प्रधानमन्त्रीको चेतावनी, सरकारविरुद्ध भ्रम नफैलाउनू

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजाका समर्थकहरूलाई राजसंस्था फर्काउने सपना नदेख्न चेतावनी दिएका छन् । संघीय संसदको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै आइतबार प्रधानमन्त्री ओलीले चिहानको हड्डी फुकेर राजसंस्था फर्काउने सपना नदेख्न चेतावनी दिएका हुन् ।

‘जुन संस्था र शक्तिका कुरा, जुन निकायका कुरा गर्छन् । ती शक्तिहरू जिउँदै हुँदा ठेगान लगाएका हौं । अहिले चिहानमा गएर हड्डी फुकेर ती संस्था फर्काउँछौं भनेर उफ्रिएको देखिन्छ,’ उनले भने, ‘यो बेमौसमको बाजा नबजाए हुन्छ । सरकारले यो उदारता देखाएको नपत्याएर हो । पत्याएका दिन संविधान, कानुन, व्यवस्थाको, प्रजातन्त्रको, गणतन्त्रको रक्षाका लागि सरकार मैदानमा उत्रन्छ ।’

पूर्वराजाका समर्थकतर्फ संकेत गर्दै उनले केही प्रतिगामी तŒवहरू सडकमा आए भन्दैमा सरकार नतर्सने प्रष्ट पारे । ‘जनताले निर्वाचित गरेर सुम्पिएको जिम्मेवारीबाट सरकार भाग्छ, लगलग काम्यो भन्ने दिवा स्वप्न नदेखे हुन्छ’, ओलीले भने । 

सरकारको लोकतन्त्रप्रतिको निष्ठा र प्रतिबद्धताप्रति विरोधीहरूले अनावाश्यक भ्रम र हल्ला फैलाएको भन्दै त्यस्ता भ्रम नफैलाउन पनि उनले चेतावनी दिए । सरकारको आलोचनाका नाममा प्रणाली उल्ट्याउने र प्रतिगमन फर्काउने काम सरकारलाई सैहृय नहुने प्रधानमन्त्री ओलीले बताए ।

संसद बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले केही मानिसहरूले पद जाने भयो भनेर प्रधानमन्त्री लगलग काँपिरहेको सपना देखिरहेको बताए । ‘पद नगएको मैले कोही देखेको छैन । राजा, महाराजा, बादशाह सबैको पद जान्छ,’ उनले भने, ‘आगामी निर्वाचनपछि मेरो पनि पद जान्छ, त्यतिन्जेल धैर्य गर्न साथीहरूलाई आग्रह गर्छु ।’

प्रधानमन्त्री ओलीले संसदभित्र रहेका राजनीतिक दलहरूबीचको सहकार्यले संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढ बन्ने बताए । ‘संसदभित्रका शक्तिहरूको सहकार्यले व्यवस्थालाई सुदृढ तुल्याउँछ । संसद अवरोधरहित ढंगले क्रियाशील छ । म खुशी व्यक्त गर्न चाहन्छु,’ उनले भने । प्रधानमन्त्री ओलीले अहिलेको व्यवस्थामा पुरानो व्यवस्थाका मानिसहरूले पनि गतिविधि गर्न पाउने भन्दै उनीहरूले व्यवस्थालाई कमजोर बनाउन विभिन्न गतिविधि गरिरहेको आरोपसमेत लगाए ।

संघीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर पार्न खोज्ने तŒवप्रति सबैले सजग हुनुपर्ने बताए । ‘संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरेका छौं । यो नयाँ प्रणाली भएको हुनाले पुराना प्रणालीका सम्वाहक र पक्षधरहरू पनि यस देशमा छन् । लोकतन्त्र दमनकारी प्रणाली नभएको हुनाले उनीहरूले पनि खुलेआम गतिविध गर्न पाएका छन्,’ उनले भने, ‘तर, यो सुन्दर प्राणलीले अभ्यासलाई परिपक्व र पूर्णता प्राप्त गर्न नपाउँदै यसलाई कसरी कमजोर पार्न सकिन्छ भन्ने तŒवहरू पनि छन् । जसप्रति हामी सजग हुन जरुरी छ ।’

उनले संविधानसम्मत र दायराभित्र सरकार चल्ने प्रष्ट्याउँदै प्रतिगमनतिर जाने, व्यवस्था उल्ट्याउने कुरा सरकारलाई मान्य नहुने बताए । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकार अधिनायकवादतर्फ उन्मुख भएको आरोप लगाइरहेका बेला प्रधानमन्त्री ओलीले सरकार अधिनायकवादतर्फ नगएको भन्दै हल्ला नगर्न सुझाए । 

‘जनताको निराशामा टेकेर हल्ला फैलाउँदैछ । जनतामा थप निराशा ल्याइयो । जनताको विश्वास भत्काउने प्रयास गरिँदैछ,’ उनले भने, ‘कोही भन्दा कम लोकतन्त्रका लागि संघर्ष गरेर सफलता प्राप्त गरेको छैन । सरकार अधिनायकवादतिर गएको छैन । हल्ला नगर्दा हुन्छ ।’ 

प्रधानमन्त्रीले एक साताभित्रै सत्यनिरूपण तथा मेलमिलाप र बेपत्ता छानविन आयोग गठन हुने बताएका छन् । संघीय संसदको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै आइतबार प्रधानमन्त्री ओलीले आयोग गठनका लागि गठित सिफारिश समितिले सिफारिश गर्नासाथ सरकारले आयोग गठन गर्ने बताए ।  

आयोगमा प्रमुख आयुक्त र आयुक्त सिफारिश गर्न गठित सिफारिश समिति क्रियाशील रहेको उनको भनाइ थियो । ‘प्रमुख आयुक्त, आयुक्त सिफारिश गर्न समिति गठन गरेका छौं । सिफारिश समिति क्रियाशील छ । मैले विश्वास लिएको छु, यसै हप्ताभित्र सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता छानविन आयोग गठन हुनेछ,’ प्रधानमन्त्री ओलीले भने । 

‘हामीले द्वन्द्व व्यवस्थापन गरेको यतिका समय भइसक्दा पनि द्वन्द्वका खाटाहरू बाँकी नै रहनु र तिनीहरूलाई सम्झिएर कतै चित्त दुख्ने, कतै घाउ चह¥याउने स्थिति हुनु वाञ्छनीय होइन,’ ओलीले भने । प्रधानमन्त्री ओलीले जनताको निराशामा टेकेर सरकारबारे नचाहिने हल्ला फैलाइएको भन्दै असन्तुष्टि व्यक्त गरे । सरकारका बारेमा अनावश्यक हल्ला फैलाएर जनतामा थप निराशा ल्याउन खोजिएकोप्रति उनले आक्रोश व्यक्त गरे । 

‘जनताको विश्वास भत्काउने प्रयास गरिँदैछ । कोहीभन्दा कम लोकतन्त्रका लागि संघर्ष गरेर सफलता प्राप्त गरेको होइन,’ ओलीले भने । प्रधानमन्त्री ओलीले सुशासन, आर्थिक उन्नति र विकासमा सरकारको ध्यान गएको दाबी गरे । ‘संविधान कार्यान्वयनले पूर्णता पाएको छ । चालु अधिवेशनले केही कानुन निर्माण गरिसक्नुपर्नेछ । कानुन छिटो निर्माण गर्नुपर्नेछ । विलम्ब भयो भने जनताले पाउनुपर्ने कुरा रोकिन्छ’, प्रधानमन्त्री ओलीले भने ।

प्रम ओलीले संविधान निर्माण र कार्यान्वयले पूर्णता पाएको बताए । उनले बाँकी कानुन पनि संसदले बनाइसक्ने उल्लेख गरे । ‘कुनै नीतिगत त्रुटिबाट, गलत कामबाट सरकारले जनताको आलोचना व्यहोर्नुपर्ने अवस्था सिर्जना गरेको छैन,’ प्रधानमन्त्री ओलीले भने, ‘आलोचना गर्नेले गर्दै रहून् । गत वर्ष ७.५ प्रतिशत आर्थिक वृद्धि भयो अब यो वर्ष ८ प्रतिशत हुन्छ, अर्को वर्ष ९ प्रतिशत पुग्छ, अर्को वर्ष ११ प्रतिशत यसलाई हामी बढाउँदै लैजान्छौं ।’