हुन थालेको पाएका छौँ । जब स्थिति बिग्रन थाल्छ अनि हाम्रा वरिष्ठ कमाण्डरहरूले पाकिस्तानी समकक्षीसँग कुरा गरेर स्थिति साम्य पार्न प्रयास गर्छन् ।’

भारतीय सेनाका एक अवकाशप्राप्त अधिकारीले कश्मीरस्थित नियन्त्रण रेखामा दुई सेनाबीच हुने गोली हानाहानको अवस्था यसरी व्याख्या गरे । परमाणु शक्ति सम्पन्न प्रतिद्वन्द्वी भारत र पाकिस्तानका झण्डै दश सैनिक विवादित क्षेत्रमा केही मिटरको दूरीमा आमनेसामने परिचाालित छन् । यो क्षेत्र विश्वकै सबभन्दा धेरै सैनिक परिचालित क्षेत्रमा पर्छ । 

शत्रुको बन्दुकको छायामा निरन्तर त्यसरी काम गर्नु, खानु र सुत्नुपर्दा कस्तो अनुभव हुन्छ भन्नेबारे भारत र पाकिस्तानका दुई अवकाशप्राप्त अधिकारीहरूले बीबीसीसँग आप्mनो धारणा व्यक्त गरेका छन् । 

‘सबैलाई शान्ति मनपर्छ । शान्ति एउटा आदर्श हो । कुनै–कुनै बेला शान्ति प्राप्त गर्न पनि तपाईंले युद्ध गर्नुपर्छ,’ एक पाकिस्तानी अधिकारीले भने । ‘तपाईंले कि त मार्नुपर्छ कि त मारिनुपर्छ । अरू थोक सोच्ने वा विचार गर्ने केही छैन,’ उनका भारतीय समकक्षीले बताए ‘सिमानामा कहिले पनि स्थिति एकनासको हुँदैन । खतरापूर्ण अनि चलायमान स्थिति रहन्छ । हामीहरू उनका चौकीमाथि हाबी हुन खोज्छौँ र उनीहरू हाम्रा चौकी कब्जा गर्न खोज्छन्,’ भारतीय सेनाका अवकाशप्राप्त अधिकारी कर्नेल मुरुगानन्थमले भने । 

सेकेन्ड लेप्mटिनेन्ट हुँदा युवावस्थामा मुरुगानन्थम (उनी यही नाम प्रयोग गर्छन्) भारत र पाकिस्तान–प्रशासित कश्मीरलाई छुट्याउने नियन्त्रण रेखामा खटिएका थिए । उनले भने, ‘त्यो सन् १९९३ को बेला थियो, त्यो समय पाकिस्तानले भारतमा विद्रोहीको घुसपैठ गराउन खोजिरहेको थियो । अग्रमोर्चामा रहेका हामीहरूको जिम्मेवारी भनेको तिनलाई रोक्नु थियो । जबजब उतापट्टिबाट गोली चल्थ्यो तबतब हामीलाई थाहा हुन्थ्यो कि उनीहरू घुसपैठ गर्नेहरूलाई सजिलो बनाइदिने प्रयास गरिरहेका छन् । त्यतिखेर हामी थप चनाखो हुन्थ्यौँ र घुसपैठ गर्नेहरूलाई खोज्थ्यौँ । सुरुमा पाकिस्तानले उसले विद्रोहीहरूलाई केवल नैतिक समर्थन गरेको बतायो । तर, तीव्र अन्तर्राष्ट्रिय दबाबपश्चात् उसले भारतमा आतंकवादी आक्रमण गर्न जिम्मेवार व्यक्ति तथा संस्थाविरुद्ध कारबाही गर्न स्वीकार ग¥यो ।’

‘कश्मीरमा युद्धविराम भएको बेला म त्यहाँ खटाइएको थिएँ । तर, पनि हामी उच्च सतर्कतामा रहन्थ्यौँ,’ नाम बताउन नचाहने एक अवकाशप्राप्त पाकिस्तानी कर्नेलले बताए । हालसालै पाकिस्तानले छानिएका २६ अवकाशप्राप्त अधिकारीबाहेक अन्यलाई सञ्चारमाध्यमको सम्पर्कमा आउन प्रतिबन्ध लगाएको छ । तिनै छानिएका मध्ये कसैसँग कुरा गर्न बीबीसीले पाकिस्तानी सेनामार्फत गरेको प्रयास सफल भएन । त्यसैले, बीबीसीले सम्पर्क गरेका ती पाकिस्तानी अधिकारीले उनले सन् २००६ देखि २००८ का बीचमा ती भारतीय अधिकारी खटिएकै क्षेत्र पुच्छरमा खटिएको बेलाको अनुभव सुनाए । तर, नाम नबताउने सर्तमा । ‘केही चौकीहरू बडो प्रभावकारीरूपमा लुकाइएका हुन्छन् र ती खासै देखिँदैनन् । तर, हामीलाई थाहा हुन्छ ती त्यहाँ छन् भनेर’, उनले भने, ‘हाम्रा केही चौकी निकै नजिक–नजिक हुन्छन् । एउटा ठाउँमा त भारतीय र पाकिस्तानी चौकी बीचको दूरी केवल २५ मिटर थियो ।’ 

शत्रुको त्यति नजिक बस्नु सहज विषय होइन । भारतीय सेनामा सैनिक तथा युवा अधिकारीहरूलाई सामान्यतया एक वा दुई महिनाका लागि अग्रमोर्चामा खटाइन्छ । त्यहाँ शत्रुपक्षसँग आमनेसामने हुनुपर्छ । ‘हामीबीचको दूरी केवल डेढ सय मिटर थियो । मैले उनीहरूले आप्mना हतियार सफा गरिरहेको समेत प्रस्टसँग देख्न सक्थेँ,’ कर्नेल मुरुगानन्थमले सम्झिए, ‘अर्को समयमा, म अलि होचो भूभागमा थिएँ । मैले उनीहरूको गतिविधि प्रत्यक्ष नदेखे पनि उनीहरूले निरन्तर हामीलाई निगरानी गरिरहेको मलाई थाहा थियो ।’ 

जब एकअर्काप्रति घृणा गर्ने अस्त्रशस्त्र अनि प्रशिक्षणयुक्त दुई सेना आमनेसामने हुन्छन्, जुनसुकै बेला जेसुकै हुनसक्छ । ‘एकचोटि हाम्रा एक सैनिक पाकिस्तानी मेसिन गन फायरमा मारिए, ‘कर्नेल मुरुगनन्थमले सुनाए, ‘हाम्रो बटालियनमाझ एकदमै उदासीको अवस्था आइप¥यो । तर, लगत्तै त्यो अनुभूति प्रतिशोधको मागमा बदलियो । हामी अधिकृतहरूले थमथमायौँ र सैनिकहरूलाई हामीले अवश्य प्रतिक्रिया जनाउनेछौँ भनेर आश्वस्त पा¥यौँ ।’ 

पाकिस्तानी कर्नेलले चाहिँ उनी त्यहाँ खटिएको बेला गोलाबारी नभएको तर उनका फौज बेलाबेला भावनात्मक बन्ने गरेको बताए । उनले भने, ‘जब–जब हामीलाई भारतनियन्त्रित कश्मीरमा ज्यादती भएका खबर सुन्थ्यौँ तब–तब हाम्रा सैनिक अशान्त हुन्थे । सामान्य स्थितिमा फर्कन कैयौं दिन लाग्थ्यो ।’ सीमामा खटिएको सैनिकका निम्ति शत्रु मात्र खतरा भने होइन । हेर्दा सुन्दर हिमचुलीसहितका भूभाग त्यहाँ खटिने सैनिकका लागि निर्दयी हुने गर्छन् । ‘निमोनिया र छातीमा हुने एलर्जी ठूला चुनौती हुन् । बिरामी सैनिकलाई उद्धार गर्दा स्वस्थ सैनिक पनि जोखिममा पर्छन्’, पाकिस्तानी अधिकृतले भने । भारतीय कर्नेलले भने, ‘निकै उच्च भूभागमा रहँदा विभिन्न जटिलता हुन्छन् । एक त त्यहाँ बस्नु अगाडि छ दिन जति उच्च भूभागमा बस्नको लागि अनुकूलन हुनुपर्छ ।’