विद्युत प्राधिकरणलाई सर्वोत्कृष्ट बनाउने प्रतिबद्धता

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले चालु आर्थिक वर्षमा नेपाल विद्युत प्राधिकरणको मुनाफा ८ अर्ब रुपैयाँ पुरयाउने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले प्राधिकरणलाई सरकारी संस्थानमध्ये सबैभन्दा उत्कृष्ट बनाउने घोषणासमेत गरेका छन् ।

प्राधिकरणको ३४ वार्षिकोत्सव समारोहको उद्घाटन गर्दै उनले यस्तो घोषणा गरेका हुन् । उनले भने, ‘अधिकांश सरकारी संस्थाहरू घाटामा चलिरहँदा प्राधिकरण खुद नाफा कमाउने अवस्थामा पुगेको छ, अब यसलाई एक नम्बर संस्थान बनाउनेछौं ।’ प्राधिकरणले गत आर्थिक वर्ष २०७५÷७६ मा ७ अर्बभन्दा बढी मुनाफा गरेको छ ।

मन्त्री पुनले प्राधिकरणका कार्यकारी निर्देशकको व्यवस्थापकीय क्षमता, कर्मचारीको मिहिनेत, राजनीतिक नेतृत्वको निरन्तरको सहयोगलगायतका कारण प्राधिकरण अहिलेको अवस्थामा आउन सफल भएको बताए । उनले नियमित विद्युत् आपूर्ति हुन थालेपछि मुलुकको अर्थतन्त्रमा सकारात्मक प्रभाव परेको उल्लेख गर्दै आगामी दिनमा मुलुकमा पर्याप्त विद्युत् उत्पादन भई भारत र बंगलादेशसँग विद्युत् निर्यात गर्नसक्ने बताए । 

नियमित मिटर नदिने, ट्रान्सफर्मर परिवर्तन नगर्नेजस्ता ग्राहकसँग प्रत्यक्ष जोडिएका विषयमा गुनासो आउने गरेको भन्दै उनले सेवासुधार गरी ग्राहकमैत्री बन्न कर्मचारीलाई निर्देशनसमेत दिए । उत्पादन, प्रसारण र वितरणको लागत घटाउने, प्रशासनिक खर्चलाई नियन्त्रणलगायत क्रियाकलापबाट लागत घटाउँदै उपभोक्तालाई सस्तो बिजुली दिनुपर्ने उनको भनाइ थियो । 

ऊर्जा सचिव एवं प्राधिकरण सञ्चालक समितिका सदस्य दिनेशकुमार घिमिरेले विद्युतको खपत बढाउनु सबैभन्दा चुनौतीपूर्ण रहेको बताए । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चार्जिङ स्टेसन निर्माण गरी विद्युतीय सवारीसाधनको प्रवद्र्धन गर्ने, खाना पकाउने ग्यासलाई विद्युतीय चुलोले प्रतिस्थापन गर्नेलगायत कार्यक्रम कार्यान्वयन गरी आन्तरिक खपत बढाइने बताए । 

उनले आगामी २ वर्षभित्र सबै नेपालीले विद्युत् उपयोग गर्न पाउने भन्दै इक्डक्सन खाना पकाउनका लागि इन्डक्सन खरिद गर्न आग्रह गरे । ७८ प्रतिशत जनसंख्यामा विद्युत् पहुँच पुगिसकेको र बाँकी २२ प्रतिशतमा पनि २ वर्षभित्र पुग्ने भएकाले खाना पकाउन इन्डक्सन हिटर खरिद गर्न आग्रह गरेका हुन् । खाना पकाउने एलपिजी ग्यासभन्दा विद्युत् सस्तो पर्ने उनको भनाइ थियो । 

तीन वर्षअघि ८ अर्ब ८९ करोड रुपैयाँ खुद् घाटामा रहेको प्राधिकरणले त्यसपछि निरन्तर नाफा कमाउँदै आएको छ । आव २०७५÷७६ मा प्राधिकरण ७ अर्ब २० करोड रुपैयाँ खुद् नाफा आर्जन गर्न सफल भएको छ भने सञ्चित नोक्सानी करिब १५ अर्बमा झरेको छ । प्राधिकरण गत आर्थिक वर्षमा विद्युत् चुहावटलाई १५.३२ प्रतिशतमा झार्न सफल भएको छ । 

आव ०७४÷७५ मा २०.४५ प्रतिशत रहेको चुहावटलाई गत आवमा ५.१३ प्रतिशत घटाएर १५.३२ प्रतिशतमा झारेको हो । प्राधिकरणका अनुसार विद्युत्का कुल ग्राहक संख्या ३९ लाख १० हजार पुगेको छ । प्राधिकरणकै कारण लोडसेडिङ अन्त्यपछि पेट्रोलियम पदार्थ, व्याट्री, इन्र्भटर, डिजल जेनेरेटरलगयतको आयातमा कमी आई वैदेशिक मुद्रा बचत भई अर्थतन्त्रमासमेत महŒपूर्ण योगदान पुगेको छ । 

विविध कारणले रुग्ण बनेका ६० मेगावाटको माथिल्लो त्रिशूली ३ ए, १४ मेगावाटको कुलेखानी तेस्रो, काबेली करिडोरको १३२ केभी प्रसारण लाइन आयोजनालगायत उत्पादन, प्रसारण र वितरणका ३८ आयोजना सम्पन्न गर्न पनि प्राधिकरण सफल भएको छ । विश्वव्यापीरूपमा अवलम्बन गरिएका आधुनिक प्रविधिमा आधारित इन्टरप्राइज रिसोर्स प्लानिङ, जिआइएस म्यापिङ, स्मार्ट मिटरिङ र सवस्टेशन अटोमेसन सिस्टम लागू गरी प्राधिकरणलाई समय सापेक्ष आधुनीकरण गर्ने र सूचना प्रणालीको विस्तार गरी नेपाल सरकारको ‘डिजिटल नेपाल’को मार्ग चित्र पछ्याउँदै ‘डिजिटल प्राधिकरण’ बनाउनेतर्फ संस्था अग्रसर रहेको पनि प्राधिकरणले जनाएको छ ।