काठमाडौं । नाडा अटोमोबाइल्स एसोसियसन अफ नेपालको आयोजनामा १४औं नाडा अटो सो २०१९ हुने भएको छ । भदौ १० गतेदेखि १५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने मेलामा सवारीसाधन, पार्टपुर्जा, वित्तीय सेवालगायत १ सय ६० वटा स्टल रहने आयोजकले आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । मेलालाई बढी जानकारीमूलक, सेवामूलक र ग्राहकमुखी बनाउन अटोसम्बन्धी वित्तीय सेवा, बिक्री पछिका सेवाका साथै बीमा कम्पनीका छुट्टाछुट्टै स्टल रहनेछन् ।
मेलामा लुब्रिकेन्ट टायरलगायत ९५ वटा ब्राण्डहरूको सहभागिता रहने आयोजकले जनाएको छ । यस वर्ष थप आकर्षणका रूपमा ओमेगा अटोमोबाइल्सको प्रायोजनमा नाडाले जिपिएक्स जेन्टलमेन २०० सिसिको मोटरसाइकल एकजना अवलोकनकर्तालाई लक्की ‘ड्र’ मार्फत प्रदान गरिने आयोजकले जानकारी दिएको छ । मेलामा विद्यार्थीका लागि १ सय ५० रुपैयाँ अन्य सर्वसाधारणका लागि दुई सय रुपैयाँ प्रवेश शुल्क राखिएको छ ।



















