पर्यटक पार्किङ स्थलको ताल्चा खुल्यो, १८ महिनापछि पोखरी निर्माण सुरु गर्ने

ललितपुर । ललितपुर महानगरपालिकाले १८ महिना पछिपलेस्वाः पुखु निर्माण सुरु गर्नेलगायत निर्णय सार्वजनिक गर्दै पर्यटकको सवारीसाधन पार्किङ स्थलको ढोकामा लगाएको ताल्चा आइतबार खोलेको छ । 

ललितपुर महानगरपालिका कार्यालय भवनको दक्षिणपट्टि रहेको करिब पाँच रोपनी उक्त जग्गामा नःत्वाःसुधार समितिले साउनको १ गते ताल्चा लगाएको थियो । असार ३१ गतेसम्म समितिले नै सो स्थानमा पार्र्किङ सञ्चालन गरेका थियो । महानगरले टेण्डर प्रक्रियामार्फत आएको समूहलाई पार्किङ सञ्चालनको स्वीकृति दिएपछि उक्त समितिले सो पार्किङ स्थलमा पोखरी नै निर्माण गर्नुपर्ने मागअघि सारेको थियो । 

महानगरले आइतबार सार्वजनिक गरेको कार्यक्रमनुसार आउँदो मंगलबार डिपिआर र इआइए कार्य सुरु गर्ने उल्लेख गरिएको छ । महानगरका प्रमुख चिरीबाबु महर्जनले पर्यटक भ्रमण वर्ष २०२० लाई लक्षित गरेर केही समय पार्किङ नै सञ्चालन गर्न लागेको बताए । उनले भने, ‘पाटन दरबार क्षेत्र प्रवेश गर्ने मुख्य मार्ग पुल्चोक हो, महानगरको अन्यत्र खुला ठाउँ छैन, त्यसैले पार्किङ नै सञ्चालन गर्न लागेका हौं ।’ नगरप्रमुख महर्जनले महानगरले पोखरीको ठाउँमा चिरकाल पर्यन्त पार्किङ सञ्चालन गर्ने योजना नबनाएको प्रष्ट पारे ।

महानगरले यो विवादलाई संवाद र सहमतिबाटै टुंगोमा पु¥याउन वडा–३ का अध्यक्ष श्रीगोपाल महर्जनको संयोजकत्वमा दुई सदस्यीय वार्ता समिति गठन गरेको थियो । वार्ताको मध्यस्तता ज्यापू समाजले गरेको थियो । महानगरलाई मासिक ४० हजार रुपैयाँ तिर्ने गरी टेण्डर सम्झौता गरी उक्त समितिले पार्किङ सुरु गरेको थियो । 

उक्त अवधिमा भएको टेण्डर सम्झौतानुसार प्रत्येक वर्ष निश्चित प्रतिशत बढ्दै जाँदा यो गत असार मसान्तसम्म ५७ हजार पुगेको थियो । जुन हालको समयमा अत्यन्तै न्यून हो । उक्त पार्किङ स्थलका लागि एक लाख ६१ हजारको टेण्डर प्राप्त भएको छ । 

नःत्वाः सुधार समितिको पार्किङ सञ्चालन गर्ने समयावधि असार मसान्तमा सकिने भएकाले महानगरपालिकाले जेठ १० गते नै राष्ट्रिय दैनिक पत्रिकामा टेण्डरको सूचना प्रकाशित गरेको थियो । टेण्डर आहृवान गर्दा उक्त समिति टेण्डरमा सहभागी भएन । 

पार्किङ सञ्चालन भएको स्थान २०२१ सालसम्म पोखरी थियो । त्यहाँ टीकाभैरवदेखि राजकुलोबाट पानी आउथ्यो । बस्ती विस्तारसँगै राजकुलो मासियो । मैदान बनेको पलेश्वाः पुखुः रहेको स्थानमा २०५४ सालमा तत्कालीन उपमहानगरको सक्रियतामा सभा हल बनाउन शिलान्यास भएको थियो । तत्कालीन उपमहानगरपालिकाका मेयर बुद्धिराज बज्राचार्यको पहलमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले सभाहल निर्माणको शिलान्यास गरेका थिए । विभिन्न कारणले सभाहल निर्माण हुन सकेको थिएन ।