काठमाडौं । काठमाडौं महानगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयका लागि कुल १० करोड रुपैयाँ खर्च गर्ने भएको छ । पहिलो चरणमा महानगरभित्रका सामुदायिक विद्यालय भवनको रङ एकै किसिमको बनाउने योजना छ ।
गत वर्षदेखि नै महानगरभित्रका विद्यालयहरूमा एकरूपता कायम गर्ने योजना भए पनि काम अगाडि बढ्न सकेको छैन । स्कुल बसमा एकै किसिमको रङ लगाउने, खेल मैदान बनाउने, विद्यालयका क्षेत्रभित्र वृक्षरोपण गर्ने, सुविधायुक्त शौचालय बनाउने, पर्याप्त खेल र शैक्षिक सामग्रीको व्यवस्थालगायतमा महानगरले खर्च गर्ने भएको छ । महानगरका प्रवक्ता ईश्वरमान डंगोलका अनुसार महानगरभित्र हाल ९१ वटा सामुदायिक विद्यालय सञ्चालनमा छन् । ती सबै विद्यालयको रङ एकैप्रकारको अर्थात् पहेलो बनाउने तयारी थालेको उनले बताए ।
सामुदायिक विद्यालय सुधारमा महानगरपालिकाले व्यहोर्न करिब १० करोड रुपैयाँ छुट्याएको र तोकिएका काम अब नरोकिने डंगोलको भनाइ छ । महानगरको प्रमुख उद्देश्य सस्तोमा गुणस्तरीय शिक्षा दिनु भएकाले विद्यालय सुधारमा कुनै कमी हुन नदिने उनले बताए ।
काठमाडौं महानगरपालिकाको क्षेत्राधिकारभित्रका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमात्र नभएर भौतिक संरचनामा पनि एकरूपता ल्याउने प्रयासमा महानगर लागेको डंगोल बताउँछन् । महानगरभित्रका हरेक विद्यालयले शैक्षिक गुणस्तर उकास्न शिक्षकहरूलाई समेत उचित परामर्श दिएर आवश्यक शैक्षिक सामग्री उपलब्ध गराउने महानगरको भनाइ छ ।
महानगरभित्र समग्र शैक्षिक गुणस्तर उकास्न र उच्चतम नतिजा प्राप्त गर्न सबैले विशेष भूमिका निर्वाह गर्नुपर्ने महानगर शिक्षा विभागका अधिकृत मोती भट्टराईको भनाइ छ । उनले पुरानाको अनुभवसँग सहकार्य गरेर अघि बढ्ने हो भने सामुदायिक विद्यालयको गुणस्तर वृद्धि हुने बताए ।
विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिएर सामुदायिकमा ल्याउन सके निजीमा पढ्न जानेको संख्या स्वतः घट्ने र अभिभावकलाई समेत आर्थिक भार नपर्ने भट्टराईको भनाइ छ ।



















