तालिम पाए गर्न सक्छन् सुस्त बालबालिका

काठमाडौं । राज्यले सीपमूलक तालिमको व्यवस्था गरिदिए आफूहरूले शान्तिको सास फेर्न पाउने बौद्धिक अपांगता भएका बालबालिकाका अभिभावकले बताएका छन् । सीपमूलक तालिम पाए उनीहरू आत्मनिर्भर हुने अभिभावक बताउँछन् । 

राजधानीमा आयोजित एक कार्यक्रममा अभिभावकहरूले बौद्धिक अपांगता भएका बालबालिका कुनै न कुनै कलामा निपूर्ण हुने भएकाले सरकारले यस विषयमा सोच्नुपर्नेमा जोड दिए । अपांगता भएकाहरूसँग हुने कला र सीप तालिमबाट उजार गर्न सके उनीहरू आत्म निर्भर हुने र समाजका लागि पनि योगदान गर्न सक्ने उनीहको भनाइ छ । बौद्धिक अपांगता भएका बालबालिकाका अभिभावकले आफू नभएकाबेला सन्तानले दुःख पाउने डर हुने गुनासो गरे । 

बौद्धिक अपांगता भएकाको आनीबानी र भाषा आमाबाबुले मात्रै बुझ्ने भएकाले उनीहरू आत्मनिर्भर नहुँदा दुःख पाउने अभिभावकको भनाइ छ । चितवन घर भएकी सुशीला थापा आफ्नो १४ वर्षीय छोराको गतिविधि र कुरा आफूले मात्रै बुझ्ने उनी बताउँछिन् ।

सुस्त मनस्थितिका बालबालिकालाई सीपमूलक तालिमको वातावरण मिलाउन सके अभिभावकको समस्याको समाधान हुनसक्ने शान्ति गुरागाईं बताउँछिन् । उनको पनि सुस्त मनस्थितिकी १० वर्षीया छोरी छिन् । उनले छोरी नाच्न, गाउन र चित्र कोर्न सिपालु रहेको तर उसलाई तालिम आवश्यक रहेको उनको भनाइ छ । 

जयराम रेग्मीका अनुसार ९ वर्षीय छोराको मनस्थिति अन्य सन्तानको तुलनामा फरक छ । क्षमता पनि फरक उनलाई तालिम दिन सके आफ्नो ख्याल आफैं गर्नसक्ने विश्वास उनको छ । यस्ता बालबालिका अन्य बालबालिकाको तुलनामा बढी जिद्धी स्वभावको हुने भएकाले उनीहरूलाई आफूसँग भएको कला तथा सीप प्रदर्शन गर्ने मौका दिनुपर्ने शिला थापाको भनाइ छ ।  

अभिभावकहरूका अनुसार सुस्त मनस्थितिका बालबालिका नाच्ने, गाउने र चित्र कोर्ने काम ध्यानपूर्वक गर्न सक्छन् । यस्ता ममा राज्यबाट व्यवस्थापन भइदिए राम्रो हुने उपस्थित अभिभावकहरूले बताए । २०६८ सालमा गरेको जनगणनाअनुसार नेपालमा १ दशमलव ९ प्रतिशत भन्दा बढी बौद्धिक अपांगता भएका व्यक्ति छन् ।